Comments Add Comment

यसकारण लाग्नसक्छ सुत्दासुत्दै झट्का !

कतिजनालाई सुतिरहेका समयमा अचानक झट्का महसुस हुन्छ । कसैलाई गहिरो निद्रामा सुतिरहेका बेला अचानक झट्का महसुस हुने गर्छ । त्यतिमात्र होइन, कतिपयलाई त झट्काकै कारण सुतिरहेको बेलामै पनि तल झरेजस्तो समेत महसुस हुन्छ ।

आखिर किन यस्तो हुन्छ ?

चिकित्सकीय भाषामा यस्तो अवस्थालाई हाइपनिक जर्क पनि भनिन्छ ।  हाइपनिक जर्क न त कुनै शारीरिक समस्या हो, न त कुनै नसासम्बन्धी रोग नै हो । यो त मांसपेशीले दिने झट्का वा शरीरको झट्का मात्र हो, जुन गहिरो निद्रा परेको केही समयपछि मात्र शरीरले महसुस गर्छ । यसलाई मायोक्लोनिक जर्क पनि भन्ने गरिन्छ ।

संसारका झण्डै ७० प्रतिशत मानिसले यस्तो झट्का महसुस गरिरहेका हुन्छन् ।  यसको मतलब के पनि हो भने मानिसहरू न त पूरै सुतेका हुन्छन्, न त पूरै उठेका नै हुन्छन् ।

कतिपयलाई भने डर, त्रास, अनिद्रा तथा निद्रा सम्बन्धी अन्य समस्याका कारण पनि यस्तो हुने गर्छ ।

यस्तो कुरा केही समयका लागि मात्र महसुस हुने गर्छ त्यसैले यसकै कारण मानिसको मृत्यु भने हुँदैन । त्यसैले त, यस्तो समस्या हुने व्यक्तिहरूले खासै गम्भीर समस्या भएको  महसुस गर्दैनन् ।

यस्तो समस्या बारम्बार दोहोरिरहेको खण्डमा भने मानिसलाई अवश्य पनि एन्जाइटीको समस्या हुनसक्छ । साथै यसले निद्रा समेत बिगार्नसक्ने हँुदा जो कोही पनि यस्ता कुराबाट टाढै रहन चाहन्छन्  ।

सुत्दा झट्का महसुस हुने कारण

क्याफिनको बढी प्रयोग

तनाव वा सुत्नुअघि मदिरा तथा क्याफिनको सेवनका कारण पनि बारम्बार यस्तो झट्का महसुस हुने गर्छ । यद्यपि यसको वैज्ञानिक पुष्टि भने भएको देखिँदैन ।

आइरनको कमी

साँझको समयमा धेरै एक्सरसाइज गर्दा तथा क्याल्सियम, म्याग्नेसियम एवं आइरनको कमी हुँदा यस्तो झट्का बारम्बार महसुस हुने गर्छ ।

निद्राको कमी

जब हामी सुत्ने कोसिस गर्छौं तब हाम्रो मस्तिष्क अर्धचेत अवस्थामा रहने गर्छ ।  यस्तो अवस्थामा मस्तिष्कको आधा भाग सकि्रय रहन्छ । त्यसबाहेक सुत्दा नमिलेमा वा अप्ठ्यारो गरी सुतेमा समेत यस्तो झट्का महसुस हुने गर्छ ।

उत्तेजित पार्ने तत्व

नसालाई उत्तेजित पार्ने औषधीका कारण वा चिकित्सकको सल्लाहविना सेवन गरिएका विभिन्न औषधीहरूको प्रयोगले पनि हाइपनिक जर्क हुनसक्छ ।

मांसपेशीको ऐँठन

कतिपय अवस्थामा मांसेपेशीमा हुने ऐँठनका कारण पनि हाइपनिक जर्क हुने गर्छ । विशेषगरी, मांसपेशीमा ऐँठन भएमा शरीरमा घर्षण पैदा हुन्छ, जसका कारण मांसपेशीबाट आवाज निस्कन्छ र शरीरले झट्का महसुस गर्छ ।

निद्रा र अनिद्राबीचको अवस्था

सामान्यतया सुतिरहँदा हाम्रो मस्तिक निद्रा  र अनिद्राको बीचको स्थितिमा रहने गर्छ । यो यस्तो स्थिति हो, जसमा मस्तिकले गहिरो निद्रा लिने भरपूर कोसिस गरिरहेको हुन्छ । यो मस्तिष्कको संक्रमण काल पनि भएकाले यही अवस्थाका कारण शरीरले बारम्बार झट्का महसुस गर्छ ।

यसबाट बच्न के गर्ने ?

गहिरो निद्रा लिने

गहिरो निद्राका लागि तन र मन स्वस्थ राख्न जरुरी छ । त्यसको लागि दिनमा कम्तीमा आठ घण्टाको गहिरो निद्रा लिनुपर्छ । साथै प्रत्येक दिन एकै समयमा उठ्ने बानी बसाल्नुपर्छ । यसकेा लागि शरीरलाई रिल्याक्स गर्न सकिन्छ । अन्य विभिन्न उपायका साथे तातो पानीले नुहाउँदा पनि शरीरले रिल्याक्स महसुस गर्छ ।

क्याफिनको सेवन कम गर्ने

सुत्नुअघि सोडा, कोला, कफीजस्ता पेय पदार्थ सेवन गर्नबाट बच्नुपर्छ । रातीको समयमा तनाव हुनबाट जोगिनु पर्छ ।

म्याग्नेसियम तथा क्याल्यिसमको सेवन गर्ने

शरीरका लागि म्याग्नेसियम तथा क्याल्सियम एकदमै जरुरी छ । रातीको समयमा गुलियो तथा नुनिलो खानेकुरा सेवन गर्नुको सट्टा हरिया सागपात तथा फलफुल प्रशस्त सेवन गर्नुपर्छ । विशेष गरी, दूध, दही केराजस्ता खानेकुरामा भरपूर मात्रा क्याल्सियम तथा म्याग्नेसियम पाइन्छ तसर्थ यिनको सेवन गर्नुपर्छ । साथै टुसा उमि्रएका गेडागुडी पनि सेवन गर्नुपर्छ ।

व्यायाम गर्ने

सकेसम्म हरेक बिहान व्यायाम गर्नुपर्छ । सुत्नुअघि सकेसम्म व्यायाम गर्नु हुँदैन । सुत्नुअघि व्यायाम गर्दा शरीर जुरुकजुरुक हुनुका साथै मांसपेशीमा तनाव उत्पन्न हुने गर्छ । फलस्वरूप शरीरमा झट्का महसुस हुने गर्छ ।

चिकित्सकहरू सुत्नुभन्दा कम्तीमा छ घण्टाअघिदेखि व्यायाम नगर्न सल्लाह दिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment