Comments Add Comment

सावधान ! यसकार बच्चाहरु मोटाउँदैछन्

आफ्ना बच्चा मोटोघाटो देख्दा अभिभावक दंग पर्छन् । बच्चाहरु कमजोर होलान् भनेर धेरैभन्दा धेरै खानेकुरा ख्वाउने गर्छन् । यसको प्रभाव अहिलको बच्चामा देख्न थालिएको छ । उनीहरु निकै मोटाघाटा हुने गर्छन् । कतिपय बच्चा त अस्वभाविक मोटा पनि ।

मोटो किन भइरहेको छ ?

अहिलेका बच्चाहरुलाई खानपानमा बढी जोड दिइन्छ । उनीहरुले बिहान उठेपछि राती सुत्ने बेलासम्म पटक पटक खानुपर्छ । त्यसबाहेक बजारका थरीथरीका खाना पनि उनीहरुको पेटमा पर्छ । चाउचाउ, चिजबल, चकलेट, मम, चाउमिन, पिज्जा, बर्गर जस्ता खानेकुरा खाइरहेकै हुन्छन् ।

जबकी उनीहरुले खाए अनुरुप शारीरिक श्रम गर्दैनन्/गर्नुपर्दैन । धेरै समय स्कुलमा विताउँछन् । घर फर्केपछि होमवर्कमा । त्यसपछि टेलिभिजनमा ।

अहिलेका बच्चाहरु धेरैजसो त घरभित्रै हुन्छन् । मोवाइल, ट्याब, ल्यापटपमा उनीहरु घन्टौ बिताइदिन्छन् । बाहिरी खेलहरु खेल्दैनन् । बाहिर खेल्नका लागि साथीहरु नहुने तथा नजिक खेल्नका लागि खुला स्थान नहुने समस्या पनि छ ।

धेरैजसो परिवारमा एकल बच्चा नै हुर्किरहेका छन् । उनीहरुको दाजुभाई, दिदीवहिनी वा आफ्नो उमेरका दौतरी छैनन् । यसले गर्दा पनि उनीहरु उपि|mने, खेल्ने जाँगर चलाउँदैनन् । शारीरिक रुपले निस्त्रिmय हुने तर आवश्यक्ताभन्दा बढी खाने भएकाले अहिलेका बच्चाहरु मोटाउँदै गएका छन् । अहिलेका बच्चाहरु मोटाउने कारण भनेको जंकफूड पनि हो ।

यो खुसीको कुरा हो र ?

कतिपय अभिभावक हुन्छन्, बच्चालाई मोटाघाटो देखिएमा खुसी हुन्छन् । उनीहरु ठान्छन्, मेरो बच्चा स्वस्थ्य भए । निरोगी भए ।

कुरा त्यसो होइन ।

मोटोपन आफैमा रोग हो । शरीरमा जम्ने अतिरिक्त बोसोले मोटोपन ल्याउँछ । मोटोपनले शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुर्‍याउँछ ।

मोटोपनको कारण अहिले बच्चाहरुमा मधुमेहको समस्या देखिएको छ । उनीहरु जति जति ठूलो हुँदै जान्छन्, उत्तिनै रोगले च्याप्दै जाने संभावना रहन्छ । डिप्रेसन, हृदयरोग, मृगौलाको समस्या हुने भय पनि रहन्छ ।

बच्चाको उमेर, उचाई अनुसार तौल निर्धारण हुन्छ । यदि यसको सन्तुलन नमिलेमा वा उचाई र उमेर अनुसार आवश्यकभन्दा बढी तौल भएमा मोटोपनले गाँजेको बुझ्नुपर्छ ।

अब के गर्ने त ?

आमाबुवाले बच्चाको खानपानमा ध्यान दिनुपर्छ । खासगरी घर बाहिरको खानामा नियन्त्रण गर्नुपर्छ । चाउचाउ, चिजबल, बर्गर, पिज्जा, मम, चाउमिन जस्ता खानेकुराको सेवन गर्नु दिनु हुँदैन । यदि उनीहरुले खान मन गरेमा घरमै बनाएर दिनु राम्रो हो ।

बच्चालाई तालिका मिलाएर खानेकुरा दिने गर्नुपर्छ । यसले उनको खानपान व्यवस्थित हुन्छ । खानपान व्यवस्थित भएमा त्यो पचाउन पनि सहज हुन्छ । सही समयमा सही किसिमको खानपानले मोटोपनको भय रहँदैन ।

टिभीमा कार्टुन हेर्दै स्न्याक्स खाने बानी हटाउनुपर्छ । लामो समय एकै स्थानमा बसेर खाइरहँदा उनीहरु ओभरडाइटिङका शिकार हुन्छन् ।

बच्चालाई शारीरिक रुपमा सक्रिय राख्नुपर्छ । एकै स्थानमा बसिरहने, पढिरहने, टिभी हेरिरहने बानी हटाउनुपर्छ । सकेसम्म घरबाहिरको खेलकुद गतिविधिमा सरिक एवं प्रेरित गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment