Comments Add Comment

ओली सरकार राज्यसत्ता कब्जा गर्न अग्रसरः शेखर कोइराला

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ओली सरकार राज्यसत्ता कब्जा गर्न अग्रसर रहेको बताएका छन् । तर, अहिलेको कांग्रेस अधिनायकवादविरुद्ध लड्न नसक्ने उनले बताए ।

सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले केपी ओली सरकारका प्रारम्भिक क्रियाकलापले नै मुलुकमा अधिनायकवाद निम्त्याउने संकेत देखिएको बताएका हुन् । ‘न्यायपरिषदको सचिवले प्रधानन्यायधीशलाई बर्खास्त गर्नू अधिनायकवाद प्रवेशको पहिलो खूड्किलो हो’ उनले अघि भने, ‘ओली सरकारले अब बिस्तारै थाहा नपाउने तरिकाले मिडिया सेन्सरसिप लगाउँछ । त्यसपछि सूरक्षा निकाय कब्जा गर्छ ।’

उनले अघि भने, ‘काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर, अहिलेको यस्तो काग्रेंसले लड्न सक्दैन ।’
प्रचण्ड प्रधानमन्त्री भएपछि आफूले सभापतिलाई ‘पार्टी त कब्जा गर्नुभयो तर, देश कम्युनिष्टले कब्जा गर्छ’ भनेको स्मरण गरे ।

नेतृत्वले हार स्विकार गर्नुपर्छ

कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षको हैसियत समेत गुमाएका भन्दै उनले समानुपातिक र पपुलर भोटको आधारमा हामी हारेका छैनौं भन्नु लज्जास्पद भएको बताए । उनले भने, नेतृत्वले हार स्विकार गर्न सक्नुपर्छ । अनि मात्र सुधार सम्भव छ ।’

पार्टी सभापति शेरबहादुर देउवाले व्यक्तिवादी चरित्र, सत्ता र शक्तिलाई मात्रै सर्वेसर्वा मान्ने प्रवृति देखाएको उनको आरोप छ ।

सभापतिलाई स्थानीय चुनावपछि चितवन जानु भएको छ भन्ने प्रश्न गर्दै उनले कार्यकर्ताले एकपटक हसिँया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा । अब आउने निर्वाचनमा हामीले के मा भोट हाल्ने ? भन्न थालेको सुनाए ।

प्रहरी प्रमुखको नियुक्ति, महाअभियोग, राजदुत नियुक्तिमा आर्थिक चलखेल कांग्रेससलाई पराजयका लागि मद्दत गरेको उनले बताए । उनले भने अघि भने, ‘म आफ्नै कारणले हारेको हो । आफू हारेकोमा मलाई केही चिन्ता छैन । चिन्ता पार्टी हारेकोमा छ । मेरो चिन्ता निरुत्साहित कार्यकर्तालाई कसरी उत्साह भर्ने भन्नेमा छ ।’

एक वर्षभित्र महाधिवेशन

कोइरालाले अब के गर्ने भन्ने ६ बुँदे रोडम्याप प्रस्तुत गरेका छन् । २०७५ चैत्र वा २०७६ बैशाखभित्र १४ औं महाधिवेशन गर्नु पर्ने उनको माग छ ।

त्यसअघि पदाधिकारी थप्न नहुने उनले बताए । उनले भनेका छन्, २ महिनामा गर्ने काम २ वर्षसम्म पनि गर्न सक्नुभएको छैन । अब पदाधिकारीको मनोनयन र विभाग गठनको कुनै अर्थ छैन । अब यसलाई मानिँदैन ।’

संघीय र प्रादेशिक संरचना अनुसार पार्टीको विधान संशोधन गर्नु पर्ने भन्दै उनले त्यसका लागि समिति गठन गर्न माग गरेका छन् ।

विगतमा अवसर पाउन कम्तिमा कांग्रेस हुनु पर्ने भएपनि भन्दै उनले सम्बोधनको अन्त्यमा सभापति देउवालाई प्रश्न गरेका छन्, ‘अहिले तपाईँको पालामा अवसर लिन कांग्रेस नभएपनि हुने रहेछ । केवल गूट र व्यक्ति निकट भए हुने रहेछ भन्ने कुरा दुरदराजका कार्याकर्ता माझ फैलिएको छ । यसमा के भन्नुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment