+
+
Shares

नेदरल्यान्ड्समा भेटिएकी मार्ग्रिट ‘सुन्तला पानी’ भन्दै गीत सुनाउँदा…

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७४ चैत १४ गते २३:४४
विबो सेन्डर्स (ढाका टोपी लाएका) आफ्नो जन्म दिनका अवसरमा आफू बसेको परिवारसँग फोटो खिचाउँदै ।

तिमी कुन देशबाट आएका हौ ?

संसारका कुनै पनि कुनामा पुग्दा बढी सोधिने प्रश्न सायद् यही नै हो । कुनै उपलब्धि नहुने गरी एउटै प्रश्नको उत्तर बारम्बार दोहोर्‍याउन मजा नहुन सक्छ । सुरुमा मलाई पनि यी महिलाको प्रश्नको जवाफ दिने मन भएन ।

तर विनम्र शैलीमा एउटी अधबैसे स्थानीयले सोधेको प्रश्नको बेवास्ता गर्नु हामी परदेशीका लागि भद्र हुँदैनथ्यो । उनकै शब्दलाई उद्धरण गर्दा उनले ‘हराउन आँटेका यात्रुहरूको समूह’लाई सहयोग गर्न खोजेकी थिइन् ।

त्यसैले हामी सबैले आ-आफ्नो देशको नाम बतायौँ ।

‘ओहो, नेपाल… म पनि नेपाल गएकी छु नि… तर उहिल्यै !’

फेरि झ्याउलाग्दो कुरा गरिन् यिनले । शताब्दीयौँदेखि पश्चिमाहरूका लागि नेपाल आकर्षक पर्यटकीय गन्तव्य रहेको कुरा मलाई पहिल्यै थाहा छ त !

तर उत्रेख्तमा भेटिएकी यी महिलासँग १० मिनेट मात्र बिताउँदा मैले थाहा पाएँ कि बिगत तिन हप्ता नेदरल्यान्ड्समा बस्दा बिनाअर्थ हामीलाई हाम्रा देशका नाम सोध्ने अन्य अपरिचितभन्दा यिनी फरक रहिछिन् ।

चाखलाग्दी पात्र

गत चैत्र ४ गते, आइतबार । दिउँसो तिन र चार बजेबीचको घटना होला सायद । विभिन्न देशबाट भेला भएका युवा पत्रकारको एउटा समूह नेदरल्यान्ड्सको रोटरडामबाट हिल्बरसम फर्कने क्रममा, उत्रेख्तमा एउटा रेलबाट झरेर अर्को रेलको प्रतीक्षामा थियो । यी महिला पनि त्यही रेलको प्रतीक्षामा रहिछिन् ।

रेल आयो । हामी चढ्यौँ । साथीहरू खाली सिट खोजेर बसे । म चाँहि उभिन बाध्य भएँ – बुढी आमै मसँग बोलेको बोल्यै भइन् र नजिकै कतै दुई सिट खाली देखिएनन् ।

‘तिमीलाई थाहा छ मलाई त्यो बेला सुनेका कतिपय नेपाली गीत अझै याद छन् नि’ अब चाँहि यी महिला आफ्नो क्षमताभन्दा बढी नै धाक देखाउँदै छिन् भन्ने मलाई लाग्यो । ‘लौ त्यसो भए सुनाउनू न त मलाई एउटा गीत’, मैले पनि चुनौतीकै भाषामा भनिदिएँ । म ढुक्क थिएँ कि यिनले ‘ओहो, अहिले चाँहि ठ्याक्कै बिर्सिएँ’ भन्नेछिन् ।

तर मेरो आत्मविश्वास केही सेकेन्डभन्दा बढी टिकेन जब उनले साँच्चै नै भाका हालिन् :

सुन्तला पानी … सुन्तला पानी
नखाऊँ भने दुबैको ज्यान जानी
नरोऊ मायालु…

अब रुने कि हाँस्ने आपत त मलाई पो पर्‍यो त !

त्यसपछि बल्ल मैले मानेँ कि मार्ग्रिट मार्करिङ्क एउटी अचम्मकी मान्छे हुन् । आजभन्दा करिब ३४ वर्ष अगाडि पहिलो र अन्तिम पटक नेपाल भ्रमण गरेकी उनी आज एउटा नेपालीलाई भेट्दा त्यति बेला आफूले सुनेका गीत भाका हालेर सुनाउँदै छिन् त !

मलाई उनको स्मरण क्षमताले साँच्चै नै प्रभावित पार्‍यो र थप कुरा गर्न मन लाग्यो । तर, उनको झर्ने स्टेसन आइसकेको थियो । त्यसैले मैले अनौपचारिक गफगाफ गर्न आगामी हप्तातिर भेटौँ न त भनेर प्रस्ताव गरेँ ।

उनले सहजै स्वीकार गरिन् र आ-आफ्ना सम्पर्क ठेगाना साटासाट गर्‍यौं ।

संवत् २०४१/४२ तिर सगरमाथा क्षेत्र भ्रमणका क्रममा चौरी गाईलाई भेटेपछि मार्ग्रिट मार्करिङ्क ।

बढ्दो उत्सुकता

विभिन्न चरणमा इमेल र हृवाट्सएप मार्फत् कुराकानी गरेपछि हामीले शुक्रबार, चैत्र ९ गने, साँझ सबा छ बजे सोही स्टेसनमा भेट्ने, अनि कतै एकान्तमा गएर गफ गर्ने निधो गर्‍यौं । रेलको समय तालिका हेरेर म साँझ साढे पाँचको रेल चढ्न तयार भएर निस्किएँ । स्टेसन पुगेपछि थाहा भयो कि मेरो कार्डमा त्यहाँसम्म पुग्न चाहिने पैसा नै रहेनछ । त्यसैले हतारमै अर्को स्टेसनसम्मको बस चढेर कार्ड रिचार्ज गरेर त्यहाँ पुगेँ । ढिला भइन्छ कि भन्ने चिन्ता थियो । धन्न समयले साथ दियो र म उनीभन्दा पहिल्यै त्यहाँ पुगेँ ।

एक दुई जनालाई सोधेपछि उनले भनेकै ठाउँमा पुगेर “म आइपुगेँ” भनी खबर गर्न खोज्दै थिएँ, एक जना गोरे आएर मेरो देब्रे हात पक्डिए ।

‘तिमी नेपालबाट आएका हौ ?’ उनले सोध्नेबित्तिकै मैले बुझिहालेँ कि यी मान्छे मार्ग्रिटका श्रीमान् रहेछन् ।

उनले नाम पनि बताए : विबो सेन्डर्स ।

विबोले मलाई खोज्ने सिलसिलामा अर्को नेपाली मुहारलाई भेटेछन् र ‘पत्रकार हौ’ भनेर सोध्दा झापाली भाइ दङ्ग परेछन् । विबोले मलाई पनि नेदरल्यान्ड्समा कृषि अनुसन्धान पढिरहेका ती नेपालीलाई भेटाए ।

हामी तिनै जना मज्जाले हाँस्यौँ ।

बिहानकै सल्लाह अनुसार मार्ग्रिट र विबोले हाम्रो भेटघाटका लागि एउटा भारतीय रेस्टुरेन्टको टेबल बुक गरेका रहेछन् । ‘त्यहाँ अलिक शान्त हुन्छ । मज्जाले कुराकानी गर्न पाइन्छ’ भनेकी थिइन् । तर, युरोपेली सहरको शुक्रबारे साँझ कतै पनि त्यस्तो शान्त नहुने रहेछ भनेर मलाई बुझ्न खासै समय लागेन ।

पौने आठ बजे अन्तै जानुपर्ने कार्य भार लिएर आएकी मार्ग्रिट हतारमा थिइन् । ‘मलाई अरू नेपाली शब्द पनि आउँछन् नि : तपाईँको नाम के हो ?’ बस्नेबित्तिकै उनले सुनाउन थालिहालिन् । श्रीमान्ले चाँहि यसलाई प्रश्नका रूपमा लिई उत्तर दिन थाले, ‘मेरो नाम विबो हो । मेरो घर नेदरल्यान्ड्स हो । म जिसस धर्म मान्छु ।’

मैले फेरि गीतकै कुरा निकालेँ । बुढाबुढी मिलेर मलाई थप दुईटा नेपाली गीतका सुरुवाती हरफ सुनाए, भाका हालेरै :

असारे महिनामा, अनि भन्ज्याङ् काटेर नजाऊ ।

ए बाबा, यिनीहरूले किन सम्झँदा रहेछन् त्यति पुराना नेपाली गीत । अब भने म त्यो सबै खोतल्ने पक्षमा थिएँ ।

पुराना ती दिन

सन् १९८० (संवत् २०३६/३७)मा एकअर्काबीच चिनजान हुँदा विबो २२ र मार्ग्रिट २० वर्षका थिए । विबोले १६ वर्षको उमेरदेखि नै नर्सको काम गर्न थालेका थिए भने मार्ग्रिट सङ्गीत पढ्दै थिइन् ।

नयाँनयाँ ठाउँ घुम्न रुचाउने विबो एक पटक अफ्रिका पनि पुगिसकेका थिए । मार्ग्रिटको पनि घुम्नमा रुचि त थियो, तर त्यति बेलासम्म युरोपबाट निस्किने मौका पाएकी थिइनन् ।

भक्तपुरको एउटा मन्दिर अगाडि मार्ग्रिट मार्करिङ्क र विबो सेन्डर्स

कमाएको पैसा बचाएर अलिकति धेरै हुनेबित्तिकै विबो घुम्न निस्किन्थे । यसपटक उनले मार्ग्रिटलाई पनि सँगै जाऊँ न भनेर प्रस्ताव गरे ।

मार्ग्रिटले नमान्ने कुरै थिएन । ‘त्यसैले सन् १९८४ (संवत् २०४१)को हिउँदमा हामी एक वर्षका लागि भनेर घुम्न निस्कियौँ’ विबोले यसो भन्दा श्रीमती थप्छिन्, ‘हामीलाई हिमालय श्रृङ्खलातिर जान मन थियो । त्यसैले हामी भारतको लदाख पुग्यौँ ।’

‘छिट्टै घर फर्किनु नपरोस् भन्ने हेतुले हामीले सकेसम्म टाढाको गन्तव्य छानेका थियौँ । कथंकदाचिद् फर्किन मन लाग्यो भने नि धेरै पैसा लाग्छ भनेर रोकिन सकियोस् न’, बुढा आफ्नो बठ्याइ देखाउँछन् ।

एक महिना लदाख बस्दा उनीहरूले बुझे कि हिमाली क्षेत्रको भ्रमणका लागि त भारतभन्दा नेपाल पो उपयुक्त रहेछ । त्यसैले उनीहरू नेपाल आई करिब सात महिना डुले । वर्षको बाँकी चार महिना फेरि भारततिर बरालिएर यिनीहरू अर्को वर्षको उही महिनामा घर फर्किए ।

विबोको दाबी छ कि उनीहरू अझ धेरै नेपाल बस्न चाहान्थे । ‘तर त्यति बेला नेपालमा पर्यटन प्रवेशाज्ञा (भिसा) तीन महिनाका लागि मात्र पाइन्थ्यो र यसलाई नवीकरण गर्न पर्‍यो भने एक पटक देश छाडेर फेरि पस्नुपथ्यो’ उनी बताउँछन्, ‘यसैका लागि मात्र पनि हामी बीचमा दुई पल्ट भारत आएका थियौँ ।’

सम्झना बिर्सना सलललल

उनीहरूलाई आफूले घुमेका नेपालका ठाउँका नाम मात्र याद छैनन्, ती ठाउँ मुख्यमुख्य सहरबाट कति टाढा र कुन दिशामा छन् भनेर समेत बताउन सक्छन् ।

‘मलाई सबभन्दा मन परेको त गोसाइँकुण्ड नै हो’ मार्ग्रिट भन्छिन्, ‘काठमाडौँका दुई युवालाई साथ लिएर हामी गोसाइँकुण्ड गएका थियौं । गन्तव्य पुग्नै लाग्दा रात परेकाले हामी एउटा खाली घरमा बस्न गयौँ । एक छिनपछि त्यहाँ केही स्थानीय आएर यहाँ त भूतले तर्साउँछ भन्न थाले ।’

यत्तिकैमा श्रीमान् थप्छन्, ‘हामीसँग आएका दुई युवा भूत भगाउन भनेर प्रार्थना गर्न थाले । उनीहरूले हामीलाई पनि आफ्नै भाषामा आफ्ना भगवान्लाई सम्झन भने । हामीले उनीहरूको कुरा नकार्न सक्ने अवस्था थिएन ।’

विबोले सबभन्दा धेरै सम्झने घटना भने मुस्ताङ्को झार्कोट गाउँको हो । पद यात्राका सिलसिलामा खुट्टा भाँच्चिएर अलपत्र परेकी एक अमेरिकी महिलालाई आफूले दुई नेपाली परिचालन गरेर बचाएको अनि पछि उनले अमेरिका गएर धन्यवाद भन्दै चिठी लेखेको उनलाई याद छ ।

यस बाहेक उनीहरू सगरमाथा आधार सिविर, नाम्चे, हेलम्बु, काठमाडौँ उपत्यका, पोखरा, मुक्तिनाथ तथा थोराङ्लापास लगायतका उपल्लो मुस्ताङ्का क्षेत्र, अनि हुम्ला गएका छन् । नेपाल यात्राको करिब सम्पूर्ण अवधिभरि उनीहरूलाई टुक्चे भन्ने एउटा कुकुरले साथ दिएको थियो । केही तिब्बती शरणार्थीले आफूलाई त्यो कुकुर उपहार दिएको तर पछि भारतमा चितुवाले उक्त कुकुर खाइदिएको मार्ग्रिटको भनाइ छ ।

‘मेरा लागि त सम्पूर्ण यात्राको सबभन्दा दुखद् घटना त्यही हो’ उनी बताउँछिन् ।

सङ्गीतकी विद्यार्थी भएका कारण मार्ग्रिटलाई गीतहरूमा विशेष चासो थियो । अझ विशेष चासो ‘सुन्तला पानी’ मै ।

नेपाल आउन्जेल यो जोडीको बिहे भएको थिएन । नेदरल्यान्ड्स फर्किएपछि उनीहरू एकअर्काको प्रेममा परे । करिब पाँच वर्षपछि छोरो जन्माएपछि बल्ल बिहे गरे । त्यसपछिको अर्को वर्ष अर्को छोरो पनि जन्मियो ।

पाँच वर्ष बित्दा पनि मार्ग्रिटले ‘सुन्तला पानी’ बिर्सिन सकिनन् । उनले त्यही भाका मिलाएर आफ्नै भाषामा एउटा गीत बनाइन् । आफ्नो गीतमा उनले ‘सुन्तला पानी’ धेरै सुन्तला फल्ने, विश्वको अग्लो हिमाल नजिकैको एउटा टाढाको गाउँको गीत भएको भनेर अर्थ लगाएकी छिन् । साना छोराहरूलाई नेपालबारे सिकाउन आफूले यो गीत रचेको उनको दाबी छ ।

नेपाल भ्रमणलाई सम्झन विबोको अर्को तर्क छ । ‘हालसम्म बाँचेको जिन्दगीमा हामी आपसमा सबभन्दा नजिक भएको समय त्यही नै हो । फर्किएपछि आआफ्नै जिन्दगीमा व्यस्त भयौँ । बिहेपछि पनि जिम्मेवारी थपिए । आफ्ना लागि समय नै कहाँ रहृयो र ?’ उनी भन्छन्, ‘यदि हामी त्यो भ्रमणमा नगएको भए हाम्रो बिहे हुन्थ्यो वा हुन्नथ्यो म भन्न सक्दिनँ ।’

स्थगनपछिको स्थगन

गत हप्ता एक रेस्टुरेन्टमा मार्ग्रिट र विबो ।

यो दम्पतीको फेरि पनि नेपाल घुम्ने चाहना मात्र नभएको होइन, एकदुई चोटि प्रयास पनि गरिसकेका छन् । तर हालसम्म यो पूरा हुन पाएको छैन ।

सुरुमा मार्ग्रिटको स्वास्थ्यले साथ दिएन । नेपाल र भारतको भ्रमण सकिन लाग्दा उनी एकदमै ख्याउटे र कमजोर भइन् । आफ्नो गुमेको तौल र सामथ्र्य फर्काउन उनलाई पाँच वर्ष लाग्यो ।

‘अलि पछि बच्चा भए । बच्चाहरू हुर्किएपछि नेपालबारे राम्रो सुन्न छाडियो । कम्युनिस्टहरू युद्ध गर्दैछन् रे । अलि पछि सुनियो कि लागू पदार्थको दुर्व्यसनमा फसेर मानसिक सन्तुलन गुमाएका राजपरिवारका एक सदस्यले राजा वीरेन्द्र र सबैको हत्या गरे’ सायद् विबोको दिमागमा आफूले नेपालबारे थाहा पाएका सबै कुरा रिल जसरी घुम्दै छन्, ‘म नेपालमा हुँदा एउटा मात्र अङ्ग्रेजी पत्रिका थियो र त्यसका हरेक अङ्कमा पहिलो पृष्ठमा राजाले यसो भने, उसो भने भन्ने खालका समाचार हुन्थे ।’

‘संसद्मा केही सिट दिएपछि माओवादीले युद्ध रोके रे । तर, फेरि पनि नेपाल जान सकिएको छैन’, उनको स्पष्टीकरण अलिक लामै छ ।

यसबीचमा श्रीमती उनलाई रोक्छिन्, ‘तर पनि नेपाल मलाई आफ्नै घरजस्तै लाग्छ । त्यहाँ बसुन्जेल हामीलाई हामी पर्यटक हौँ भन्ने महसुस नै भएन । नेपाली समाज नै हाम्रो जीवनको बाटो बनिसकेको थियो ।

काठमाडौँमा प्रदूषण बढ्दै गएको र संवत् २०७२को भूकम्पले यहाँका धेरै सम्पदामा क्षति पुगेको कुरा पनि यिनीहरूको जानकारीमा छ ।

विबोलाई विश्वास छ कि नेपालमा पुनर्निर्माण अभियानले गति लिएको छ । आशा छ कि यो देश पुनः उनीजस्ता पर्यटकका लागि आकर्षक गन्तव्य बनोस् । उता मार्ग्रिट भने अब फेरि छिट्टै कसरी नेपाल पुग्न सकिन्छ सोच्न थालिसकेकी छिन् । अब त बालबच्चा नि कामकाजी भइसके, विबोले पनि कामबाट अवकाश लिइसके, मार्ग्रिट विभिन्न काममा व्यस्त छिन्, तर दिनहुँ हाजिर गर्नुपर्ने खालको जागिर त छैन ।

‘म अचेल एक जना तिब्बती सङ्गीतकर्मीसँग काम गर्दै छु । हामी नेपालमा नि केही काम गर्न सकिन्छ कि भनेर सोच्दै छौं’ उनी बताउँछिन्, ‘सायद् हामीले आफ्ना पुराना सपना पूरा गर्न सकेनौँ होला । तर हामी नेपालबारे अझै राम्रा नयाँ सपना देख्न पनि त सक्छौँ नि ।’

विबो सही थप्छन्, ‘मलाई थाहा छ मैले नेपाल बिर्सिए पनि मेरो मनले कहिल्यै बिर्सिनेछैन ।

लेखक
दिवाकर प्याकुरेल

प्याकुरेल अनलाइनखबर अंग्रेजी संस्करणका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?