Comments Add Comment

प्रदेश ७ का मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, कांग्रेस र राजपा विपक्षमा


२२ फागुन, धनगढी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार संसदबाट विश्वासको मत पाएका छन् । प्रदेशसभामा मंगलबार उपस्थित ४८ मध्ये ३८ सांसदले उनलाई समर्थन गरे भने ८ जनाले विपक्षमा मतदान गरेका छन् ।

४ जना भने अनुपस्थित थिए । मुख्यमन्त्रीमा भट्टको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रका सांसदले मात्र मतदान गरे । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले विपक्षमा मतदान गरे ।

प्रदेससभा ७ का ५३ सदस्यमध्ये सभामुखबाहेक ५२ जनाले मतदान गर्न पाउने थिए । त्यसमध्ये ४ जना कांग्रेस सांसद अनुपस्थित भए । संसदमा उपस्थित भएका कांग्रेसका ८ जना र राजपाका २ जनाले विपक्षमा मतदान गरे ।

प्रदेशसभामा एमालेका २५ र माओवादी केन्द्रका १४ जना सांसद छन् । जसमध्ये एमालेका अर्जुनबहादुर थापा सभामुख चयन भएकाले मतदान गरेनन् ।

मुख्यमन्त्रीमा भट्टको प्रस्तावक नेकपा माओवादी केन्द्रका सांसद वीरमान चौधरी र समर्थक नेकपा एमालेका सांसद तारा लामा तामाङ थिए ।

विश्वासको मत लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पहिलो काम प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्नु रहेको बताए । त्यसपछि योजना बनाएर यो प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि आफू निरन्तर लाग्ने बताए ।

मुख्यमन्त्रीमा भट्टलाई प्रस्ताव गर्दै माओवादी केन्द्रका सांसद वीरमान चौधरीले हिजोको अवस्था भन्दा माथि उठेर काम गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो काँधमा निकै ठूलो जिम्मेवारी छ त्यसका लागि सहमति सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’

एमाले सांसद तारा लामा तामाङले जनताको म्यान्डेटअनुसार काम गर्न आफूहरु लागि पर्ने बताए । संसद बैठकमा बोल्दै मुख्यमन्त्री भट्टलाई नेकपा एमाले सांसद पूर्णा जोशी, माओवादीका अक्कलबहादुर रावल, कांग्रेसका रणबहादुर रावल र राजपाकी मालमती रानाले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment