Comments Add Comment

चितवनको जोरकुसुम पार्क ओझेलमा

१ चैत, चितवन । भरतपुर नगर क्षेत्रमा एउटा रमणीय पार्क पनि नभएको बिषयमा चर्चा हुन थालेको निकै लामो समय भयो । महानगरको मापदण्ड भित्र व्यवस्थित र सुन्दर पार्क पनि पर्दछ । सुन्दर र रमणीय पार्क विना नै भरतपुर महानगर बन्यो । भरतपुर महानगर क्षेत्रमा नै नारायणी नदी किनारमा व्यवस्थित र आकर्षक रमणीय पार्क बनाउन सकिन्छ भन्ने कुराको वोध अझै महानगरले गरेको पाइँदैन । भरतपुर महानगरपालिका वडा नम्बर १ का स्थानीयहरुले नारायणी नदीको किनारमा व्यवस्थित र सुन्दर पार्क बनाउने अभियान थालेका छन् ।

व्यस्त बजार नारायणगढसँगै दियालो बंगला पछाडिको भागमा ‘जोर कुसुम पार्क’ निर्माण भैरहेको छ । यही दियालो बंगलामा राजा महेन्द्रको हृदयघातका कारण ज्यान गएको थियो । यहाँबाट राजा महेन्द्रले बनाएका दियालो बंगलाको पछाडिको भाग पनि स्पष्ट रुपमा देख्न सकिन्छ ।

स्थानीय युवा रमेश श्रेष्ठको संयोजकत्वमा जोर कुसुम पार्क संरक्षण समिति गठन गरी पार्कलाई व्यवस्थित बनाउने काम भइरहेको छ । केही स्थानहरुमा सिमेन्टका २५ वटा कुर्सीहरु राखिएका छन् ।

पार्कमा पुग्ने जो कोही पनि प्राकृतिक सुन्दरता देखेरै मन्त्रमुग्ध बन्छन् । शान्त र रमणीय यो क्षेत्रमा बसेर कलकल बगेको नारायणी नदी हेर्दै दृश्यावलोकन गर्न सकिन्छ । अझै सूर्यास्तको समयमा यो स्थान धरती स्वर्ग जस्तै लाग्छ । यो पार्कको खासै प्रचारप्रसार हुन सकेको छैन । तर पछिल्ला दिनहरुमा केही चहलपहल भने बढेको छ ।

पार्क संरक्षण समितिका संयोजक रमेश श्रेष्ठले सहयोग जुटाएर पार्कलाई व्यवस्थित बनाउने काम सुरु गरिएको जानकारी दिए । ‘सबैसँग मागेर नै खाली चौरलाई व्यवस्थित बनाउन लागिरहेका छौं,’ श्रेष्ठले भने, ‘अहिलेसम्म महानगरले केही गरेको छैन, अब समन्वय गरी महानगरकै उत्कृष्ट पार्कको रुपमा विकास गर्ने योजनामा छौं ।’

संरक्षण समितिले गत मंसिर १ गतेदेखि पार्क बनाउने काम थालेको थियो । नारायणी नदी किनारको केही स्थानमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता छ । यसो गर्न सकिए पार्क सुरक्षित हुनुको साथै व्यवस्थित बन्न सक्छ ।

भरतपुर महानगरपालिका वडा नं. १ का अध्यक्ष जयराम श्रेष्ठले जोर कुसुम पार्कलाई व्यवस्थित बनाउन वडा र महानगर लागि परेको दावी गरे । उनले यसपटकको चालु बजेटमा नगरस्तरीयबाट २ लाख र वडा कार्यालयबाट ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

जोर कुसुम पार्कलाई व्यवस्थित बनाउन सकिए भिडभाडबाट केही शान्त चाहने चितवनबासीलाई धेरै नै सहज हुनेछ । पार्कमा पछिल्ला दिनहरुमा युवायुवतीहरु आउन थालेका छन् । वृद्धवृद्धाहरुका लागि पनि पार्क विश्राम र भलाकुसारी गर्ने स्थल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment