Comments Add Comment

काठमाडौंमा भाइरल संक्रमण, सचेत रहन चिकित्सकको अनुरोध

मौसम परिवर्तसँगै काठमाडौमा भाइरलका बिरामीको संख्या बढ्दो क्रममा छ । भाइरल संक्रमणकै कारण काठमाडांैमा दैनिक ३० देखि ४० जना बिरामीहरू अस्पताल पुग्ने गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिजर्ट युनिटका संयोजक डा. शेर बहादुर पुनले जानकारी दिए ।

डा. पुनका अनुसार ती बिरामीहरूमा रुघाखोकी तथा ज्वरो आउने, टाउको दुख्ने, खोक्दाखोक्दै छाती दुख्ने, घाँटी दुख्ने, पेट दुख्ने तथा कसैकसैमा पखाला लाग्ने लगायतका लक्षण देखा पर्ने गरेको छ । यस्ता लक्षण देखिनेमध्ये एक जना बिरामी करिब दुई हप्ताअघि इन्फ्लुएन्जा बी नामक भाइरल संक्रमणका कारण अस्पताल भर्ना भएका थिए ।

‘जाडो याम सकिने र गर्मी हुने समयमा भाइरलको संक्रमणका बिरामीको संख्या बढ्ने गरेको छ । त्यसमा पनि इन्फ्लुएन्जा ए र बीबाट संक्रमित हुनेको संख्या गत वर्षको तुलनामा बढी छ’, डा.पुनले अनलाइनखबरसित भने ।

मौसमको बदली तथा यो समयमा मानिसको चहलपहल धेरै हुने भएकोले पनि विशेष गरी चैत-वैशाख महिनामा भाइरल संक्रमित हुनेको संख्या अन्य समयको तुलनामा अधिक हुने गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताका कन्सल्टेन्ट फिजिसियन डा. अनुप बास्तोलाले बताए ।

एन्टेरिक फिभर भनेर समेत चिनिने यस किसिमको भाइरलको संक्रमण विशेषगरी फोहोर पानीको सेवनका कारण हुने भएकाले यस समयमा मलमूत्र मिसिएको फोहर पानी पिउनबाट बच्नुपर्ने उनले बताए ।

‘यस समयमा इन्फ्लुएन्जा लाइक इलनेसको संक्रमण पनि धेरै हुने भएकोले यो समयमा यस्ता संक्रमणबाट बच्नु पानी उमालेर मात्र सेवन गर्ने, साबुन पानीले राम्ररी हात धुने तथा बासी तथा सडेगलेको खानेकुरा खानु हुँदैन ।’

त्यस्तै, बाहिर हिँड्दा मास्कको प्रयोग गर्ने, काम नपरी सार्वजनिक स्थानमा नजाने, शंकास्पद व्यक्तिभन्दा एक, दुई मिटर टाढा बस्ने, संक्रमित व्यक्तिलाई आराम गर्न लगाउने, बाफ लिने, प्रशस्त मात्रामा झोलिलो पदार्थ सेवन गर्ने तथा इन्फ्लुएन्जा विरुद्धको खोप लगाउने गर्नुपर्छ ।

यति गरे मात्र पनि यस किसिमका भाइरल संक्रमणबाट बच्न सकिने चिकित्सकहरूको सुझाव छ ।


चिकित्सकहरूका अनुसार यस्ता संक्रमण सामान्यतया एक हप्तादेखि दश दिनभित्रमा निको हुन्छ । कसैकसैलाई यस्तो समस्या लामो समयसम्म रहिरहन्छ ।

एक हप्ताभन्दा बढी समयसम्म पनि यस्तो लक्षण देखा परिरहेमा तुरुन्त चिकित्सका लैजान वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. केदार सेन्चुरी सुझाव दिने गर्छन् ।

सेन्चुरी भन्छन्, ‘विशेषगरी फेबुअ्ररीदेखि अपि्रलसम्म देखा पर्ने भाइरल संक्रमणको समस्या मौसममा आएको परिवर्तनका कारण यो समयमा धेरै हुने गरेको छ । यसबाट जोगिन विशेष सजगता अपनाउनु आवश्यक छ ।’

भाइरल संक्रमण पनि सामान्य तथा कडा खालको हुनसक्ने बताउँदै सेन्चुरी कडा किसिमको भाइरल सक्रमण भए तुरुन्त चिकित्सककहाँ जान सल्लाह दिने गर्छन् । उनी भन्छन्, सामान्य किसिमको भाइरल संक्रमणमा सामान्य रुघाखोकी लाग्ने, ज्वरो आउने गर्दछ । जब कि कडा किसिमको भाइरल संक्रमण भए कडा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, निमोनिया, ब्रोन्काइटिस आदि सक्रमण हुन्छ । अझ कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूलाई भाइरल संक्रमणकै कारण जीउ दुख्ने, कमजोरी महसुस हुने, छाती दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण समेत देखा पर्छ । कसैकसैलाई यस्ता समस्याकै कारण स्वासप्रश्वास सम्बन्धी दीर्घकालीन समस्या हुने समेत उनले बताए ।

यस्ता संक्रमण भएका वयस्कहरूलाई तातो पानी तथा झोलिलो पदार्थको सेवन तथा सामान्य उपचारद्वारा पनि रोग निको पार्न सकिने भए पनि बालबालिका तथा उमेर पुगेका मानिसहरूलाई भने चिकित्सकको सल्लाह अनुसार नै औषधि सेवन गराउनु पर्ने उनले बताए ।

‘अहिले हामीकहाँ देखिएको मुख्य समस्या भनेकै घरमा एकजनालाई यो समस्या भए परिवारका अन्य सदस्यलाई पनि समस्या हुने गरेको छ । जब कि हामीले यहाँ बुझ्नु पर्ने कुरा भनेको के हो भने जुन घरमा बच्चाहरू धेरै छन्, उनीहरूको सम्पर्कबाटै यस्तो संक्रमण अरूलाई पनि हुने गरेको पाइएको छ । त्यसैले परिवारका कुनै सदस्यमा यस्तो समस्या देखिए उनीहरूलाई कम्तीमा एक हप्तादेखि दश दिनसम्म टाढै राखेर उपचार गर्नुपर्छ । साथै उनीहरूले प्रयोग गर्ने सामानबाट समेत सकेसम्म टाढै रहनु पर्दछ,’ डा. पुनले भने ।

भाइरल संक्रमणले कमजोर रोग प्रतिरक्षाका कारण दीर्घरोगी, बालबालिका तथा वृद्धवृद्धालाई सबैभन्दा धेरै असर पार्ने हुँदा त्यसतर्फ सचेत रहन डा. पुनले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment