+
+
Shares

प्रदेश ४ का गृहमन्त्रीले गरे यातायात कार्यालयको अनुगमन

'दिनदिनै दुर्घटना र मृत्युको खबर सुन्नु नपरोस्'

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २२ गते १६:३८


२२ फागुन, पोखरा । प्रदेश ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले दुर्घटनाको विकराल स्थिति अन्त्यका लागि काम गर्न यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिएका छन् ।

सोमबार यातायात कार्यालयको अनुगमन र निरीक्षणपछि उनले दिनदिनै दुर्घटना र मृत्यूका खबरहरु सुन्नुपरेको भन्दै यसको अन्त्यका लागि पहल गर्न निर्देशन दिएका हुन् ।

मुग्लिनदेखि पोखरासम्मको करिब ९० किलोमिटर सडकमा दैनिकजसो दुर्घटनाको खबर सुन्नुपरेको भन्दै मन्त्री चुमानले भने,’देश र दुनियाँ बदल्ने आन्दोलनमा भन्दा दुर्घटनामा धेरैको ज्यान जाँदो रहेछ, यो असाध्यै विकराल स्थिति अन्त्यको लागि तत्कालै काम थाल्नुस् ।’

प्रदेश ४ का गुहमन्त्री चुमानले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडक सुरक्षा र ट्राफिक ब्यबस्थापनलाई चुस्त बनाउन निर्देशनसमेत दिए । उनले कार्यालयमा सहयोग कक्ष -हेल्प डेस्क) राखेर सेवाग्राहीलाई चुस्त सेवा दिन सुझाव दिएका छन् ।

‘सेवाग्राहीलाई चुस्त र ब्यबस्थित तरिकाले सेवा दिनुस, त्यसका लागि एउटा ‘हेल्प डेस्क’ राख्नुस्’ उनले भने । हेल्प डेस्क नहुँदा बिचौलीयाले फाइदा लुटेको र त्यसकै कारण सेवाग्राही मर्कामा पर्नेगरेको मन्त्री चुमानको भनाइ थियो ।

मन्त्री चुमानले २० वर्ष भन्दा पुराना गाडी विस्थापित गर्नुको सट्टा केही ब्यवसायीहरुले पुराना गाडी भित्र्याएर पोखरालाई प्रदुषित बनाउन खोजेको आफूले जानकारी पाएको बताए ।

‘२० वर्ष पहिलेका सबै गाडी अब विस्थापन गर्नु अपरिहार्य छ, अब यसको समाधानका लागि कार्यान्वयनमा जानुपर्छ’ उनले भने ।

यातायात कार्यालय प्रमुख अच्युतराज रेग्मीले कार्यालयमा धेरै सेवाग्राही कर तिर्न आएको भन्दै बैंकमा सिधै दाखिला गर्ने प्रणाली विकास गर्न सके भीड कम हुने बताए ।

जनसंख्या बृद्धिसँगै सवारी साधनको चाप बढेको भन्दै अब पूर्वाधार थपेर सवारी साधन थप्ने हो कि सवारी दर्ता नै रोकेर गाडी नियन्त्रण गर्ने नीति बनाउने भन्नेबारेमा प्रदेश सरकार स्पष्ट हुनुपर्ने रेग्मीले बताए ।

उनले रुट इजाजतका लागि माग आउने गरेको भन्दै त्यसको पनि चाँडै टुंगो लगाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?