Comments Add Comment

नेपाली चलचित्रमा गीतदेखि कथा चोरीका फरक-फरक शैली

‘मेरो चलचित्र ‘धड्कन’ हेर्न पाएका थिए भने निर्माता इन्द्रकुमार पनि खुसी हुन्थे । मेरो सिर्जना माथी नेपाली निर्देशकले यति राम्रो चलचित्र बनाएछ भनेर ।’
निर्देशक नरेश पौडेलले सार्वजनिक कार्यक्रममै यसो भनेका थिए । नेपाली ‘कथानक’ चलचित्र ‘धड्कन’ बनाउदा हिन्दी चलचित्र ‘इश्क’ बाट रिमेक गरेको बताउने पौडेलले हिन्दी चलचित्रका निर्माताबाट अनुमति लिएर बनाएको दावी गरे । हिन्दी सिनेमाबाट रिमेक गरेको स्वीकार्ने उनी एक्ला निर्देशक थिए ।

नेपालमा नेपाली चलचित्र निर्माणको सुरुवात नै भारतीय निर्देशकवाट सुरु भएको थियो । त्यसकारण अहिलेसम्म पनि नेपाली चलचित्रमा बम्बैया चलचित्रको प्रभाव ब्यापक छ । पाँचवटा गीत र पाँचवटा फाइट विनाको चलचित्रलाई चलचित्र नै होइन भन्ने निर्देशक अहिले पनि छन् । हिन्दी सिनेमा हेरेर त्यहि शैलिमा नेपाली चलचित्र बनाउने शैलिले कथा, गीत लगायत अन्य कतिपय प्रसंग चोरी गरेको पुराना निर्देशक स्विकार्छन् ।

आफ्नो चलचित्र ‘सम्झना’को गीत चोरी भएको भन्दै निर्देशक शम्भु प्रधान प्रहरीमा उजुरी गर्न पुगेपछि अहिले फेरि गीत, संगीत र कथा चोरीको प्रसंगले प्राथमिकता पाएको छ ।

चोरीमा संलग्न भुवन पहिलो होईनन्
भुवन केसी र सुवास गिरीको लगानीमा बनेको चलचित्र ‘कृ’ ले प्रधानको निर्देशनमा बनेको चलचित्र ‘सम्झना’को ‘उकालीमा अघि अघि…’ बोलको गीत अनाधिकृत प्रयोग गरेका थिए । अहिले प्रधान ‘कृ’ ले कमाएको मध्ये आधा रकम आफुले पाउनुपर्ने माग गर्दै आएका छन् ।

अल्मोडा राना उप्रेतीको संगीत भरेको ‘कृ’ मा अल्मोडाले पनि पुराना गीत राख्नु अघि पुराना सर्जकसँग अनुमति लिनुपर्ने जरुरी ठानेनन् । अल्मोडाको पनि यो पहिलो बद्मासी होइन । यसअघि चलचित्र ‘छक्का पञ्जा-२’ को टाइटल संग ‘ए दाजु नसमाउ नारीमा….’ चोरी गरेको पुष्टि भएको थियो ।

कान्छा राना मगर नेपालीको संगीत रहेको गीतलाई तोडमोड गरेर अल्मोडाले आफ्नो सिर्जना दावी गरेका थिए । गन्धर्व समुदायको पुरानो गीतलाई तोडमोड गरेको भन्दै कान्छा राना मगरले प्रतिलिपी अधिकार ऐन अनुरुप उजुरी गर्ने तयारी गरेपछि ‘छक्का पञ्जा-२’ युनिटले कान्छा रानाको नाम पनि समावेश गरेको थियो ।
गीत संगीत तत्कालै सुनिने र धेरैले एकैसाथ सुनिने भएकाले चोरिएको विषयमा दर्शक आफैंले मार्क गर्छन् अनि हल्ला हुन्छ ।

विपुलले चोरे गंगा बरदानको गीत
दार्जीलिङ निवासी नेपाली भाषी गायक बिपुल क्षेत्री माथी गंगा बरदानको गीत चोरीको आरोप लागेको थियो । बरदानले आफ्नो पुरानो गीत ‘कहाँ काट्यौ बेतको लौरी…’बोलको गीत बिपुलले चोरेको गुनासो गरे । २०३५ सालमा रेडियो नेपालमा रेकर्ड भएको उक्त गीत बिपुलले बरदानको अनुमति विनै गाएका थिए । बरदानले आफ्नो गीत चोरिएको सार्वजनिक गरेपछि विपुलले युट्युववाट आफ्नो गीत हटाएका थिए ।

म त मर्छु कि क्या हो भोजपुरीमा चोरी
चोरी कर्ममा नेपाली मात्रै सक्रिय छैन । केही नेपाली गीतलाई भोजपुरी कलाकर्मीले पनि चोरेका छन् । त्यहाँ पनि त्यहि रोग देखिएको छ । अर्काको संगीत चोरेर आफ्नो भाषामा गाएपनि नेपाली कलाकारको नाम भने उल्लेख गरिएको हुन्न ।

वसन्त सापकोटाको संगीत रहेको चलचित्र ‘ठुली’को ‘म त मर्छुकी क्या हो ठुली…’बोलको गीत नेपाली जनमानसले निकै रुचाएका थिए । राजेश पायल राइ र इन्दिरा जोशीको स्वर थियो उक्त गीतमा ।

पछि सोही भाकामा भोजपुरी गीत बन्यो । खुस्बु उत्तम अफिसियल नामक युट्युव च्यानलवाट ‘चलो म्युरी…’ बोलको गीत सार्वजनिक भयो । उक्त गीतमा ‘म त मर्छु कि क्या हो ठुली…’को भाका हुबहु छ । तर, नेपाली कलाकारको नाम छैन । खुश्बु, उत्तम र प्रविनले गाएका छन् भने शब्द डा. रन्जु सिन्हको छ । संगीत चन्दन सिन्हा भनेर लेखिएको छ ।

यी बाहेक अन्य थुप्रै गीत पनि चोरिएको आरोप खेपिरहेका छन् । चलचित्र ‘शत्रुगते’को ‘रुपै मोहनी’ बोलको गीतले पनि चोरीको आरोप खेप्यो । हुनत, गीत चोर्ने प्रथा नयाँ होइन । पहिले-पहिले हिन्दी चलचित्रको ट्यून, शब्दलाई नै नेपालीमा उतारिन्थ्यो । अहिले, नेपालका पुराना लोकभाकालाई चलचित्रको गीतमा समावेश गर्ने प्रचलन बढेको छ ।

कथा चोर्ने गिरोह अझै सक्रिय
चलचित्रमा सबै भन्दा धेरै चोरिने भनेको कथा हो । पछिल्लो समयका निर्देशकले मौलिक कथामा चलचित्र बनाउन थाले पनि पुराना पुस्ताका निर्देशकले हिन्दी चलचित्रको कथालाई हुबहु उतार्ने गरेका छन् ।

यदि तपाई हिन्दी चलचित्रको पारखी हुनुहन्छ भने पुराना कुनै पनि नेपाली चलचित्र हेर्नु भयो भने हिन्दी चलचित्रको झल्को दुरुस्तै पाउनुहुन्छ । आफुलाई दिग्गज भन्ने देखि नयाँ पुस्ताका क्रिएटिभ दावी गर्ने समेतले हिन्दी चलचित्रलाई नेपाली रुपान्तरण गरेका छन् । तर, उनीहरु ‘मैले यो चलचित्रबाट प्रभावित भएर यो बनाएँ भन्दैनन् ।

चार वर्षअघि चलचित्र ‘मञ्जरी’ प्रदर्शन हुँदा धेरैले तारिफ गरे । कलाकारको अभिनय, खिचिएको लोकेशन आदी । चलचित्र प्रदर्शन भएको तेस्रो दिन गुदी कुरो पत्ता लाग्यो । खासमा मञ्जरी कुनै निर्देशकको नयाँ सिर्जना थिएन । बंगाली चलचित्र ‘चिरोदिनी तुमी जे अमर’ हुबहु कपि थियो । निर्देशक गणेशदेव पाण्डेले रिमेक गरेको उल्लेख गरेका थिएनन् ।

उनै गणेशदेवको निर्देशनमा बनेको ‘गाँजाबाजा’ अहिले प्रदर्शनको क्रममा छ । पुराना हिन्दी चलचित्र हेरेर स्त्रिmप्ट लेख्ने अनी थोरै तलमाथी गरेर स्त्रिmप्ट बनाउने र मौलिक नेपाली चलचित्र भनेर दावी गर्नेहरुको जमात सानो छैन । फरक यत्ति हो पुराना पुस्ताका निर्देशकले हिन्दी चलचित्र मात्रै हेरेर कथा तयार पार्थे भने अहिलेका निर्देशक अंग्रेजी र कोरियन चलचित्रबाट पनि प्रभावित हुन थालेका छन् ।

आर राजबंशीको निर्देशन रहेको चलचित्र ‘शेरबहादुर’ केही साता अघि प्रदर्शनमा आएको थियो । चलचित्र हेर्ने दर्शकले ‘शेरबहादुर’ हेरेर त मनोरञ्जन लिन सकेनन् । तर अंग्रेजी चलचित्र ‘डन्ट ब्रेथ’वाट प्रभावित भएको थाह पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment