Comments Add Comment

एक्लो विपक्षी कांग्रेसले ‘टीन एजर्स’मा लगानी गरोस् !

अहिलेको युवा सुनेर मान्दैन, देखेर मात्रै विश्वास गर्छ । उसको अाफ्नै संसार छ । किनभने उसले गोजीको मोबाइलमै संसार बोकेको छ । भारतमा पहिले पनि कांग्रेस सरकारले गरेको भ्रष्टाचार बाहिर नआएको हैन । तर, आफ्नै आँखाले नदेेखेसम्म युवाले विश्वास गरेन । जब देख्यो, तब रीस पोख्यो ।

नेपाली कांग्रेसले विगतका सबैजसो निर्वाचनमा मुलुकमा प्रजातन्त्र स्थापनाको आफ्नो गौरवपूर्ण इतिहासको खुबै बयान गर्यो, तर वर्तमान बताएन । सात साल, सत्र साल अनि सतचालीस सालमा उसैको अगुवाईमा देशमा प्रजातन्त्र आएको हो । त्यो हामीलाई थाहा छ, पुराना मानिसलाई थाहा छ । तर युवालाई अब इतिहास मात्रले नछुन सक्छ । युवाको मन जित्न उसले देख्नेगरी केही गर्नुपर्छ ।

यसअघिका सबै सालको इतिहासको ब्याज कांग्रेसले लगभग खाइसकेको छ भन्दा गल्ती नहोला । इतिहास जपेर खाने दिन गए, अहिले फसल खान अहिल्यै रोप्नुपर्छ भन्नेमा लागेका छन् आधुनिक राजनीतिकर्मीहरु ।

त्यसो त कांग्रेसभन्दा अरु दलले युवाले देख्ने गरी काम गरेकोले कांग्रेस इतिहासकै एक्लो प्रतिपक्ष चुनिएको हो भन्ने पनि यो आलेखको आसय होइन । बरु चुनावको मुखमा युवाले ‘फिल’ गर्नेगरी जेजसरी अनेक तरहका ‘स्क्यान्डल’ आए र कांग्रेसले पुष्टि गर्न सकेन त्यसका कारण उसका विरुद्धमा युवाले मत हालेका चाहिँ हुन सक्छन् । यसलाई कांग्रेसले ‘टिन एजर’ का आँखाअगाडि गर्न नसकिएको ताजा लगानीको कमीका रुपमामात्र भन्दा पनि साँचो कुराकै पनि पुष्ट्याइँ गर्न नसकेको भनेर बुझ्दा अहिलेलाई काफी हुनेछ ।

प्रायः सत्तारोहणको रोमाञ्चक यात्रामै रहिरहने कांग्रेसले अब पाँच वर्षको एक्लो स्थायी विपक्षीको यात्रा ती ‘टिन एजर’ ले थाहा पाएसम्म यो पहिलो पटक हो । युवालक्षित कार्यक्रम लिएर जनतामा जानु उसका लागि अब झन आवश्यक छ । कांग्रेसले जनताको घरमा बास नबसेको धेरैभयो । उसले केन्द्रमै, राजधानीमै र सत्तामै वा त्यस वरिपरितिर मात्र बास रोज्छ ।

निर्वाचनका समयमा पनि कांग्रेस आˆनो निर्वाचन क्षेत्रमा मात्र जान्छ, अर्काकोमा जाँदैन । न युवाको उर्लंदो धड्कनमा र नत बृद्धभत्ताका लागि चार चारवर्षसम्म मिनभवनमा अनशन बस्ने बृद्धहरुको मनमा बास खोज्यो कांग्रेसले । हरदिन झण्डै आधा समय सामाजिक सञ्जालमा दिने युवालाई कांग्रेसले ती सञ्जालका भित्तामा आˆना कुरा कति पढायो, देखायो ? कांग्रेसको र उ सरकारमा हुँदा सरकारकै सञ्चार संयन्त्र किन कमजोर हुन्छ ? यो संकीर्ण विगतलाई कांग्रेसले सच्याउने बेला पनि यही नै हो ।

कांग्रेसले यस्ता कमजोरी सरकारमा बसेर सच्याउन नमिल्ने भएकैले जनताले उसलाई भाग्यबस विपक्षी बेन्चको व्यवस्था गरिदिएका छन् । कांग्रेसले आˆनो रचनात्मक विपक्षी यात्राको सारथि युवालाई छान्नुपर्छ र तिनैमा लगानी गर्नुपर्छ । तिनले खाडीको टिकट काट्नुअगावै गाउँ गाउँ पुगेर जगाउनुपर्छ ।

राजनीति सत्ताको सारथी मात्र होइन, विकास लागि विपक्षी पनि सहयात्री हो भन्ने पाठ कांग्रेसले नै सिकाउनुपर्छ । नेपालमा ठूला ऐतिहासिक परिवर्तनमा कांग्रेसले नै अगुवाइ गरेको छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, संविधान सभा निर्वाचन र यसमार्फत संविधान जारी, करिब दुई दशक हुन नसकेको स्थानीय निर्वाचन र पछिल्लो संसदीय निर्वाचन सम्पन्न गर्ने काम कांग्रेसकै हातबाट सम्भव भएको हो ।

तर, कांग्रेसले अाफ्नो गौरवपूर्ण विगतलाई वर्तमानको ऐनामा देखाउन अहिलेसम्म सकेको छैन । उसले आफूले गरेका काम आˆनै मुखले जनतालाई बुझाउन अझै सकेको छैन । त्यसैले त चुनावको मुखैमा रचिएका अनेक ‘स्क्याण्डल’ हरुबाट बचाउनुको सट्टा बरु प्रचारमा पार्टीभित्रैको विपक्षी कांग्रेस अर्काे विपक्षीभन्दा बढी जुट्यो ।

अाफ्नो कुरा आफैले भन्न सक्ने क्षमताको विकास अब कांग्रेसले आफैं गर्नुपर्छ । यसलेमात्र उसको रचनात्मक विपक्षी यात्रामा देखिने र अनुभूति हुन सक्ने फरक ल्याउनेछ अन्यथा इतिहासले सुम्पेको एक्लो विपक्षी यात्रा पनि सार्थक नबन्ने अर्काे खतरा जन्मिन सक्छ ।
भनिन्छ, युद्ध जित्नेले सारथि आफै छान्न सक्नुपर्छ । यो विपक्षी लडाईँ हाँक्न सत्तामै बस्दा झन कमजोर हुने काम अरुले नभएर आˆनै कारणले हो भन्ने तथ्य उसले बुझ्नुपर्छ । कांग्रेस बलियो हुन पार्टी बलियो चाहिन्छ, व्यक्ति भएर पुग्दैन । अनि यो युगमा सञ्चारको अस्तित्व स्वीकार्दा पीठो नै बिकाउन नपरे पनि आफ्ना प्रगतिका कुरा जनतासम्म पुर्‍याउन बलमिल्छ भन्ने तथ्य पनि कांग्रेसले विपक्षी यात्राको सुरुमै बुझ्दा फाइदै हुनेछ ।

भारतबाट कांग्रेसले सिक्नुपर्ने पाठ

सन् २०१० को अन्त्यतिर भारतमा आयोजना भएको कमनवेल्थ गेममा भारतीय युवाहरुले भ्रष्टाचारका अनेक तरहका रुपरंग प्रत्यक्ष देख्न पाए । टिकट काटेर खेलकूद हेर्न पुगेका युवाहरुले पौडी पोखरी चुहिएका, फुटवलका प्याराफिटहरु पकपकी भत्किएर कतै दर्शकै घाइते भएका तथा अव्यवस्थाका अनेक नमूना देखे । उनीहरुलाई अझै ठूलो चोट त अष्ट्रेलियाली क्रिकेट खेलाडीहरुले खेल बहिस्कार गरेको घटनाले परेको थियो ।

अष्ट्रेलियन खेलाडीले भारतले कमसल खानाको व्यवस्था गरेको र त्यस्तै होटलमा राखेको आरोप लगाए र खेल्न आएनन् । भारतीय युवा क्रिकेट खेलप्रति कति हुरुक्क छन् त्यो सबैलाई थाहै छ । अनि यी दुई देश क्रिकेटका कत्तिका प्रतिद्धन्द्धी हुन भन्नेबारेमा पनि यहाँ धेरै शब्द खर्चिनु व्यर्थ होला । भारतका क्रिकेटप्रेमीका मनमा यो घटनाले कति चोट पुर्यायो होला ? उनीहरु भित्रभित्रै सरकारसँग रिसाए, भित्रभित्रै पीडा गुम्स्याएर राखे ।

वास्तवमा त्यतिनै बेला त्यहाँ अन्ना हजारे र अरबिन्द केजरीवालहरुले सरकारका भ्रष्टाचार कर्मविरुद्ध अनशन र आन्दोलन छेडेका थिए । तिनको आन्दोलनलाई मिडियाले बडो प्राथमिकता दिएको थियो । तर, चौबीसै घन्टा मिडियाले दिने समाचारप्रति भारतका युवाको खासै चासो भने थिएन किनभने उनीहरुले भ्रष्टाचार देखे, भोगेका थिएनन् । तर, जब उनीहरु खेल हेर्न मैदान पुगे, तबमात्र भ्रष्टाचार कस्तो हुँदोरछ भन्ने देखे ।

अष्ट्रेलियाली खेलाडीले क्रिकेट खेल बहिस्कार गरेकोमा चोट त पुगेकै थियो, अरु अनियमिता पनि खेलमैदान र संरचनामा आफै देखे । यसअघि केजरीवालले अनियमितता उजागर गर्न मजुरा बजाउँदै र गाउँले जगाउँदै हिँडेका टेलिभिजन दृश्यहरुले खासै छोएको थिएन, किनभने उनीहरुले यसलाई राजनीति भन्थे र राजनीतिमा चाख राख्दैनथे । अबभने युवाले सरकारमा कत्तिको भ्रष्टाचार व्याप्त छ भन्नेकुरा शुक्ष्म रुपले बुझ्नथाले ।

त्यसपछिको निर्वाचनमा तिनै युवाको भावना समात्न सकेका हुन् भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले । अनि आˆनै आँखाले प्रत्यक्ष भ्रष्टाचार देखेका भारतका एक तिहाई युवाले चुनावमा यो वा त्यो पार्टी भन्ने त बुझेनन् बरु कांग्रेसविरुद्ध भोटदिने निधो भने गरे । हो, कांग्रेसलाई यो हालतमा तिनै युवाले पुर्‍याइदिए । भाजपालाई मत दिनेमध्येका अधिकांश युवाले आफूहरुले कसको पक्षमा मतदान गर्दैछौँ भन्ने बारेमा थाहा नपाए पनि भ्रष्टाचार गरेको कांग्रेसको विपक्षमा मतदान गरेको बताएका थिए । त्यहाँका युवाको शक्ति त्यसयता मोदीले राम्ररी बुझेका छन् । त्यसैले उनले हरेक सम्बोधनमा सुरुमा युवा नै सम्झिन्छन् । उनले धेरै कार्यक्रमहरु युवालक्षित ल्याएका पनि छन् ।

भारतका करिब १९ लाख ‘प्लस टु’ परीक्षामा सामेल विद्यार्थीलाई लक्षित गरेर महिना दिनअघि उनले पुस्तकै लेखे ‘एक्जाम वारियर’ (परीक्षाका योद्धा) शीर्षकमा । यसमा उनले भारतीय परीक्षा प्रणालीलाई एउटा युद्धको संज्ञा दिएका छन् र विद्यार्थीको परीक्षास्थललाई युद्धमैदान बनाउनु हुदैन भनेका छन् । त्यो परीक्षको समयमा उनले टेलिभिजनबाट विद्यार्थीलाई सम्बोधन समेत गर्नभ्याए र भने- परीक्षादेखि नडराउनु, जानेको कुरा राम्ररी लेख्नु, हामीले सजिला प्रश्न काट्न शिक्षकहरुलाई भनिसकेका छौँ । उनको यो ढाडसले ‘टिन एजर’ र तिनका बाबुआमा कम्ती खुसी भएनन् ।

मोदीले यो कला मिसाइल म्यान अब्दुल कलामसँग सिकेका हुन् । कलामले वर्षदिनमा एक तिहाई समय विद्यालय, विश्वविद्यालयमा गएर विद्यार्थीसँगै विताउँथे । उनका कुरा सुन्थे, अन्तरक्रिया गर्थे र बाल मष्तिस्कका सबै जिज्ञासा मेटाइदिन्थे ।

यो आलेखको आशय निकै लामो समयपछि अब पूरै पाँच वर्षका लागि लगभग एक्लो विपक्षी मार्ग तय गरेको नेपाली कांग्रेसलाई भारतीय कांग्रेस सरकारजस्तो भ्रष्ट भन्न खोजेको पटक्कै होइन । बरु कांग्रेसले युवाका मनमा कसरी प्रवेश गरेको छ भन्ने चाहिँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment