Comments Add Comment

चितवनमा सडक दुर्घटनाबाट एक महिनामै १४ को मृत्यु


२ चैत, चितवन । बढ्दो सवारी चाप र तीब्र गतिका कारण चितवनमा गाडी दुर्घटना बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार फागुनमा भएको ३२ दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने ८३ जना घाइते भएका छन् ।

फागुन ६ गते राति पूर्वी चितवनको शान्तिचोकमा भएको दुर्घटनामा खैरहनी नगरपालिकाका ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र ५ का वडाध्यक्ष विश्वविजय वस्नेतको मृत्यु भयो ।

माघ महिनामा भएको २६ दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भए । मृत्यु हुनेमा ६ जना पैदल यात्रु थिए । गएको आर्थिक वर्ष जिल्लामा १६२ सवारी दुर्घटना हुँदा ११४ जनाको मृत्यु भएको थियो ।

यसवर्षको साउनदेखि फागुनसम्म १७३ दुर्घटना भइसकेका छन् भने ८८ जनाले ज्यान गुमाएका छन् ।

चितवनमा पूर्वपश्चिम महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक पर्छन् । धेरै जसो दुर्घटनामा महेन्द्र राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा हुँदै आएका छन् ।

जिल्लाका भित्रि सडकहरुमा समेत पछिल्लो समयमा दुर्घटनाका घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनमा राजमार्ग क्षेत्र ९३ किलोमिटर छ । यसबाहेक अन्य सडक २१ सय ८३ किलोमिटर छ ।

दुर्घटना न्युनीकरणमा प्रहरीको प्रयास शिथिल

दुर्घटना कम गर्न प्रहरीले विभिन्न संघसंस्थाहरुसँग मिलेर जनचेतनामूलक कार्यक्रम नगरेको होइन, तर जति प्रयास गरे पनि दुर्घटनामा कमी आउन सकेको छैन ।

अत्याधिक सवारी साधन र तीव्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्त बताउँछन् ।

फागुनमा मात्र नियम पालना नगर्ने ३ हजार ८५० सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ९१ जनालाई मापासेमा कारबाही गरिएको छ ।

प्रहरीकै जनशक्ति कम भएपछि डमी प्रहरी बनाएर समेत भरपतुरको चौंविसकोठीमा ड्यूटीमा राखेको छ ट्राफिक प्रहरीले । सडक डिभाइडर राख्ने काम पनि भइरहेका छन् ।

दुर्घटना कम नभए पनि मानव मृत्युको संख्या केही घटेको ट्राफिक प्रहरी प्रमुख पन्त बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment