+
+

गोरखामा रेडक्रसद्वारा कुखुरा वितरणमा अनियमितता

बिदेशी जातको कुखुरा भन्दै महँगो मूल्यमा लोकल कुखुरा वितरण

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते १२:०२

२९ फागुन, गोरखा । नेपाल रेडक्रस सोसाइटीले गोरखाका भूकम्प पीडित तथा विपन्न घरधुरीलाई वितरण गरेको कुखुरामा रकम अनियमितता गरेको खुलासा भएको छ ।

भूकम्प पूर्नलाभ परियोजनाको जीविकोपार्जन कार्यक्रम अन्तरगत साविकको बक्राङ र गाँखु गाविसमा कुखुरा वितरण गरिएको थियो ।

बक्राङको १३ र गाँखुको ६ घरधुरीलाईप्रति घरधुरी २५ वटा कुखुरा वितरण गरिएको हो । तर, महँगो जातको कुखुरा भन्दै झुक्काएर रेडक्रसले पीडितसँग मोटो रकम असुल गरेको छ ।

‘कुखुरा हामी आफै किनेर ल्याउँछौ भन्दा मान्नुभएन,’ वक्राङ ठुूलो दिप्लिङकी तीता गुरुङले भनिन्, ‘चाडै बढ्ने र धेरै अण्डा दिने कुखुरा दिन्छौ राम्रो आम्दानी हुन्छ भनेर लोभ देखाउनुभयो तर पालेको तीन महिना हुँदा पनि उस्तै छ, नराम्रोसँग फसाँए ।’

१२ हजार पाँच सयमा २२ वटा कुखुरा दिएको उनले बताइन् । ‘एउटै कुखुराको पाँच सय भन्दा बढी पर्‍यो, ल्याएको केही दिनमै चार वटा मर्‍यो, अहिले सम्म न राम्ररी बढेको छ न अण्डा नै पार्छ ।’ गुरुङले भनिन् ।

पाँच सयमा ठूलो कुखुरा दिने भन्दै साना मर्न लागेको छनौटे चल्ला वितरण गरेको उनको आरोप छ । ‘यति पैसाले त ५० वटा भन्दा बढी चल्ला आउथ्यो, अहिलेसम्म ठूलो पनि भइसक्थ्यो तर रेडक्रसले कस्तो कुखुरा दियो, गाउँका अरुले एक सय ३० रुपैयाँमा पोखराबाट आफै ल्याएको कुखुरा अहिले कति ठूलो भइसक्यो, रेडक्रसले दिएको भने यस्तो छ,’ उनले गुनासो गरिन् ।

रेडक्रसले आफूहरुलाई झुक्काएर महँगो मूल्यमा कुखुरा वितरण गरेको सोही ठाउँका स्थानीय नेत्रबहादुर गुरुङले बताए । ‘यस्तो कुखुराको ८० रुपैयाँ भन्दा बढी पर्दैन, तर हामीसँग पाँच सय लियो, बढेको नि छैन, यसको ठाउँमा अरु कुखुरा पालेको भए ठूलो भइसक्थ्यो ।’ उनले भने ।

सिरानचोक गाउँपालिका-६ जरेबरकी सम्झना दानीको पनि गुनासो उस्तै छ । १२ हजार पाँच सयमा २५ वटा कुखुरा दिएकोमा तीन वटा मरिसकेको उनले बताइन् । ‘कुखुरा हामी आफै किन्छौ भन्दा मानेनन्, बढ्दै नबढ्ने कुखुरा दिए, एक बोरा दाना भ्याइसक्यो, यस्तो कुखुरालाई यहाँ सय रुपैयाँ भन्दा बढी पर्दैन तर हामीसँग पाँच सय लिए ।’ उनले भनिन् ।

वडा कार्यालयसँग समन्वय नगरी कुखुरा वितरण

आˆनै वडामा कुखुरा वितरण गर्दा पनि आफूलाइ कुनै जानकारी नभएको सिरानचोक गाउँपालिका-६ का वडा अध्यक्ष नारायण दानीले बताए । ‘कुखुरा हेलिकप्टर बाट उडाएर ल्याए की, गुडाएर ल्याए केही थाहा छैन, जानकारी पनि गराएनन्, के उदेश्यले बाडेका हुन् त्यो पनि थाहा भएन,’ वडा अध्यक्ष दानीले भने । बिदेशी जातको कुखुरा भनेर झक्काएको भन्दै पीडितहरुको गुनासो बढ्न थालेको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीले विपन्न घरपरिवारको आयआर्जनमा टेवा पुर्‍याउने उदेश्यले व्यवसाय संचालनका लागी प्रति घरधुरीलाई ४० हजार रकम किस्तामा वितरण गरेको थियो ।

पहिलो चरणमा खोर निर्माणका लागी १५ हजार वितरण गरियो । खोरको अनुगमन पश्चात बाख्रा तथा कुखुरा पालनका लागी २५ हजार रकम वितरण भयो । तर कुखुरा किन्ने जिम्मा रेडक्रसले आफैले लियो ।

‘न्यू हृ्यामसिर’ र ‘अष्ट्रालोर्प’ नामको बिदेशी जातको कुखुरा वितरण गर्ने भन्दै रेडक्रसले लाभग्राहीसँग महँगो रकम असुल गर्‍यो । तर, काठमाडौको लोकल हृ्याचरीमा उत्पादन भएको कुखुरा वितरण गरिएको पशु कार्यालयका प्राविधिक सानुकाजी वन्तले बताए । ‘यो बिदेशी जातको कुखुरा होइन, धेरै तौल नहुने लोकल कुखुरा हो, महँगो पनि पर्दैन,’ उनले भने, ‘प्रति गोटा एक सय ३० रुपैयाँमा पोखराबाट ल्याएको कुखुरा कति राम्रो छ, तर रेडक्रसले बाढेको राम्रो खालको होइन ।’

रेडक्रसले बक्राङ र गाँखुमा गत पुषको अन्तिम साता करिव ४ सय ७५ वटा कुखुरा वितरण गरेको हो । वितरण गरिएको कुखुराको दुई सय रुपैयाँ भन्दा बढी नपर्ने प्राविधिकको भनाई छ ।

रेडक्रसको भूकम्प पूर्नलाभ कार्यक्रम परियोजनाका गोरखा संयोजक शिवप्रसाद सुवेदीले आफूले रकम दिएको तर किन्ने जिम्मा लाभग्राहीको रहेको दावी गरे । ‘हामीले रकम उपलब्ध गराउने हो किन्ने जिम्मा होइन, तर लाभग्राहीले हामीलाइ किन्न जान समस्या भयो भनेकाले केही साथीहरुले रकम लिएर किनेर ल्याइदिएको हुनसक्छ,’ उनले भने ।

कुखुरा वितरणमा अनियमितता भएको गुनासो आएपछि तीन सदस्यीय छानविन समिति समेत गठन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?