Comments Add Comment

प्रदेश ५ : आर्थिक कार्यविधि पारित, सरकारलाई खर्च गर्न बाटो खुला

८ चैत, बुटवल । प्रदेशसभा ५ को आठौं बैठकले आर्थिक विधेयक पारित गरेको छ ।

चैत ४ गते संसद बैठकमा पेश भएको सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरियोस् भनी भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले प्रस्ताव गरेका थिए ।

उक्त विधेयकलाई संसदले बहुमतले पारित गरेको हो । पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि प्रदेश सरकारले आर्थिक कारोबार गर्न र केन्द्र सरकारले दिएको बजेट ल्याउन बैंकमा खाता खोल्न पाउनेछ ।

संघीय सरकारले यो आर्थिक वर्षमा प्रदेश सरकारलाई १ अर्ब २ करोड बजेट उपलब्ध गराएको छ । संसद्बाट आर्थिक कार्यविधि पास भएपछि सरकारले त्यो बजेट व्यवस्थापन र परिचालन गर्न सुरु गर्नेछ ।

विशेष समयमा के भने सांसदहरुले ?

बैठकको बिशेष समय लिएर बोल्ने प्रदेश सांंसदहरुले फरकफरक विषय उठान गरे ।

सांसद इन्द्रजित थारुले प्रदेशसभाले गठन गरेको प्रदेश योजना आयोगको क्षेत्राधिकार र कानुन सञ्चालन विधि सभामा जानकारी गराउन सरकारसंग माग गरे । उनले बजेटको सैद्धान्तिक बहस र नीतिका बारेमा संसदमा छलफल गर्नुपर्ने धारणा राखे ।

प्रदेश सांसद भुवनेश्वरी चौधरीले मुख्यमन्त्रीले गरेको मुख्य न्यायाधीवक्ता र प्रदेश योजना आयोगका उपाध्यक्षको नियुक्ति असंवैधानिक भएको दावी गरे । ‘कानुन नबन्दै कुन कानुनमा टेकेर नियुक्ती दिइयो जवाफ चाहियो’ उनले भने ।

सांसद भोजप्रसाद श्रेष्ठले नेपालका प्रथम सहिद लखन थापाका समकक्षी सुकदेव गुरुङलाई सरकारले उचित सम्मानसहित सहिद घोषणा गर्नुपर्ने बताए ।

विशेष समयमा उठेका प्रश्नको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले जवाफ दिए । उनले कतिपय विषय संघीय सरकारसंग जोडिएकोले प्रदेश सरकारले त्यसबारेमा केन्द्र सरकारलाई जानकारी गराउने बताए ।

प्रदेशसभाको अर्को बैठक चैत १५ गते बिहीबार १ बजे बस्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment