२९ फागुन, काठमाडौं । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै झापाका अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ ।
एक साताअघिदेखि बेपत्ता बनेका सुन व्यवसायी साजन मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो । उनी सुन व्यवसायी संघ, झापाका सदस्य समेत हुन् ।
संघका झापा अध्यक्ष राजु धमलाले अनलाइनखबरलाई दिएको जानकारीअनुसार उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा फेला पारिएको हो ।
स्रोतका अनुसार घटनामा संलग्न भएको आशंका प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले पनि उनको शव भेटिएको पुष्टि गरे । शवलाई पोष्टमार्टम गर्नका लागि भद्रपुर लगिएको छ ।
पक्राउ परेकाहरुले दिएको बयानका आधारमा मुखियाको शव खोज्दै प्रहरी टोली कोल्बुङ पुगेको थियो । एक जना प्रहरी अधिकारीले भने, ‘उनको दुवै हात बाँधेको अवस्थामा शव भेटिएको थियो । घाँटीमा पनि डोरी कस्सिको डाम देखिन्थ्यो ।’
मुखिया ९ दिनअघि बजार पुगेर आउँछु भन्दै घरबाट निस्किएका थिए । त्यसयता उनी बेपत्ता थिए ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4