Comments Add Comment

रियल मड्रिड भर्सेस युभेन्टसः जितको निरन्तरता कि हारको बदला !

१९ चैत, काठमाडौं । गएको सिजन च्याम्पियन्स लिग फाइनलमा भिडेका स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टस यसपटक क्वाटरफाइनलमै भिड्दै छन् ।

मड्रिड लगातार तेस्रो उपाधि बलियो पार्ने योजनामा छ भने युभेन्टस गएको वर्षको हारको बदला लिने सोचमा देखिन्छ । गएको वर्ष युभेन्टसलाई ४-१ ले हराएर मड्रिडले उपाधि जितको थियो ।

यो वर्ष अन्य कुनै पनि प्रतियोगितामा बलियो उपस्थिति देखाउन नसकेको मडि्रड च्याम्पियन्स लिगमा केन्द्रित देखिन्छ । युभेन्टस र रियल मडि्रडबीच च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेग आउँदो बुधबार नेपाली समयअनुसार राति साढे १२ बजे हुँदैछ ।

च्याम्पियन्स लिगमा रियल मड्रिड र युभेन्टसले खेलेका १९ खेलमा मडि्रडले ९ खेल जितेको छ । युभेन्टसले ८ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएका छन् । गोलका हिसाबले दुई टिमले एकअर्काविरुद्ध २२/२२ गोल गरेका छन् ।

यसपटक ला लिगामा कमजोर देखिए पनि रियल मड्रिड च्याम्पियन्स लिगमा भने बलियो रुपमा प्रस्तुत भइरहेको छ । स्पेनिस ला लिगामा ३० खेलमा ६३ अंकसहित मड्रिड तेस्रो स्थानमा छ । युभेन्टस भने इटालियन ‘सिरी ए’ को शीर्ष स्थानमा छ । युभेन्टसको ३० खेलमा ७८ अंक छ ।

युभेन्टसका भेट्रान गोलकिपर बुफोन भन्छन्, मड्रिड जितको दाबेदार होला तर, दुबैका समान सम्भावना छ । इतिहासले जे देखाएपनि हामीले जितको महत्वकांक्षा राख्नुपर्छ ।’

जारी सिजन च्याम्पियन्स लिगमा गरेको प्रदर्शनको आधारमा युइएफएले गरेको र्‍याङकिङमा मड्रिडका क्रिष्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् ।

जारी सिजन सर्वाधिक गोलकर्ता रहेका उनले ८ खेलमा १२ गोल गरेका छन् । एक गोलको अवसर सिर्जना गरेका छन् । उनले ११ गोल डिबक्स भित्रबाट गरेका छन् । यसैले रोनाल्डोलाई डिबक्स एरियामा रोक्न सके युभेन्टस बलियो बन्ने छ । यदि रोनाल्डोको प्रदर्शनले निरन्तरता पाए युभेन्टसलाई कठीन हुने छ ।

पूर्वरियल मड्रिड खेलाडीसमेत रहेका हिग्वेनको प्रदर्शन पनि लयमा देखिएको छ । मड्रिडको खेल शैलीबारे अवगत भएकाले पनि हिग्वेन कुनै पनि बेला स्पेनिस टिमका लागि खतरा बन्न सक्छन् । उनले जारी सिजन ८ खेलमा ५ गोल गरेका छन् र एक गोलको अवसर बनाएका छन् ।

युभेन्टसमा डिबाला पनि छन्, जसले कुनै पनि बेला खेललाई उल्टाउने क्षमता राख्ने मानिन्छ ।

जो मड्रिड र युभेन्टसमा रहे

केही खेलाडी छन्, जसले रियल मड्रिड र युभेन्टस दुबै टिमलाई जोड्ने काम गरेका छन् । पहिलो नाम आउँछ मड्रिडका प्रशिक्षक जिनेदिने जिदान ।

उनले सन् १९९६ देखि २००१ सम्म युभेन्टसमा रहेर खेलेका थिए । २००१ देखि २००६ सम्म मडि्रडका खेलाडी बने । अहिले मडि्रडकै प्रशिक्षकको भूमिकामा छन् ।

युभेन्टसका गोन्जालो हिग्वेन २००७ देखि २०१३ सम्म मड्रिडमा थिए । उनी २०१६ देखि युभेन्टसमा रहेका हुन् । उनले मड्रिडमा रहँदा २६४ खेलमा १२२ गोल गरेका छन् ।

उनी २०१३ देखि २०१६ सम्म नापोलीमा थिए ।

रियल मड्रिड र युभेन्टसलाई जोड्ने अर्को नाम हो, कार्लो एन्सेलोटी । प्रशिक्षक कार्लो सन् १९९९ देखि २००१ सम्म युभेन्टसको प्रशिक्षक थिए ।

उनी सन् २०१३ देखि २०१५ सम्म मड्रिडको प्रशिक्षक बने । उनकै प्रशिक्षणमा रियल एथ्लेटिको मड्रिडलाई हराएर सन् २०१३/१४ को सिजन च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

युभेन्टसका सामी खेदिराले २०१० देखि २०१५ सम्म मड्रिडबाट खेलेका थिए । २०१५ पछि उनी युभेन्टससँग जोडिएका हुन् । उनी २०१४ को च्याम्यिन्स लिग जित्दा मड्रिडमा थिए ।

२०१७ को फाइनलमा मड्रिडसँग हार्दा युभेन्टसमा थिए ।

अल्भारो मोराटा रियल मड्रिड र युभेन्टस दुबैबाट खेलेका छन् । उनी सन् २००८ देखि २०१४ सम्म र २०१६ देखि २०१७ सम्म रियल मड्रिडडमा रहे । यस्तै सन् २०१४ देखि २०१६ सम्म युभेन्टसमा रहे । तर, उनी अहिले इंग्लिस क्लब चेल्सीबाट खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment