Comments Add Comment

साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

२७ फागुन, चितवन । चितवनको कालिका नगरपालिका ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गरेका थिए । विसं २०५६ मा च्याउ खेती शुरु गरेका केसी अहिले छ कट्ठामा च्याउ लगाउँछन् । पहिल साइकलमा च्याउ डुलाउँथे, अहिले गाडीमा हिँड्छन्  च्याउ बेचेरै जग्गा समेत जोडेका छन् ।

कन्ने र गोब्रे च्याउ लगाउँदै आएका उनी दैनिक औसत १०० किलो च्याउ उत्पादन गर्छन् । ‘यहीँ हो विदेश, यहीँ छ कमाइ,’ केसीले भनेफ, ‘मेहनत गरे जुन पेशाबाट पनि कमाइ हुन्छ ।’

कहिलेकाहीँ दिनमा ४०० केजीसम्म उत्पादन हुन्छ ।

विसं २०५६ मा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जंगलमा मानवीय चाप घटाउन गाउँका स्थानीयवासीलाई आयआर्जनका लागि च्याउखेती तालीम दिएको थियो । वन्यजन्तु संरक्षण गर्नु यसको मुख्य उद्देश्य थियो ।

शुरुमा केसीसहित १० जनाले तालीम लिएका थिए । त्यो बेला ग्रामीण कृषक समूह गठन गरेर च्याउ खेती शुरु भएको केसी सम्झछन् ।

सामान्य खेती किसानी गरेर जीविका चलाउन उनलाई पहिले निक्कै समस्या थियो । त्यो बेलाको खेती पनि वन्यजन्तुले खाइदिन्थ्यो । अहिले आफ्नो जीवन फेरिएको छ भन्छन् केसी ।

च्याउबाट खर्च कटाएर मासिक लाख न्यूनतम कमाई हुने उनको भनाइ छ । उनले प्रतिकिलो १२० मा थोकमा च्याउ बेच्छन् । बजारमा खुद्रा मूल्य प्रतिकिलो २०० देखि २५० सम्म पर्छ । विगतमा भारतमा मजदुरी गरेको अनुभव केसीसँग छ ।

त्यसपछि नेपाल आएर जग्गा नापीमा समेत काम गरे । ‘जब च्याउ खेती शुरु भयो दुःखका दिन गए,’ केसीले भने – अहिलेको पेशाबाट निक्कै आनन्दित छु ।’

खेती शुरु गरेदेखि पछि फर्कनु परेको छैन । झुप्रोबाट खेती शुरु गरेका उनका अहिले च्याउका ६ वटा ठूला घर छन् ।

६ कट्ठामा च्याउ खेती गरिरहेका छन् । उनलाई पत्नी सीता केसीले सघाएका छन् । ‘उहाँले बजार हेर्नुहुन्छ, यहाँको व्यवस्थापन म स्वयं गर्छु,’ सीताले भने ।

च्याउको मौसमका बेला १२-१५ जनासम्म कामदार राख्ने गरिन्छ । अहिले व्यावसायिक च्याउ खेतीका सफल किसानको रुपमा केसी परिवार छन् । च्याउ बेचेर गाडी, मोटरसाइकल सहित रु ५० लाखमा ३ कट्ठा जग्गा समेत जोडिसकेका छन् ।

विसं २०५६ मा जब राष्ट्रिय प्रकृति संरक्षण कोषबाट तालीम लिएपछि उनले तीन प्याकेट च्याउको बीऊ र १० हजार बराबरको सामग्री पाएका थिए । झुप्रोमा च्याउ खेती गर्दा पहिलो पटक ३५ किलोग्राम उत्पादन भयो । ‘त्यो बेलाको खुशीको सीमा नै भएन,’ केसीले भने । विस्तारै उनले खेती बढाउन थाले । शुरुमा उनीसँग एउटा साइकल मात्र थियो । त्यही साइकलमा उनले उत्पादित च्याउ बोकेर गाउँ शहर डुलाउँथे ।

बुटबल र हेटौँडासम्म साइकलमा च्याउ लगेर बेचेको अनुभव उनीसँग छ । नारायणगढसम्म साइकलमा जाने, साइकलसहित च्याउ गाडीमा राख्ने, बुटबल पुगेपछि झार्ने अनि साइकलमा डुलाउने । केही वर्ष यसरी बिताए उनले ।

साइकलको सहारामा च्याउ बेचेर कमाएको पैसाले उनले खेती विस्तार गरे । ‘मैले साइकलमा १० वर्ष च्याउ बेचें,’ केसी भन्छन्,  त्यो साइकल अझै माया लागेर झुण्ड्याएर राखेको छु ।’

च्याउ घरभित्रै सिलिंगमा साइकल खिया लागेको अबस्थामा अझै झुण्डिएको छ । कमाइ बढेपछि साइकल छाडेर मोटरसाइकल किने, त्यसमै राखेर च्याउ बेचे । अहिले उनी कारमा च्याउ लैजान्छन् ।

अहिले केसी च्याउको बीऊसमेत उत्पादन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment