Comments Add Comment

कोटेश्वर र सुन्धारामा प्रहरीको स्वीप अप्रेशन, ४६ जना समातिए

११ चैत, काठमाडौं । काठमाडौं प्रहरी परिसरले कोटेश्वर र सुन्धारामा चलाएको ‘कार्डियन सर्च एण्ड स्वीप अप्रेशन’मा ४६ जना पक्राउ परेका छन् ।

शनिबार सुन्धारा र आइतबार कोटेश्वरमा चलाइएको अप्रेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार ती क्षेत्रका होटल, लज, सार्वजनिक क्षेत्र लगायतमा छापा मार्दा होटलमा बसेका जोडीदेखि लिएर टोले गुण्डासम्म पक्राउ परेका हुन् ।

सुन्धारामा भएको अप्रेशनका क्रममा कल छलीको इन्डोनेसियन चुरोट ठूलो परिणाममा समातिएको छ । भारतीय नागरिक राहजित अब्दुल रज्जाकको साथबाट डेढ लाख रुपैयाँ मूल्य बराबरको चुरोट बरामद गरिएको हो ।

उनको साथबाट ७ सय ३० पिस चुरोट बरामद भएको थियो । प्रहरी स्रोतका अनुसार बरामद गरिएको डेल्टा ओस्टर चुरोटको होलसेल विक्री हुँदै प्रति गोटा ७० रुपैयाँदेखि १६० रुपैयाँसम्म छ ।

सुन्धारास्थित होटल अञ्जलीबाट उनलाई पक्राउ गरिएको थियो । बयानका क्रममा उनले मुम्बई लानलाई चुरोट बोकेको बताएका छन्ु । थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

उता, कोटेश्वरबाट पक्राउ पर्नेमा ३ जना होटल सञ्चालक छन् । सफल होटलका भीमबहादुर सुनुवार, बनेपाली गेष्ट हाउसका बुद्ध लामा र सिन्धुपाल्चोक गेष्ट हाउसकी पोकिमा शेर्पा पक्राउ परेकी हुन् । प्रहरीले बा १४ च ६७९६ नम्बरको मोटरसाइकल र बा ४२ प ९५१० नम्बरको निजी कार समेत नियन्त्रणमा लिएको छ ।

साथै, १ सय ३० लिटर मदिरा पनि प्रहरीले बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment