Comments Add Comment

‘नो भेहिकल जोन’को दिन लेकसाइड सांगीतिक माहोलमा झुम्ने

४ चैत, पोखरा । पर्यटकीय केन्द्र पोखराको लेकसाइड सवारी निशेधित क्षेत्र (नो भेहिकल जोन)सँगै सांगीतिक माहोलमा झुम्ने भएको छ ।

नो भेहिकल जोन हुने दिन लेकसाईडलाई सांगीतिक माहोल बनाइने तयारी भएको हो ।

पोखरा लेखनाथ महानगरपालिकाको लेकसाईड आउँदो शुक्रबारदेखी नो भेहिकल जोन बन्दैछ ।

हरेक शुक्रबार र शनिबार अपराहृन ५ बजेदेखि राति १ बजेसम्म लेकसाइडको हल्लनचोकदेखि बाराही चोकसम्मको करिब एक किलोमिटर क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागिएको हो ।

नो भेहिकल जोनका लागि आवश्यक सबै तयारी पूरा भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारीले बताए । उनका अनुसार पार्किङ ब्यबस्थापनदेखी सुरक्षाका सबै प्रबन्ध गरिसकिएको छ ।

पार्किङका लागि हल्लनचोक क्षेत्रमा क्याम्पिङचोकस्थित खुल्ला चौरमा पार्किङ गर्ने ब्यबस्था गरिनेछ । बाराहीचोकतर्फ भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको डिहिकोपाटन चौरमा पार्किङ तोकिएको छ ।

अन्य भाडाका सार्वजनिक सवारी साधनलाई भने हल्लनचोक र डिहिकोपाटनदेखी नै डाइभर्ट गरी र्फकने ब्यबस्था गरिएको उनले बताए ।

नो भेहिकल जोनका लागि सुरक्षा पनि चुस्त बनाईएको लेकसाईड क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) नविन कार्कीले बताए ।

पार्किङ क्षेत्रमा सिसी क्यामरा जडान गरिने र त्यसलाई बैदाम प्रहरीको कन्ट्रोल रुपमले निगरानी गर्ने उनले बताए । उनका अनुसार यसअघीका सिसी क्यामरालाई चुस्त बनाएको र बाँकी क्षेत्रमा सिसी क्यामरा थपेर सुरक्षाको पूर्ण ग्यारेन्टी गरिने डिएसपी कार्कीले बताए ।

वडाध्यक्ष पहारीले बिगतको नो भेहिकल जोन अभियान असफल भएकाले यसपटक ब्यापक छलफल गरेर ल्याइएकाले कुनैपनि हालतमा सफल बनाएरै छाड्ने उद्घोष गरे ।

विकृति विसंगति हटाउँदै पर्यटन प्रबर्द्धन गर्ने मूल उद्धेश्य राखेर नो भेहिकल जोन अभियान सञ्चालन गरिएको र पर्यटनसँग सम्बद्ध संघसंस्थाले अभियानलाई सघाउने प्रतिबद्धता जनाईसकेकाले अभियान सफल हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे ।

उनका अनुसार यसपटक नो भेहिकल जोन सफल बनाउन कामको पनि बाँडफाँड गरिएको छ । जस अनुसार कार्यक्रमको मूल संयोजकमा वडाध्यक्ष पहारी आफै, सुरक्षा ब्यबस्थामा सामुदायिक सेवा जिल्ला समन्वय समितिका अध्यक्ष एवम् वडा सदस्य विष्णुबहादुर भट्टराई, फोहोरमैला ब्यबस्थापनमा वडा सदस्य हरिकृष्ण पहारी र अन्य भैपरी आउने समस्या समाधानका लागि वडा सदस्य द्वय राममाया विक र पुष्पा पहारीलाई संयोजक तोकिएको उनले बताए ।

नो भेहिकल जोनको दिन सांगीतिक माहोल

नो भेहिकल जोन लागू भएको दिन साँझमा सांगीतिक प्रस्तुती राखिने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारीले जानकारी दिए ।

उनका अनुसार साँझमा करिब २ घण्टा नो भेहिकल जोन क्षेत्रको कुनै एक चोकमा सांगीतिक प्रस्तुती राखिनेछ ।

स्थायी स्टेज बनाएर कार्यक्रम गर्ने तयारी गरिएपनि हाललाई अस्थायी रुपमै भएपनि सांगीतिक कार्यक्रम गरिने अध्यक्ष पहारीले बताए ।

सांगीतिक कार्यक्रमका लागि पर्यटनसँग सम्बद्ध संघसंस्थाले पालैपालो प्रायोजन गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

यसैबीच नो भेहिकल जोन पहिलोपटक कार्यान्वयन हुने दिन आउँदो शुक्रबार नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको संयोजनमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

पर्यटन बोर्डले पाक्षिक रुपमा नियमित कार्यक्रम गर्ने पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले जानकारी दिए ।

उनले पहिलो दिन आउँदो शुक्रबार नो भेहिकल जोन हुने क्षेत्रको मध्यबिन्दु लेकसाईडको सेन्टर प्वाइन्ट चोकमा कार्यक्रम गर्ने बताए । सो दिन गन्धर्व जातिको मौलिक बाजा सारंगीमार्फत सांगीतिक माहोल पस्कने तयारी गरिएको उनले बताए ।

उनले भने,’पहिलो दिन पोखराको पहिचान अनि गन्धर्व जातिको मौलिक बाजा सारंगीको धुन सुनाउने तयारी गरेका छौं, र अब पाक्षिक रुपमा सांगीतिक कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’ तर नेपाली संगीत मात्र पस्कने भन्दै उनले पश्चिमी संगीत भने नराखिने स्पष्ट पारे ।

थपलियाले अन्य संघसंस्थासँग सहकार्य भएको खण्डमा साप्ताहिक रुपमै कार्यक्रम गर्न सकिने बताए । तर सबै पर्यटन बोर्डले मात्र गर्छ भनेर वास्ता नगरिए दीर्घकालीन रुपमा कार्यक्रमलाई निरन्तरता दिन भने मुश्किल हुने सुनाए ।

उनका अनुसार प्रति कार्यक्रम २५ हजार खर्च लाग्ने भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्नेछ ।

सांगीतिक कार्यक्रमका लागि पर्यटनसँग सम्बद्ध संघसंस्थाले पनि चासो देखाएको वडाध्यक्ष जगत पहारीले बताए । उनका अनुसार रेबान, क्षेत्रीय होटल संघ पोखरा, नाट्टा, टानलगायतले पनि सांगीतिक कार्यक्रमका लागि चासो देखाएका छन् ।

प्ार्यटन बोर्ड पोखराका प्रमुख थपलिया नो भेहिकल जोन सफल बनाउन सांगीतिक कार्यक्रमले सघाउने बताउँछन् ।

पर्यटकलाई आकषिर्त गर्न विश्वभरीकै पर्यटकीय सहरमा सांगीतिक गतिविधी हुनेगरेको बताउँदै उनले भने,’विश्वभरीकै कल्चर हो पर्यटकीय केन्द्रमा सांगीतिक कार्यक्रम गर्ने, यसले नेपाली संगीतको संरक्षण पनि हुन्छ, अनि पर्यटकलाई मनोरञ्जनका साथै यो हाम्रै लागि भइरहेको छ भन्ने न्यानो आतिथ्यताको आभाष पनि दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment