+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आमाको हातमा छ, परिवारको सुख र स्वास्थ्य

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १९ गते १२:३६

‘आमा’ यस्तो आदरार्थी शब्द हो, जसको उच्चाहरण गर्दा पनि हाम्रो हृदय पग्लिन्छ । आमा, जसलाई परिवारको मियो भन्न सकिन्छ । समग्र परिवार आमाकै सेरोफेरोमा घुम्छ ।

आमाप्रति परिवारको जति प्रेम हुन्छ, उत्तिनै अपेक्षा पनि । कुनै कुरामा खुसी भइयो भने त्यो आमालाई नै सुनाउन मन लाग्छ । कुनै पुरस्कार पाइयो भने, त्यो खुसी आमालाई नै बाढ्न मन लाग्छ । कुनै कुराले दुखी गरायो भने, त्यो दुख पनि आमालाई नै पोख्न मन लाग्छ । कुनै कुरामा चित्त बुझेन भने, त्यो कुरामा आमालाई नै घुर्काउन मन लाग्छ ।

आमाको प्रसंगमा लेखिएका यी पंक्तिहरुले पनि आमाको महत्वलाई दर्शाउँछ,

‘धर्ती भइ एकचोटी सहेर हेर, अरुले कुल्चेको

आगो भइ एकचोटी बलेर हेर, अरुले तापेको ..।’

आमा वास्तवमा धर्ती हुन्, जोसँग आफ्ना शाखा-सन्तानको पीडा, दुख, खुसी, गुनासो सबै कुरा ग्रहण गर्ने क्षमता हुन्छ । परिवारको न्यानोका लागि आमाले आफैलाई जलाउन सक्छिन् । परिवारको खुसीका लागि आमाले आफैलाई पगाल्न सक्छिन् ।

‘आमा’ एक विम्ब पनि हुन्, पारिवारिक सुखको । समग्र परिवार आमाकै फेरो समातेर रमाइरहेका हुन्छन् । हाँसिरहेका हुन्छन् ।

आमाको भूमिका

आमा, जो कसैको छोरी हुन सक्छिन् । कसैकी श्रीमति हुन सक्छिन् । कसैकी बुहारी हुन सक्छिन् । कसकी भाउजु हुन सक्छिन् । यी अनेक भूमिकाभित्र बाँच्नुपर्ने हुन्छ, आमाले । र, यी सबै भूमिकालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ ।

अक्सर हाम्रो पारिवारिक संरचना अनुसार घर-परिवार धान्ने जिम्मा आमाको हुन्छ । हुन त आधुनिक समाजमा लैंगिक समानताको कुराले पनि महत्व पाएको छ । पति-पत्नीको भूमिका, महत्व र स्थान सराबरी हुने तर्क छ । भलै कर्य-व्यवहारको हिसाबले लैंगिक समानताको कुरा सही मान्न सकिएला । तर, आमासँग परिवारको जुन किसिमको भावनात्मक अट्याचमेन्ट हुन्छ, त्यस हिसाबले आमाको जिम्मेवारी र भूमिका अलि बढी नै हुन्छ ।

परिवारलाई एउटा सूत्रमा बाँधेर राख्ने ताकत परिवारका अरु सदस्यसँग हुँदैन । किनभने, आमा भनेकी आस्था हुन् । आदर्श हुन् । विश्वास हुन् ।

त्यसैले समग्र परिवारलाई कसरी दिशानिर्देश गर्ने भन्ने कुरामा आमाले अहंम भूमिका निर्वाह गर्न सक्छिन् ।

पारिवारिक सुखका लागि आमा

परिवारलाई कसरी सुखी राख्ने भन्ने कुरा आमाकै हातमा हुन्छ । हुन त हरेक सन्तानलाई आमाले नियन्त्रण वा निर्देशन गर्न सक्छ भन्ने होइन । यद्यपी समग्र परिवारको लय वा तालमेल कसरी मिलाउने भन्ने कुरामा आमाले खास भूमिका खेल्न सक्छिन् ।

परिवारका सदस्यहरुलाई कसरी न्यायोचित ढंगले स्थान दिने, आपसी सम्बन्धलाई कसरी सन्तुलित राख्ने भन्ने कुरामा आमाको भूमिका रहन्छ । किनभने, पारिवारिक जीवनमा अनेक उतार-चढाव आउँछ । मनमुटाव हुन्छ । रिस-राग पैदा हुन्छ । यी मानविय गुण हुन् । स्वभाविक र सामान्य कुरा हुन् ।

तर, सानातिना असमझदारी, मनमुटावले परिवारिक संरचना विथोल्न सक्छ । आफु-आफुमा फाटो ल्याउन सक्छ । यस्तो अवस्था आउन नदिनका लागि आमा नै न्यायमूर्तिको भूमिकामा रहने गर्छिन्/रहनु पर्छ ।

पारिवारिक स्वास्थ्यका लागि आमा

समग्र परिवारको स्वास्थ्यमा आमाको खास भूमिका हुन्छ । त्यही आमा हुन्, जसले बाल्यकालमा तेलले मालिस गरेर हाम्रो मांसपेशी बलियो बनाइदिइन् । त्यही आमा हुन्, जसले पोषिलो खानेकुरा ख्वाएर हामीलाई पालन-पोषण गरिन् ।

कुनैपनि घर-परिवारको खान्कीमा आमाले नियन्त्रण र निर्देशन गर्न सक्छिन् । आफ्नो भान्समा के पकाउने, कसरी पकाउने भन्ने कुरा आमाकै हातमा हुन्छ । रोग-कष्टमा कस्तो निदान खोज्ने भन्ने कुरामा पनि आमाको अनुभव काम लाग्छ ।

आमाको महत्व बुझौं

कुनैपनि परिवारमा हेरौं, जहाँ आमा विशेष हुन्छिन् । यदि आमा नहुँदो हो वा आमालाई आमाको महत्व नदिने हो भने, त्यो परिवार विथोलिन्छ । लथालिंग हुन्छ । भताभुङ्ग हुन्छ । परिवार, परिवार जस्तै हुँदैन । सबै आफुखुसी गर्छन् ।

परिवारको संभावित विखण्डनबाट बचाउँन आमाको उपस्थिती मात्र पनि काफी हुन्छ । जहाँ आमा हुन्छ, त्यहाँ आस्था, विश्वास र प्रेम हुन्छ । जहाँ आस्था, विश्वास र प्रेम हुन्छ, त्यहाँ परस्पर सम्बन्ध सुमधुर र मिठासपूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?