१ चैत, काठमाडौं । जहाजको काम उड्ने हो । महंगोमा किनिएका जहाजहरु उडेनन् भने त्यसबाट हुने आर्थिक क्षति चौतर्फी हुन्छ । विमान किन्दाको लगानी, ऋणको ब्याज अनि पाइलटलाई खुवाउने तलब सबै विमान उडेपछिमात्रै आर्जन हुन्छ ।
तर, नेपाल वायु सेवा निगमले भित्र्याएका ४ वटा चिनियाँ जहाज वाई-१२ यतिबेला उडान नै नभरी त्रिभुवन विमानस्थलमै घाम तापेर बसिरहेका छन् । आन्तरिक उडान भर्नुपर्नेे यी ४ वटै जहाज ३३ दिनदेखि विमानस्थलमै थन्किँदा निगमलाई ठूलो आर्थिक क्षति पुगिरहेको छ ।
एउटा मात्रै होइन, ४/४ वटा विमानहरु यतिका दिनसम्म नउडाई थन्क्याएर राखिनुले नेपाल वायु सेवा निगमका हाकिमहरुको व्यवस्थापकीय क्षमतामाथि नै गम्भीर प्रश्न उठाइदिएको छ ।
जहाज उडाउने पाइलट नपाएको भन्दै निगमले चीनबाटै पाइलट ल्याउने तयारी थालिएको बताएको छ । निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले चिनियाँ पाइलटहरुसँग अहिले तलबका बारेमा छलफल भइरहेको अनलाइनखबरलाई बताए ।
‘पाइलटको तलबका विषयमा अहिलेसम्म कुरा मिलेको छैन, जसका कारण चिनियाँ पाइलट ल्याउन नसकेका हौं,’ श्रेष्ठले भने ।
तर, चिनियाँ पाइलट ल्याउन पनि निगमलाई त्यति सहज भने छैन । अंग्रेजी भाषा राम्रो भएका पाइलटहरु निगमलाई आवश्यक छ ।
चीनमा आन्तरिक उडान गर्ने थोरै मात्रै पाइलटहरुको अंग्रेजी राम्रो भएकाले निगमलाई पाइलट पाउन गाह्रो भएको हो ।
‘अहिले चिनियाँ जहाज उडाउन सक्ने पाइलट हामीसँग एकजना मात्रै हुनुहुन्छ, उहाँपनि बिरामी भएपछि एक हप्तादेखि ४ चिनियाँ जहाज नउडी बसेका छन,’ प्रवक्ता श्रेष्ठले भने ।
यसअघि पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका वाई १२ एक साता यतादेखि पाइलट अभावका कारण उडान नगरी बसेका छन् ।
हालैमात्रै थप भएका वाई-१२ का लागि पाइलट नै नभएको निगमका अधिकारीहरु बताउँछन् । फागुनको पहिलो साता त्रिभुवन
विमानस्थल आइपुगेका यी दुई जहाजलाई निगमले अहिलेसम्म उडाउन सकेको छैन ।
विनातयारी जहाज ल्याउँदा निगमलाई घाटा
दुईवटा चिनियाँ जहाजलाई नै पाइलट अभाव भएकै बेलामा निगमले कुनै व्यवस्थापन नै नगरी थप दुईवटा जहाज ल्याएको थियो । ०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार चीनबाट ६ वटा जहाज ल्याइएको हो । जुन निगमका लागि घाँडो मात्रै भएका छैनन् । दिनहुँ लाखौं रुपैयाँ कमाउनुपर्ने जहाजलाई थन्क्याएर राखिँदा निगमलाई ठूलो घाटा भइरहेको छ ।
चिनियाँ जहाजको बीमा शुल्कसमेत अन्यको तुलनामा बढी तिर्नुपर्छ । जसले गर्दा चिनियाँ जहाजका कारण निगमले आर्थिक नोक्सानी खेप्नु परेको छ ।
यी ४ वाइ १२ जहाज बाहेक २ वटा एम ए ६० जहाज भने उडिरहेको श्रेष्ठ बताउँछन् । तर यी जहाज पनि बेलाबेलामा बिग्रने र लामो समय पार्टपूर्जा नपाउँदा थन्केर बस्ने गरेका छन् ।
यी ६ वटै जहाजका पार्टपूर्जाहरु चीनबाट नै मगाउनुपर्ने हुन्छ । यसका लागि लामो समय लाग्ने गरेको छ । पार्टपूर्जा नपाएका कारण निगमका यि चिनीयाँ जहाज दुई महिनासम्म ग्राउन्डेड गर्नुपर्ने अवस्था थियो ।
६ वटामध्ये एउटा एमए – ६० र एक वाई -१२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको थियो । त्यसपछि थप भएको ३ वटा वाई १२ र एउटा एम ए ६० सहुलियत पूर्ण ऋणमा खरिद भएका जहाज हुन् ।
एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक) द्वारा उत्पादित एमए – ६० को सिट क्षमता ५६ हो । हर्बिन एयरक्राˆट इन्डस्ट्रीको उत्पादन वाई- १२ को क्षमता भने १९ सिटको छ ।
सुगतरत्नलाई सचिवको प्रश्न- विमान किन उडेनन् ?
यसैवीच पर्यटन मन्त्रालय स्रोतले भने निगमका अधिकारीहरुको लापरवाहीका कारण चिनियाँ विमानहरु थन्किएको आरोप लगाएको छ । यसैवीच पर्यटन सचिव कृष्ण देवकोटाले निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई विमानहरु थन्किुनको कारण पेश गर्न भनेका छन् ।
नेपाली पाइलटहरु काम नपाएर थन्किइरहेका र पाइलट छैन भन्दै विमानहरु ग्राउन्डेड भइरहेको भन्दै सचिव देवकोटाले कंशासकारसँग यसो हुनुको कारण मागेको स्रोतले अनलाइनखबरलाई बतायो ।
स्रोतले भन्यो- जहाज किन्दैखेरि पाइलट र आवश्यक व्यवस्थापन गरिएन र नेपाल सरकारको अर्बौं रुपैयाँ डुबाउने काम भयो ।
स्रोतका अनुसार अहिले नेपाल वायु सेवा निगमका कतिपय पाइलटहरु बेरोजगारजस्तै बनेर भौंतारिइरहेका छन् । उता निगमचाहिँ विदेशी पाइलट खोज्दै हिँडेको छ । चिनियाँ विमान ल्याउँदाखेरि नै प्राविधिक पक्ष ध्यान नदिई ल्याइएकाले यस्तो स्थिति आएको हो ।
प्रतिक्रिया 4