Comments Add Comment

फिल्म समीक्षाः दीपकको ‘हिरोइज्म’ अघि पल र आँचल कमजोर

फिल्मः शत्रुगते

निर्देशकः प्रदीप भट्टराई

कलाकारः मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा आदि ।


केही कुरा प्रतीक्षित थिए,

मह जोडीको फिल्मी पुनरागमन । ‘जात्रा’ निर्देशकको अर्को फिल्मी खुराक । दीपकराज गिरी-दीपाश्री निरौलाको फिल्मी फर्मूला ।

शुक्रबारदेखि प्रतीक्षाको घडी सकिएको छ । मल्टिस्टारर फिल्म ‘शत्रु गते’ हलमा चढिसकेको छ । केही समययता रित्तिँदै गएको फिल्मी रौनकलाई ‘शत्रु गते’ले फर्काउने अपेक्षा गरिएको छ । यो अपेक्षा निर्देशक प्रदीप भट्टराईका निम्ति भने बोझिलो पनि हुनसक्छ ।

प्रदीप, जो मह संचारमा खारिएका/माझिएका निर्देशक हुन् । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको घर्षणले उनमा पनि सर्लक्क महकै ‘सेन्स अफ ह्युमर’ सरेको छ । अघिल्लो फिल्म ‘जात्रा’मा उनले आफ्नो त्यही गुण भरपुर लेपन गरेका छन् । उक्त फिल्मले जुन तहमा सफलता हासिल गर्‍यो, त्यसले पक्कै पनि निर्देशक प्रदीपमाथि अपेक्षा बढ्यो ।

दोस्रो फिल्म ‘शत्रु गते’मार्फत उनले दर्शकको अपेक्षा पूरा गर्छ ? त्यो पछि चर्चा गरौं । पहिले फिल्मको फ्रेमभित्र प्रवेश गरौं ।

कस्तो छ फिल्म ?

फिल्ममा कमेडी दृश्य, संवाद र पात्रहरूको कसिलो जमघट छ । पारिवारिक अझ भनौं बैंशालु प्रेमको कथामा उभिएर फिल्मले दर्शकलाई हँसाउन भरपुर कसरत गरेको छ । यद्यपि मुख बङ्ग्याएर वा द्विअर्थी शब्द ओकलेर हँसाउने चेष्टा भने धेरै हदसम्म कम गरिएको छ ।

मह जोडी, दीपक-दीपाको जोडी, पल र आँचलको जोडीले यो फिल्मलाई औसतभन्दा वजनदार बनाएको छ । सरसर्ती हेर्दा, फिल्मका हिरो-हिरोइन पल र आँचल हुन् । तर, फिल्ममा दीपकराज गिरीको हिरोइज्ममाथि अरू निरीह छन् । फिल्मको फ्रेमभित्र समेटिएका सबै अनुहार पुराना एवं चल्तापूर्जा हुन् ।

कथा आफैमा अब्बल छैन, नयाँपन भने छ । प्रस्तुति जोसिलो एवं रसिलोे छ । खँदिलो भने छैन ।

प्रेमको कथा, धोकाधडीको व्यथा

फिल्मको कथा दुई यौवना-जोडीको प्रेम एवं विवाहको प्रसंगबाट सुरु हुन्छ । एउटै हाउजिङमा बसोबास गर्ने मधेसी परिवार र पहाडे परिवारका छोराछोरीबीच लभ-रोमान्स चल्छ ।

केटी सन्ध्या (आँचल शर्मा)का बुबा (रमेशरञ्जन झा) मधेसी नेता हुन्, जो घुसखोर छन् । उनी आफ्नी एक्ली छोरीको मर्जीमा भाँजो हाल्ने पक्षमा छैनन् । छोरीका ब्वाईफ्रेन्ड सुरज (पल शाह)सँग बिहे गराइदिन राजी छन् ।

यता सुरजका पिता गोपाल (हरिवंश आचार्य) भने घुसखोर नेतासँग पारिवारिक सम्बन्ध जोड्न उति इच्छुक छैनन् । यद्यपि छोरा र पत्नी -दीपाश्री निरौला)को खुसी हरण गर्ने दुस्साहस उनीसँग छैन । त्यसैले उनीहरूको सम्बन्धको पक्षमा नहुँदा समेत सम्बन्धमा तगारो बन्न सक्दैनन् ।

यसैबीच संयोगले चुच्चो मुख बनाए, भकभकाउँदै बोल्ने ति (लठेप्रो जस्ता) पिता प्रहरी थुनामा पर्छन् । जब कि छोरोको बिहेको मिति १७ गतेलाई तोकिएको हुन्छ । आफ्नो अनुपस्थितीमा छोरोको बिहे रोकिन्छ भन्ने उनको भित्री आकंक्षा भने पूरा हुने छाँट छैन । छोरा सुरजको नेतापुत्री सन्ध्यासँग इंगेजमेन्ट हुन्छ ।

यी सामान्य द्वन्द्वलाई उछिनेर अघि बढिरहेको प्रेमिल-कथा त्यसबेला गडबड हुन्छ, जब सोही कोलनीमा राहु -दीपकराज गिरी,जसको पूरा नाम राहुल)ले प्रवेश गर्छ । उनी गुण्डागर्दी गर्दागर्दै प्रहरी युवतीको मायामा पग्लिएर सज्जन भएका छन् । सज्जन नै नभनौं, पेशा परिवर्तन गरेका छन्, युट्युबर ।

युट्युबमा बिकाउ कन्टेन्ट बनाएर पैसा कमाउने धन्दा गर्छ । यही धन्दामा उनले कोलनीका एक से एक सदस्याहरूलाई फसाउँदै जान्छन् । त्यसरी फसाउने एवं फस्ने उपक्रममा सुरजका पिता र सन्ध्याका पिता पनि गोलचक्करमा पर्छन् । उनीहरूबीच दुरी बढ्छ । तिक्तता बढ्छ ।

आखिरमा सन्ध्याको परिवार कोलनी छाडेर आफ्नै गाउँ तराई र्फकन्छ ।

अब पिताप्रति बफादार छोरी सन्ध्या र सन्ध्याको मायामा लपेटिएका सुरजको सम्बन्ध के हुन्छ ? यो प्रश्नभन्दा पनि फिल्ममा राहुलले खेल्ने उतारचढावपूर्ण भूमिकाले क्लाइमेक्ससम्म डोहोर्‍याउँछ । फिल्म हेरिरहँदा रामदेवले भनेजस्तै मन खोलेर थुप्रै पटक हाँस्न पाइनेछ ।

हल्का रमाइलो

हरिवंश, मदनकृष्ण, राजाराम पौडेल, किरण केसी, शिवहरी पौडेल, दीपकराज गिरी, दीपाश्री निरौलाजस्ता कलाकर्मीले काँध थापेको फिल्म हेरुन्जेल हाइ काड्नुपर्दैन ।

फिल्ममा लभ-रोमान्स, कमेडी, एक्सन सबै छ । तर, कमेडीको जोड-घटाउमा अरु तत्व गौण छन् । पात्रको चरित्र, घटनाक्रम र संवादले धित् मर्नेगरी हँसाउँछ । खासगरी दीपकराज गिरी, हरिवंश आचार्य, शिवहरि पौडेल तथा राजाराम पौडेलको हाउभाउ र संवादमा हास्य-मिठास छ ।

वर्तमान समयमा युट्युवमार्फत कतिसम्म सामाजिक सम्बन्ध र व्यवहारमा उथलपुथल आउनसक्छ भन्ने कुरा फिल्मले रोचक ढंगले पेश गरेको छ । अर्थोपार्जनका लागि युट्युवको दुरुपयोग गर्नु दण्डनीय अपराध भएको र यसले मानवीय संवेदनालाई पनि छिनाल्ने कुरालाई गम्भीर वा आक्रामक रूपमा होइन, स्वादिलो ढंगले देखाइएको छ । युट्युवलाई कमाउ धन्दामा लगाउनेहरूका लागि यो ‘टुच्च’ पाठ पनि हुनसक्छ ।

फिल्ममा भइपरी आउने घटनाक्रममा तालमेल छ । खासगरी राहुको रूपमा दीपकराज गिरीले इन्ट्री गरेपछि फिल्मले बेग लिन्छ ।

फिल्ममा सबैभन्दा तोड त्यसबेला आउँछ, जब अनेक घटनामा जेलिदै सन्ध्या र सुरजको बिहे हुन्छ । क्लाइमेक्सको दृश्यमा दर्शक औधी रोमाञ्चक हुनसक्छ ।

दीपकको हिरोइज्म अघि पल र आँचल निरिह

दीपकले आफ्नो क्यारेक्टर डिजाइनका लागि अलि मिहिनेत गरेको देखिन्छ । उनीसँग ठोक्किने संवाद र घटनाको बान्की स्वाभाविक र सिलसिलाबद्ध छ ।

आवरणमा देखिने हिरो-हिरोइन पल र आँचल हुन् । एक युवतीको मायामा लिप्त युवकको भूमिकामा पल देखिएका छन् भने प्रेमलाई तिलाञ्जली दिएर पिताको शाख जोगाउन उभिएकी छोरीमा आँचलले भूमिका निर्वाह गरेका छन् । फिल्मको कथा उनीहरूबाट सुरु हुन्छ र उनीहरूमै पुगेर टुंगिन्छ । त्यसबीचमा जे-जति घटनाक्रम हुन्छ, त्यो पनि उनीहरूकै प्रेम र वियोगले पैदा गर्ने हो ।

तर, त्यो सपाट प्रेमकथामा उथलपुथल ल्याउन इन्ट्री गरेका राहुल फिल्मभर हावी छन् । सोझै भन्नुपर्दा, फिल्मका खास हिरो उनै राहुल अर्थात दीपकराज गिरी हुन् ।

किन जोखिम मोल्न डराए प्रदीप ?

प्रदीपले पहिलो फिल्म ‘जात्रा’मा भिन्न प्रसंग र प्रस्तुतिमार्फत उडान भरेका थिए । उनको निर्देशकीय उडानले उपल्लो उचाइ तय गर्‍यो र उनको करियरलाई ‘सेफ ल्यान्डिङ’ गरायो ।

तर, दोस्रो फिल्ममा त्यसैगरी उडान भर्न उनी केही डराएको देखिन्छ । उनले चुनौती मोल्नेभन्दा पनि ‘रक्षात्मक खेल’ खेलेका छन् । मह जोडी र उसको पूरा टिम, दीपक-दीपा जस्ता स्टार कास्टसँगै उनले युवा दर्शक तान्न पल र आँचललाई समेटेका छन् । मल्टिस्टार फिल्ममा उनले कालिप्रसादको गीत पनि ‘एडजस्ट’ गराएका छन् ।

‘जात्रा’को निर्देशकबाट जुन अपेक्षा गरिन्छ, त्यो ‘शत्रु गते’ले पूरा गर्दैन । त्यसो भन्दैमा ‘शत्रु गते’ फितलो फिल्म भन्न खोजिएको होइन, यद्यपि प्रदीपले कायम राख्नसक्ने स्तरको पनि होइन । फिल्म समग्रमा चरित्र स्थापित गर्न र हँसाउनमै केन्द्रित छ । कथा चोटिलो छैन । पात्रहरू एकत्रित र गतिशील छैनन् । कतिपय घटना र प्रसंग नाटकीय लाग्छन् । प्रहरी, वकिल तथा डनको चरित्र एवं प्रवृत्ति स्वाभाविक लाग्दैन ।

यद्यपि भरपुर मनोरञ्जनका लागि भने ‘शत्रु गते’ एउटा स्वादिलो प्याकेज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment