Comments Add Comment

सिक्किम मेमोरीः एक साहित्यिक यात्रा

  नयाँ म्यानेजरलाई तीनपटक भेटेर, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) का बारेमा र मेरो साहित्यप्रतिको रुचीका बारेमा सविस्तार ब्याख्या गरेपछि ९ दिनको बिदा पाएकी थिएँ । थुप्रै उत्साह लगेजमा पोको पारेर सिड्नीबाट हिँडे । तेश्रो अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन -२०१८ मार्च २४/२५) सिक्किममा सहभागी हुने दुईवटा कारण थिएः

१) दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन, अनेसास, एनएसडब्ल्यु अस्ट्रेलियाले सन् २०१६ को मार्चमा सिड्नीमा आयोजना गरेको थियो, त्यसको संयोजक भएको हैसियतमा तेश्रो सम्मेलनमा जानु मेरो दायित्व थियो ।

२) दोस्रो अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनमा अनेसास, सिक्किम च्याप्टरकी अध्यक्ष्य डा. पुष्प शर्मा, सिक्किमकै साहित्यकार डा. कविता लामा तथा दार्जीलिङकी वरिष्ठ साहित्यकार विन्दा सुब्बा तथा अनेसास सिलिगुढी च्याप्टरकी अध्यक्ष्य लतिका जोशीहरु सिड्नी आउँदा गहिरो आत्मीयता गाँसिएको थियो, त्यही प्रेमले म दौडिँदै सिक्किम पुगेकी थिएँ ।

बिहानै आमाले बनाएको खाजा खाएर इटहरीबाट आदरणीय साहित्यकार कुन्ता शर्मालाई पिकअप गर्दै बिर्तामोड पुगियो । करीब ८० जना साहित्यकारहरु बिर्तामोडमा खाजा खाँदै थिएँ । प्रिय कुन्ता शर्मा दिदीसँग धरानमा ब्याचलर पढ्दा राजनीतिक हिसाबमा गाँसिएको सामीप्य करीब १५ वर्षपछि साहित्यकारको पहिचानसहित भएको भलाकुशारी बिर्सिन नसकिने थियो ।

अल्याङ मल्याङ गर्दागर्दै काँकरभिट्टा त्यसपछि मेचीको पूल अनि पानी ट्यांकी हुँदै सिलिगुढी पुगियो । मेची पुलमा पुगेपछि मन अमिलियो, भारतले दिनदिनै सीमास्तम्भ सारिरहन्छ भनेर ।

हामीलाई गाइड गर्ने अनेसास केन्द्रका अध्यक्ष्य पदम विश्वकर्मा र बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली अर्को गाडीमा थिए । सिलिगुढी पुग्न लाग्दा सबैजना अल्मलिरहेका थियाैं । अध्यक्ष र उपाध्यक्षलाई पर्खिने कि अघि बढ्ने ? कोही पर्खिएर सँगै जाउँ भन्थे, कोही सिलिगुढी पुगेर सपिङ गराैं, खाना खाउँ, नपर्खिऔं भन्थे ।

जिपको अघिल्लो सिटमा बसेकी डा. रेणु सोलु दिदी बिर्तामोडको होटेलमा मच्छड आतंकबाट पीडित भएर रातभरि निदाउन पाइनँ भन्दै निदाइरहेकी थिइन् । गर्मी र भोक दुवैले दिक्क भएर बाहिर निस्केकी थिएँ, अर्को जिपमा ठूलो कालो चस्मा लगाएकी महिलाले हाँसेर भनिन्- तपाई सानु घिमिरे होइन ? म उमा सुबेदी ।

‘हाम्रोमा त नेताहरुलाई गुण्डाराजा भन्छन् । यहाँ त माइती राजा रे ! एस्तो भन्ने दिन नेपालमा कहिले आउँछ

उमा सुबेदीको ‘तोदा’ भन्ने उपन्यास खोजीखोजी पढेकी थिएँ, उनको अर्को आञ्चलिक उपन्यास ‘इति’ त आफैं किनेरै पढेकी थिएँ । म यिनको लेखाइको सिक्रेट फ्यान हुँ र यिनको उपन्यासको चर्चा हुँदा मैले कसरी बोल्ने गरेकी छु भन्ने कुरा यिनलाई थाहा थिएन । पि्रय उमा दिदीसँग यसरी भेट भयो ।

सिलिगुडीको दार्जीलिंग मोडमा बिना उद्देश्य गाडी रोकियो । अस्ट्रेलियाको सिम अन गरें, इन्टरनेट चल्यो । सिलिगुढी च्याप्टरकी अध्यक्ष लतिका दिदीलाई फेसबुकको म्यासेञ्जरमा फोन गरें, दार्जीलिङ मोडमा अलमल्ल परेका छौं भनें । पाँचै मिनेटमा दुईजना साथीहरु लतिका गुरुआमाले पठाको, एसएनटी जाउँ भन्दै आइपुगे । अटो समातेर धमाधम चढ्न थाल्यौं । पाँचजना नै जानुपर्छ भनेर अटोवाला जिद्दी गर्न थाल्यो । पछाडिको सिटमा रेणु दिदी, गीता दिदीसहित तीनजना बसे । तीनवटा सुटकेसले उनीहरुको अनुहार देखिएन । ड्राइभरको दुईतिर एक-एक बित्ताका दुईवटा सिटमा मेनुका लामा र म बस्यौं ।

‘सानु ! झर्लिउ, होस् गरेर बस है’ -पछाडिको सिटबाट दिदीहरु माया देखाइ रहन्थे ।

ड्राइभरसँग मेनुका दिदी र म बात मार्न थाल्यौं, सालबाडी हुँदै दार्जीलिङ जाने बाटोमा करीब ६ किलोमिटर पुगेपछि ड्राइभरले भन्यो -झुक्किएँछु ।

फेरि फर्काएर एसएनटी बसपार्क पुयाउँदा हामी हरायौं भनेर हाहाकार मच्चिएको रहेछ । सबैजना चिन्तित देखिन्थे । अनेसासले जोडिदिएको पारिवारिक माया भनेको यही हो, मलाइ थाहा छ । हामी हतार-हतार गाडीमा चढ्यौं । गाडी हिँडिहाल्यो ।

खाना खानु त परै जाओस् पानीसमेत किन्न पाइनँ ।

कसैले मलाई पानी दियो ।

झ्याल बाहिर सडकमा पेलेको उखु देख्दा मुख रसायो । एक गिलास उखुको रस खान पाए नि हुन्थ्यो । चानचुन पैसा थिएन । घुटुघुटु थुक निलिरहें ।

पछाडिको सिटमा हेर्दा खाइलाग्दी गम्भीर स्वभावकी दिदी हुनुहुन्थ्यो, परिचय गरियो – नदेखिकनै पि्रय बनेकी आदरणीय ‘श्रेष्ठ पि्रया पथ्थर’ हुनुहुँदोरहेछ ।

हाम्रो गाडीका साथीहरु सारै ‘बोरिङ’ थिए । एकजना देवकी दिदी देउडा गाउनुहुन्थ्यो, साथ दिने कोही थिएनन् एक छिनपछि बाटोमा ओर्लिएर सुसु गरिसकेपछि श्रेष्ठ पि्रया पथ्थर दिदीले देउडाको रमाइलो अन्तरा निकाल्नु भयो, खूब हाँसियो ।

करिब साढे तीनघण्टाको पहाडको घुर्मैर्लो बाटोमा गाडी हिँडेपछि सिक्किमको नाका ‘रम्फू’ मा गाडी रोकियो ।

दुईवटै गाडीबाट हामी ओर्लियाैं । सिक्किमका एकजना विधायकसहित अनेसास सिक्किमकी सदस्य कविता सुब्बाको टोलीले हामी सबैजनालाई अक्षताको टीका, खादा तथा रातो गुलाबको फूल दिएर स्वागत गर्‍यो । यहीँनेर दार्जीलिङमा रहनुहुने आदरणीय दिदी बरिष्ठ साहित्यकार बिन्ध्या सुब्बा र दार्जीलिङका साहित्यकारहरुसँग पनि भेट भयो । त्यहाँ हामीलाई चिया, बिस्कुट र स्याण्डवीचसहित छोटो स्वागत कार्यक्रम आयोजना गरियो ।

बिहान ५ बजे झुम्कामा खाएको दूध रोटीले मलाई छोडिसकेको थियो । सन्ध्या पहारी दिदीले मलाई कर गरीगरी स्याण्डवीच खुवाउँदै हुनुहुन्थ्यो । ‘सिक्किम फोर न्युज’ भन्ने टेलीभिजनले छोटो अन्तर्वार्ता त्यहीँ लियो ।

रम्फूबाट मैले गाडी चेञ्ज गरें । अनि ४० मिनेटसम्म खुब नाचियो । गीता दिदी, बाबा दिदी, सन्ध्या दिदी र रेणु दिदीहरु भएपछि के चाहियो ? ४० मिनेट ४ मिनेट मै गएजस्तो भयो ।

गाडीबाट ओर्लिएर अलिकति उकालो चढेपछि हामी बस्ने होस्टेलको ढोकैमा अनेसास सिक्किमकी अध्यक्ष्य डा पुष्प शर्मा दिदीसँग भेट भयो । उहाँसँग ‘हग’ गरेपछि सबै थकाइ दुर भयो । माया भन्ने चिज पनि कति अचम्मको हुन्छ ?

‘मायाले तिम्ले बोलाएपछि लाग्यो नि रहर
तिमीलाई भेट्न आएको हजुर सिक्किम शहर’

त्यसपछि कोठाको चाबी लिएर भर्‍याङ उक्लिँदै गर्दा अर्की पि्रय दिदी डा कविता लामासँग भेट भयो ।

हामी सबैजनालाई तातो भात खान मन थियो । तर, सिक्किमलाई हाम्रो स्वागत गर्न पुगेकै थिएन । सबैजनालाई ठूलो हलमा निम्त्याइयो ।

परिचय कार्यक्रमसहित सिक्किमको लोकल तोङबा र अदुवाको स्वादको वाइनसहित स्न्याक्स खान पाइयो ।

केही सांस्कृतिक कार्यक्रमसहित वेलकम कार्यक्रम सम्पन्न भयो ।

फर्किएर आएपछि तातो र मीठो खाना खान पाइयो । गुन्द्रुकको झोल, कोदाको ढिँडो, भात, छुर्पी हालेको निगुरोको सब्जी, रायोको साग, ठेट्नाको अचार, सिस्नुको सब्जी अनि माछा मासुहरु । नेपालीपन र नेपाली मनले सिक्किमले हामीलाई तताइदियो ।

भोलिपल्ट औपचारिक कार्यक्रम सञ्चालन भयो, सिक्किम विश्वविद्यालयको हलमा । सिक्किमका भीआइपीहरु, साहित्यप्रेमीहरु तथा हामी सबै प्रतिनिधिसहितको कार्यक्रमकी प्रमुख अतिथि सिक्किम राज्यकी पूर्वसभामुख तथा वर्तमान विधायक कलावती राई हुनुहुन्थ्यो । उहाँले सम्बोधन गर्दै सिक्किममा भएका महिला अधिकारसम्बन्धी नीतिनियमहरु गर्वसंग प्रस्तुत गर्दै भन्नुभयो, बाँकी कुरा भोलि माइती राजाले आएर भन्ने छ ।

माइती राजा अर्थात् दाजुभाइ अर्थात् सिक्किमका मुख्यमन्त्री पवन चामलिङ । नेपालबाट गएका सबै खाशखुश गर्न थाले ‘हाम्रोमा त नेताहरुलाई गुण्डाराजा भन्छन् । यहाँ त माइती राजा रे ! एस्तो भन्ने दिन नेपालमा कहिले आउँछ ?’

दुईवटा कार्यपत्र, दुईवटा प्यानल डिस्कसनपछि काव्य गोष्ठिसहित पहिलो दिनको कार्यक्रम सम्पन्न भयो । कविता लामा दिदी मोडरेटर भएको प्यानल डिस्कसनमा नेपाली साहित्यको विश्वव्यापीकरण विषयमा मैले पनि प्यानलिस्ट भएर आˆनो विचार राखें । साँझमा सिक्किमकै अर्का सांसदले गान्तोकको मुख्य सिटीसेन्टर एमजी रोडमा रहेको रिसोर्टमा दिएको रात्रीभोज अविस्मरणीय थियो ।

तेस्रो दिनको कार्यक्रमस्थलको ढोकैमा पञ्चे बाजाले स्वागत गरियो । सिक्किमका मौलिक सांस्कृतिक नृत्यहरु हेर्न पाइयो । चौंरीनृत्य बिर्सन नसकिने थियो । दार्जीलिङकी पवित्रा सुब्बाको संगीतसहितको कविता वाचनले नवराज पराजुलीको कविता कन्सर्टको याद दिलाइदियो ।

प्रमुख अतिथिका रुपमा रहेका सिक्किमका मुख्यमन्त्री पवन चामलिङको तीन घण्टा लामो उत्प्रेरणा जगाउने भाषण गज्जवको थियो । २५ वर्षभन्दा बढी लगातार मुख्यमन्त्री भएका चामलिङ आफैं साहित्यकार र समाज परिवर्तनकारी थिए । उनले सिक्किमलाई अर्ग्यानिक राज्य बनाएका छन् । उनी महिला अधिकारसम्बन्धी विशेष सचेत छन् ।

छोटो काव्य गोष्ठिपछि सिक्किम घोषणापत्र जाहेर गर्दै तेश्रो अन्तरर्राष्ट्रिय महिला साहित्य सम्मेलन सम्पन्न भयो ।

साँझमा सम्मेलन आयोजक समितीकी अध्यक्ष एवं सिक्किमकी मन्त्री तुलसीदेवी राईले सिक्किमको कोसेलीसहित सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिन् । आउटडोर सेटिंगमा सिक्किमका झिलिमिली डाँडाहरु हेर्दै, वाइन पिउंदै कवि गोष्ठि गर्दा अलौकिक आनन्द प्राप्त भयो ।

अर्को दिन सिक्किमको नाम्चीमा रहेको चारधाम घुमेर राति ११ः३० बजे मेची पुलमा ओर्लिएपछि हाम्रो सिक्किम यात्रा समापन भयो ।

पुस्तक प्रदर्शनीमा नेपाल, भारत तथा अन्य देशका प्रतिनिधिहरुबाट प्राप्त भएका सयाैं पुस्तकहरु, सिक्किम राज्यको न्यानो आतिथ्य, नेपाली भाषा र साहित्यमाथिको बहससहित मीठो स्मरण बोकेर सिक्किमबाट बिदा भइयो । सिक्किमेहरुको लबज ‘हौ’, ‘डल्लै’ जस्ता मीठा शब्दावलीहरु बोकेर म सिड्नी आइपुगेकी छु ।

(सिड्नी -अस्ट्रेलिया)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment