Comments Add Comment

कुन फिल्मबाट आयो माग्नेबुढालाई २५ लाखको अफर ?


नाम ‘माग्नेबुढा’, तर कुरा लाख–लाखका । अचेल केदार घिमिरेको हालखबर यस्तै छ । केही समयअघि ‘रामकहानी’ फिल्मका लागि १० लाख पारिश्रमिक लिएर समाचारमा छाएका थिए, माग्नेबुढा उर्फ केदार । तर अब त्यो कुरा पुरानो भयो । भर्खरको कुरा गरौं ।

माग्नेलाई नयाँ फिल्मको अफर आएको छ । र, यस फिल्मका निर्माता उनलाई २५ लाख पारिश्रमिक दिन तयार छन् । हजुर, २५ लाख । तर, माग्नेबुढाल अफर स्वीकारिसकेका छैनन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘अफर आएको हो, तर मैले फिल्म साइन गरिसकेको छैन ।’

कुन फिल्मका लागि कसले अफर गरेको हो भन्ने खुलाउन चाहेनन् । स्क्रिप्ट राम्ररी हेरेर चित्त बुझ्यो भने मात्र साइन गर्ने उनले बताए । ‘म पैसाकै लागि मात्र जस्तो पायो त्यस्तो फिल्म खेल्दिनँ,’ माग्ने भन्छन्, ‘फिल्मको विषयवस्तु र यसले दिने सन्देश पनि हेर्नुपर्ने हुन्छ ।’

एउटै फिल्मबाट २५ लाखको अफर आउँदा आत्तिनुभएन ? भन्ने प्रश्नमा माग्नेबुढाले भने, ‘मैले एउटा फिल्मका लागि गर्ने मेहिनेत र दिने समय सबै कुरा हेर्दा २५ लाख ठूलो रकम होइन । त्यसैले आत्तिएको छैन ।’ उनले आफूले लिने पारिश्रमिकको मूल्य फिल्मले पाउने पनि दावी गरे ।

त्यसो त उनी यो कुराको धेरै चर्चा होस भन्ने नै चाहँदैनन् । ‘साइन नगर्दासम्म यति रकम र उति रकम भनेर किन चर्चा गर्नु ? हुन्दिनुस’ उनले भने, ‘साइन गरेँ भने ठूल्ठूला अक्षरमा लेख्नुहोला ।’ यदि २५ लाख रुपैयाँमा साइन गरे भने माग्नेबुढा अहिलेसम्मै बढि पारिश्रमिकमा फिल्म खेल्ने नेपाली कलाकार बन्नेछन् । यसअघि यो रेकर्ड प्रदिप खड्काको नाममा छ । उनले सो ‘लिलिबिली’ फिल्मका लागि २२ लाख रुपैयाँ लिएका थिए । त्यसैगरी अर्का स्टार अनमोल केसीले फिल्म ‘कृ’ का लागि २० लाख लिएर अहिलेसम्म दोस्रो स्थानमा छन् । त्यसो त अनमोललाई पछिल्लो ५० लाखसम्मको अफर आउँदा पनि उनले नखेलेको चर्चा चल्दै आएको छ ।

चलचित्रको व्यापार दयनीय बन्दै गइरहे पनि अहिले अली चलेका कलाकारहरुलाई चर्को पारिश्रमिक दिन निर्माताहरुबीच हानाथाप नै चलेको छ । तर यो कति दिगो होला भन्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment