Comments Add Comment

२६ वर्षपछि सुरु भयो बलेवा-काठमाडौं हवाइ उडान

९ चैत, पोखरा । बाग्लुङको बलेवा बिमानस्थलबाट २६ वर्षपछि शुक्रबारदेखि व्यावसायिक उडान सुरु भएको छ । निरन्तरको प्रयास र बागलुङ नगरपालिका लगायत सरकारवालाको पहलमा शुक्रबारदेखि व्यावसायिक उडान सुरु हुँदा स्थानीय दंग छन् ।

पोखरा-बागलुङ सडक मार्ग बनेपछि २०४८ सालमा बन्द भएको बलेवा विमानस्थलबाट फेरि व्यावसायिक उडान सुरु भएको हो । अहिले हप्ताको २ दिन बलेवा विमानस्थलबाट जहाज उडान हुनेछन् ।

बागलुङ नगरपालिकाले आर्थिक जोखिमै मोल्नसमेत तयार भएर हवाई कम्पनीहरुसँग सम्झौता गरेपछि शुक्रबारदेखि बागलुङ-काडमाडौं नियमति हवाई सेवा सञ्चालनमा आएको हो ।

नगरपालिकाले आर्थिक भार व्यहोरेर भए पनि जहाज उडाएरै छाड्ने सम्झौता पछि शुक्रबारदेखि व्यावसायिक उडान सुरु भएको मेयर जनकराज पौडेलले बताए ।

बलेवा विमानस्थलबाट जहाज उडाउन यात्रुको सूनिश्चित नै गर्नु परे थप आर्थिक व्ययभार व्यहोर्न पनि तयार नगरपालिका तयार भएपछि विमानस्थलको निरीक्षण भएको थियो । निरीक्षणपछि प्राविधिक टोलीले बलेवाबाट जहाज उडाउन सकिने सिफारिस गरेको थियो ।

नागरिक उड्डयन प्राधिकरणको पहलमा वायु सेवा निगम, निजी जहाज कम्पनी, बागलुङ नगरपालिका र पूर्व सांसदको संयुक्त वैठकमा ४ बुँदे सहमति भएको मेयर जनकराज पौडेलले बताए ।

‘पुसको २१ गते बसेको नगरपालिकाको कार्यपालिका वैठकले थप आर्थिक व्यवभार व्यहोर्नु पर्ने अवस्था आए पनि नगरपालिकाले थप व्यहोर्ने निर्णय नै गरेका छौं,’ मेयर जनकराजले भने, ‘शुक्रबारदेखि बलेवा-काठमाडौं उड्न थालेको जहाज उडान अब बन्द हुने छैन ।’

हप्ताको २ जहाज उडान गर्न १९ सिटे जहाजका लागि १२ सिटको ग्यारेन्टी नगरपालिकाले गरेको छ ।

१२ जनाभन्दा कम यात्रु भएको खण्डमा नपुगेका यात्रुसंख्या बराबरको रकम नगरपालिकाले व्यहोर्ने सहमति भएको छ । उडान भएको पहिलो दिन नै ३२ हजार ५ सय रुपैयाँ घाटा भएको छ ।

बागलुङबाट सात जना यात्रु मात्रै काठमाडौं जान टिकट काटेका थिए । शुक्रबार जहाज चढेका यात्रीले एकतर्फी भाडा ६ हजार पाँच सय रुपैयाँ तिरेका छन् ।

त्यसैअनुरुप काठमाडौंबाट १५ जना यात्रु लिएर तारा एयरको नाइन एन एइटी जहाज बलेवा विमानस्थल ओर्लिँदा स्थानीयले चालक दलका तीन सदस्यलाई फूलमाला लगाएर स्वागत गरेका छन् ।

बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का लगायत जनप्रतिनिधिले पहिलो उडानबाट आएका विमानस्थलमा भव्य स्वागत गरे । विमानस्थलमा पञ्चेबाजा नै घन्किएर चालक दलसहित यात्रुलाई स्वागत गरिएको छ ।

बलेवा विमानस्थलमा उडान भर्न कुनै समसया नभएको विमानका क्याप्टेन सञ्जीव श्रेेष्ठले बताए । काठमाडौंबाट उडान भरेको ३८ मिनेटमा बलेवा अवतरण गरेको उनले सुनाए । नागरिक उड्डयन कार्यालय पोखराका प्रवन्धक इमानाथ अधिकारीले नगरापकिालको पहलमा उडानका लागि बेसिक उपकरण उपलब्ध भएको जानकारी गराए ।

बेसिक उपकरण उपलब्ध गराए पनि उडान-अवतरणका लागि तापक्रम र हावाको चाप मापन गर्ने यन्त्र चाहिने तथा टर्मिनल हल पनि मर्मत गर्नुपर्ने उनको भनाइ थियो । हवाइ उडान सुरु भए पनि एयरलाइन्स कम्पनीले सुरुवातमै लिएको भाडा ६ हजार ७ सय रुपैयाँ महंगो भएको भन्दै समायोजन गर्न स्थानीयले माग गरेका छन् ।

यो विमानस्थल हुँदै चीन र भारत जोड्ने कालिगण्डकी कोरिडोर गएको छ । मुस्ताङ र पोखराको आपतकालिन विकल्पसमेत बलेवा विमानस्थल बन्ने सक्ने मयरको दाबी छ । केही समयका लागि जहाजका यात्रुलाई बागलुङ बजारदेखि विमानस्थलसम्म पुर्‍याउने निशुल्क सुविधासमेत नगरपालिकाले गर्ने उनले बताए ।

अहिले विमानस्थलसम्म पुग्ने सडक पनि स्तरोन्नति गर्ने, अशक्त, अपांग तथा सुत्केरी र विरामीका लागि अत्यावश्यक तथा अहिले बागलुङको चाहाना पनि भएकाले बलेवा विमानस्थलको विकल्प नरहेको पौडेलले बताए ।

फागुन ६ गते तारा एयरलाइन्सको १९ सिटको जहाजले उडान परीक्षण गरेको थियो । १/२ महिनाअघि नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक इन्दुराज अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरण पोखराका इन्जिनियर इन्द्रराज ओझा र सञ्चार तथा उड्डयन सहायक विभागका इन्जिनियर ताराकान्त शाह बुधबार स्थलगत निरीक्षणमा पुगेर केही मर्मत गर्ने हो भने नियमित उडान भर्न सकिने सुझाव दिएका थिए ।

तारा, नेपाल एयरलाइन्सहित नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि तीनै पक्षले उडान भर्ने जनाएका छन् । ‘तारा एयरलाइन्सले १ दिन र नेपाल एयरलाइन्सले १ दिन गरी अहिलेलाई हप्ताको दुई दिन बलेवादेखि काठमाडौं उडान गर्नेछन्’ मेयर पौडेलले भने ।

प्रातिनिधि सभा सदस्य डा. सूर्य पाठकले बलेवा विमानस्थलमा व्यावसायिक उडान निरन्तर चल्ने र यसले बागलुङका पर्यटकीय क्षेत्र तथा मुस्ताङसम्म पुग्न सहयोग प्रदान गर्ने बताए ।

बन्द विमानस्थल सञ्चालन गर्न थुप्रै पटक पहल भए पनि बलेवाको मैदानमा जहाज उड्न सकेको थिएन । अहिले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि फेरि विमानस्थलमा जहाज उड्ने भएपछि स्थानीय खुसी भएका छन् ।

बलेवा विमानस्थल पहाडी उडानका लागि महत्वपूर्ण गन्तव्य मानिएको छ । यही विमानस्थल हुँदै बागलुङ कालिका, ढोरपाटन, म्याग्दी, मुस्ताङ र पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीसमेत पुग्न सकिने भएकाले आन्तरिक तथा बाहृय पर्यटकलाई सहयोगी बन्ने मेयर जनकको भनाइ छ ।

बलेवा विमानस्थलबाट पोखरा, भैरहवा, काठमाडौं र जोमसोम लगायतका सहरमा जहाजले उडान भर्थे । जहाडले उडान बन्द गरेपछि युवाको खेलमैदान र गौचरण बन्दै आएको थियो, बलेवा विमानस्थल ।

बागलुङको ऐतिहासिक चैते दसैं मेलालाई नै लक्षित गरी यो विमानस्थल सञ्चालनमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment