Comments Add Comment

‘तालिम लिएर अन्तै जाने पाइलटलाई क्षतिपूर्ति तिराइन्छ’

७ चैत, काठमाडौं । विकास र समृद्धिसम्बन्धी पुस्तकसमेत लेखेर चर्चामा आएका युवा नेता रविन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । घुस नखाने र विकास प्रेमी नेताका रुपमा परिचित मन्त्री अधिकारीले अब यो मन्त्रालय कसरी हाक्लान् ? यसमा आम मानिसको चासो छ ।

त्रिभुवन विमानस्थलको स्तर, वैकल्पिक विमानस्थलहरुको खाँचो अनि राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको लथालिंग अवस्था मन्त्री अधिकारीका मुख्य चुनौतीहरु हुन् । साथै नेपालमा पर्यटक भित्र्याउने र राष्ट्रिय अर्थतन्त्रमा यसक्षेत्रको योगदान बढाउने जिम्मेवारी पनि अधिकारीको काँधमा छ ।

भर्खरै मन्त्री बनेर बधाइ थाप्ने क्रममै रहेका अधिकारीले आफ्नो जिम्मेवारी सम्हालेको पहिलो सातामै के कस्ता योजना र काम अगाडि बढाउँदैछन् ? यसबारे बुझ्न अनलाइनखबरको टोली मन्त्रालयमा पुग्दा उनले अब १४ दिनभित्र विमानस्थलमा घाम तापिरहेका विमान उड्ने अनि दुई महिनाभित्र त्रिभुवन विमानस्थल सफा र वैज्ञानिक बन्ने बताए ।

मन्त्री अधिकारीसँग अनलाइनखबरले गरेको कुराकानीः

योभन्दा अघि तपाई विकास समितिमा हुनुहन्थ्यो र त्यहाँबाट निर्देशन दिने काम गर्नहुन्थ्यो । तर, अहिले काम गर्ने ठाउँमा आउनुभएको छ । विकास समितिमा काम गरेको अनुभवले तपाईलाई मन्त्रालयमा कति सहयोग पुगेेको छ ?

मैले प्रशस्त प्रश्न गरे, बोलेँ, लेखेँ । आज काम गर्ने ठाउँमा छु । त्यसैले मेरा लागि चुनौती छ कि सबै समस्या समाधान गरेर कति अघि बढाउन सक्छु ?

मन्त्रालयमा हाजिर भएको दोस्रो दिनदेखि नै काममा संलग्न भएको छु । बिफ्रिङ लिने क्रम सकिने चरणमा छ र त्यसमा मैले उनीहरुले भनेको कुरा सुन्ने मात्र गरेको छैन, छलफल गरेको छु र आफ्नो दृष्टिकोण दिएको छु । मलाई के लाग्छ भने मैले कल्पनाको मात्र कुरा गरेको छैन, व्यवहारिक हिसावले भनेको छु ।

पहिलोचोटि मन्त्री बनेर पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । तपाईको प्रथम दृष्टिमा यो मन्त्रालय कस्तो रहेछ ?

विडम्बना भन्नुपर्छ, पछिल्लो समय अत्यधिक मन्त्रीहरु परिवर्तन हुने मन्त्रालयमध्ये एक हो पर्यटन । हरेक ८/९ महिनामा मन्त्री परिवर्तन भएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा मात्र पनि तीनपटक मन्त्री परिवर्तन भएको छ । यसको असर बि्रफिङमा पाएँ ।

अत्यधिक अस्थिरता भएका कारण मन्त्रालयका संस्थाहरुले दीर्घकालीन सोच र योजना बनाएर काम गर्न पाएका छैनन् । भिजन राखेर काम गर्न पाएका छैनन् ।

दोस्रो, विकास समितिमा बसेर काम गर्दा मैले पर्यटनमा चासो राखेकै थिएँ । लेखा समितिमा बस्दा पनि चासो राखेँ । त्यसबेला म प्रश्न गर्ने ठाउँमा थिएँ, अहिले कामले उत्तर दिने ठाउँमा आएको छु । हिजोको हेराइ र आजको हेराइमा फरक छ । हिजो यो किन हुन सक्दैन भनेर प्रश्न गर्थें अब आज काम कसरी गर्ने मात्र होइन, हिजो भनेको कुरा ठीक रहेछ कि रहेनछ भन्ने पुनरावलोकन गर्ने ठाउँमा आएको छु ।

उसोभए, अरु मन्त्रीको तुलनामा आफूलाई बढी चुनौती छ भन्ने लाग्छ ?

स्वभाविकरुपले मेरा लागि सबैभन्दा ठूलो चुनौती यो नै हो । एउटा, मेरा हिजोका कामका आधारमा अपेक्षा छ । धेरैले फोन गरेर त्यही भन्नुभएको छ ।

अर्को, मैले प्रशस्त प्रश्न गरे, बोलेँ, लेखेँ । आज काम गर्ने ठाउँमा छु । यद्यपि यो अरु मन्त्रालयजस्तो प्रत्यक्ष हेरेको मन्त्रालय त होइन । तर, पोखरा विमानस्थल र पूर्वाधारमा चासो राखेका हिसावल मेरो भावना जोडिएको छ । विकास समितिमा रहँदा भैरहवा र पोखरा विमानस्थलका लागि सहजीकरणको भूमिका निभाएको छु, निजगढ विमानस्थलको अस्तित्व सिर्जना गर्न भूमिका खेलेको छु ।

लेखा समितिमा बस्दा नै त्रिभुवन विमानस्थल विस्तारका लागि घचघच्याँदै आएको छु । तर, आज समय पुरा गरेको ४ महिना नाघिसक्यो, काम हुन सकेका छैन, यो दुर्भाग्य हो ।

त्यसैले मेरा लागि चुनौती छ कि सबै समस्या समाधान गरेर कति अघि बढाउन सक्छु ? आशा छ, म यो चुनौतीमा खरोसँग उत्रन सक्छु ।

तपाईको लगाव र इच्छाशक्तिमा प्रश्न नगरौं तर, एउटा मन्त्रीले चाहेजस्तो सबै हुँदैन । प्रधानमन्त्रीदेखि कर्मचारीसम्म जोडिएको छ र धेरैले जब काम गर्न सक्दैनन्, अनि मैले त चाहेको थिएँ तर, गर्न दिएनन् भन्छन्…

काम गर्न खोजेको थिएँ तर दिएनन् भन्ने पक्षमा म छैन । मैले सकिनँ भने सिधै सकिनँ भन्छु । तर, त्यो भन्दा ठूलो मलाई विश्वास छ कि म गरेर देखाउँछु । यसका लागि प्रधानमन्त्रीका साथै अरु मन्त्रीहरु र विकास साझेदारहरुसँग समन्वय गरेर काम गर्छु । इमान्दारिताका साथ काम गर्नुपर्छ । यो वा त्यो पक्ष भन्दिनँ, जो इमान्दार, क्षमतावान र मेहनती छन्, उनीहरुलाई प्रोमोट गर्छु ।

पक्षपात नगर्ने र सिंगो मन्त्रालयलाई परिचालन गर्न सक्ने हो भने संस्थाहरु बलिया हुन्छन् र कामले गति लिन्छ । आवश्यक कानुनहरु बन्छन्, ऋण दिनेले पनि पत्याउँछन् । ऋण दिएनन् भने पनि आफ्नै स्रोत साधनले काम अघि बढाइन्छ ।

तर, भैरहवा विमानस्थलमा एशियाली विकास बैंक (एडीबी)ले पैसा दिन्न भनिसक्यो । पोखरामा विमानस्थल निर्माणले पनि अपेक्षाकृत गति लिन सकेको छैन । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ र त्रिभुवन विमानस्थल पनि भिजनरी मन्त्रीको पर्खाइमा छन् । कहाँबाट काम सुरु गर्नुहुन्छ ?

मलाई बधाइ दिन आएका धेरैले पनि अरु सबै राम्रो छ तर, विमानस्थल भन्दै नाक खुम्च्याएका छन् । विमानस्थल जानै नपरोस् भनेर सोच्नुपर्ने स्थिति छ । अबको दुई महिना पर्खिनुस्, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सफा र बैज्ञानिक बनाइन्छ

सबै परियोजनाको आफ्नै महत्व छ । तर, पर्यटन मन्त्रालयमा आएपछि मेरो पहिलो प्राथमिकता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तार हो । तर, यो विस्तार १०/२० वर्षको भिजन राखेर होइन, त्यसबेलासम्म त निजगढ विमानस्थल बनिसक्छ । अहिले मैले गर्ने विस्तार निजगढ विमानस्थल बन्नुअघिका ४/५ वर्षको आवश्यकता हेरेर हुनेछ ।

निर्माणको कुरा गर्ने हो भने पहिलो प्राथमिकता निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छ । भैरहवा विमानस्थलको समस्या छिट्टै समाधान हुन्छ । हामी बैंक र निर्माण कम्पनीसँग अनावश्यक रुपमा सम्झौता गरेर बस्दैनौं । यो विमानस्थल छिट्टो बन्नुपर्छ, कसैले पैसा दिँदैन भने आफैं लगानी गर्छौं ।

त्रिभुवन विमास्थलमा के गर्नुहुन्छ, डोमेस्टिक हटाउने, रन वे थप्ने बहस छ नि ?

केही मानिसहरुले त्रिभुवन विमानस्थलमा दुईवटा रन वे बनाए पनि हुन्छ भनेर भन्ने गरेका छन् । तर, यो सम्भव छैन किनकि दुईवटा रनवेका लागि एक किलोमिटर ग्याप चाहिन्छ । त्यो विमानस्थलको जग्गामा सम्भव छैन ।

दोस्रो, हामी नजिकै अर्काे आन्तरिक विमानस्थल बनाउन सकिन्छ कि भनेर हेरिरहेका छौं । आन्तरिक विमानस्थल यहाँबाट पुरै हटाउने हो होइन तर, पहाडी भेगहरुका फ्याइट अर्को ठाउँबाट गर्न सकिन्छ भन्ने छ । धुलिखेलको नाम पनि आएको छ, यसको सम्भाव्यताबारे पनि अध्ययन गरिरहेका छौं । अहिले विमानस्थल नजिकै आएर पनि ल्यान्ड गर्न २० मिनेटसम्म कुर्नु पर्ने अवस्था छद्ध । यो हामी अन्त्य गर्छौं ।

अर्को, अर्थ मन्त्रालय मातहतको भन्सार र गृह मातहतको अध्यागमन विभाग यो अन्तराष्ट्रिय विमानस्थलसँग जोडिएको छ । अहिलेसम्म यसको समन्वय कसले गर्ने भन्ने प्रश्न थियो । अब हामी समन्वयको जिम्मा लिन्छौं । विकास समितिमा बस्दा पनि समन्वयतात्मक बैठक धेरैपटक राखेका थियौं । एकै ठाउँमा बसेर छलफल गर्ने हो भने धेरै समस्या हल गर्न सकिन्छ ।

विमानस्थललाई लिएर धेरै गुनासा छन् । मलाई बधाइ दिन आएका धेरैले पनि अरु सबै राम्रो छ तर, विमानस्थल भन्दै नाक खुम्च्याएका छन् । विमानस्थल जानै नपरोस् भनेर सोच्नुपर्ने स्थिति छ । अबको दुई महिना पर्खिनुस्, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सफा र बैज्ञानिक बनाइन्छ ।

नेपाल वायुसेवा निगम ग्राउण्ड हृयाण्डलिङबाट आएको रकमको भरमा चलेको छ । विमान उडाएर खाने सक्ने अवस्था छैन । एनएसीबारे के सोच्नुभएको छ ?

केही वर्ष पहिले वायुसेवा निगमको ग्लयामर थियो । त्यहाँ जान पाए हुन्थ्यो भन्ने सोच्थे । बीचमा खस्क्यो । तर, अहिले पुनः रिभाइभ हुने स्थितिमा छ । तर, अझै यो दिगो हुन्छ कि हुँदैन भन्ने प्रश्न भने यथावत नै छ ।

जसरी एउटा पाइलटले गल्ती गर्‍यो भने अर्काे गल्ती गर्न पाउँदैन, त्यसरी नै नेपाल एयरलाइन्सले गल्ती गरेर एकपटक भासियो भने अर्काे गल्ती गर्न पाउने छैन । योपटक डुब्यो भने निगम आफू मात्र डुब्ने छैन, हामीलाई पनि डुबाउनेछ । तर, अहिले हामी यसका बारेमा सकारात्मक सोचौं । किनकि पर्यटक आगमन बढाउने यो नै बलियो माध्यम हो ।

निगम चलाउने भनेको जहाज चलाउने मात्रै होइन, यो त जहाजहरु चलाउने हो । जहाज जलाउने क्याप्टेनले हो, जहाजहरु चलाउने भनेको व्यवस्थापकले हो । त्यसैले अब विजेनश प्लानका साथ निगमलाई अघि बढाउन जरुरी छ । अहिले जहाज छ क्याप्टेन छैन । क्याप्टेन बिनाको जहाज ल्याएर के नाफा भयो ? उल्टो हरेक दिन खर्च भइरहेको हुन्छ ।

तर, निगम व्यवस्थापकहरु त चिनियाँ जहाज उडाउन सक्ने क्याप्टेन नै छैनन् भन्छन् नि ?

चिनियाँ विमान चलाउन निगमले केही क्याप्टेनहरुलाई तालिममा पठाएको थियो । तर, फर्किएर १५ दिन पनि जहाज नचलाई फेरि बोइङ र एयरबस चलाउने तालिमतिर गए भन्ने सुनेको छु । अहिले संसारभर क्याप्टेनको अभाव देखिएको छ । त्यसैले हामीले पनि क्याप्टेन उत्पादन गर्दा घाटा छैन ।

तर, कुनै पनि कम्पनीसँग सम्झौता गरेर काम गर्न सुरु गरेपछि सम्झौताबमोजिम त त्यो काम गर्नुपर्‍यो नि । एउटा सम्झौता गरेर तालिममा जाने तर फर्किएपछि अर्कोतिर जान मिल्छ ? अब सम्झौता अनुसार काम गर्नेलाई प्रमोसन र नगर्नेलाई क्षतिपूर्ति तिराउने सिस्टम बनाउन जरुरी छ ।

घाम तापेर बसेका चिनियाँ जहाज कहिले उड्छन् त ?

मंगलबार मात्र वायुसेवा निगमको बिफि्रङ लिएको छु र उनीहरुले १० दिनमा विमान उडाउँछु भनेका छन् । मैले १४ दिनभित्रै सबै विमान उडाइसक्नुपर्छ भनेको छु ।

उसोभए तपाईको कार्यकालमा वायुसेवा निगमको धमिलिएको छवि सुध्रन्छ ?

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमको प्रभावकारितामा मेरो भविश्य निश्चित छ । मैले आफूलाई यी दुई संस्थासँग जोडेर हेरेको छु ।

वायुसेवा निगमको उडानमा अवरोध युरोपेली युनियन (इयू) को कालोसूची पनि मानिन्छ । नेपाल इर्यूको कालोसूचीबाट चाहिँ कहिले हट्छ ?

यसलाई मैले प्राथमिकतामा राखेको छु । कूटनीतिक हिसाबमा पहल गर्छु । उनीहरुको टोली आउने कुरा पनि छ । मलाई के लाग्छ भने हाम्रो विमानस्थल असुरक्षित होइन तर, यहाँबाट धेरै नकारात्मक सन्देशहरु गए । यो सन्देश मिडियाबाट गएको होइन । एकले अर्काे कर्मचारीलाई असफल पार्ने नाममा आन्तरिक रुपबाटै गलत सन्देश पठाउने काम भएको छ । बाहिर ल्याउन पर्ने डकुमेन्ट ल्याउँदैनन्, नल्याउनुपर्ने ल्याउँछन् । अब यस्तो गर्ने जो कोही पनि कारबाहीको भागिदार हुन्छ ।

विमानस्थल र वायु सेवा निगमको सुधार योजना तपाईहरुको १५ लाख पर्यटक ल्याउने लक्ष्यसँग पनि जोडिएको छ ?

हो, हामीले २०२० मा १५ लाख पर्यटक ल्याउने भनेका छौं र २०३० मा ५० लाख पुर्‍याउने भनेका छौं । यसका लागि पनि धेरै काम गर्नु पर्नेछ । जस्तो- हामीकहाँ चिनियाँ पयर्टक धेरै आउनुपर्छ भनिन्छ तर, हामी नेपाल र अंग्रेजीमा प्रचार गर्छौं । चिनियाँ भाषामा वेबसाइट समेत छैन । उनीहरुले आफूले चाहेको सूचना चिनियाँ भाषामा पाए पो सहज हुन्छ ।

तर, नागढुंगाको बाटो बन्द हुन्छ, बन्द हड्ताल हुन्छ । पर्यटकहरुलाई नेपाल आउन नदिने धेरै फ्याक्टरहरु पनि त छन् नि ?

सकारात्मक सन्देश प्रवाह गर्न जुरुरी छ । तर, सन्देशले मात्र पर्याप्त छैन । विमानस्थल लगायतका पूर्वाधार बनाउनुपर्‍यो, भएकालाई चुस्त दुरुस्त र आधुनिक बनाउन जरुरी छ । त्यसपछि मात्र सकारात्मक सन्देश दिन सकिन्छ । यसमा सरकार, मिडियादेखि सबैले भूमिका खेल्नुपर्छ ।

नेपाल आउने पर्यटकमा धार्मिक पनि धेरै हुन्छन् । पशुपति, लुम्बनी, मुक्तिनाथ लगायतका धार्मिक स्थलहरुलाई जोड्ने सर्किटबारे केही सोच्नुभएको छ ?

पशुपति लुम्बिनी र मुक्तिनाथ जोड्ने रुट निर्माणका लागि अध्ययन अघि बढेको छ । दुई तीनवटा धार्मिक रुटहरु घोषणा गरेर प्रवर्धन गर्ने सोचमा छौं र यो भिजिट नेपाल २०२० अघि नै हुन्छ । हामीले १५ लाख पर्यटक ल्याउन भनेका छौं । म दाबाका साथ भन्छु १५ लाखभन्दा १ जना पनि कम हुँदैन र २० नाघ्यो भने पनि अचम्म नमाने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment