Comments Add Comment

भारतीय नेता र कूटनीतिज्ञको चासो- ओली किन बेइजिङ जाने ?

'रेलमार्ग र जलमार्गमा सघाउन तयार तर वर्किङ कल्चर चाहियो'


२३ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली आउने पूर्वसन्ध्यामा  हामी यहाँका केही नेपाल विज्ञसँग कुरा गर्न उनीहरुकै निवास पुग्यौं । भारतको सत्तारुढ दल भाजपा र प्रमुख विपक्षी कांग्रेस आइका मुख्यालयमै पुग्यौं । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा आउँदैछन् भन्ने कुरा यहाँ धेरैलाई थाहा छैन ।

जसलाई थाहा छ, उनीहरु यो भ्रमणको उद्देश्य र उपलब्धिबारे पनि प्रष्ट छन् । प्रधानमन्त्रीको रुपमा ओली दोस्रो पटक भारतको राजकीय भ्रमणमा आउनै लाग्दा विगतमा भन्दा धेरै शक्तिशाली नेताको छवि बनाइसकेका छन् । भारतीय पक्ष यसबारेमा सचेत छ कि संविधान जारीपछि नाकाबन्दीको तनावबीच आएका ओलीसँग यसपटक हुने कुराकानीका शीर्षक फेरिएका छन् ।

रञ्जितको प्रश्न- ओली बेइजिङ किन जाने ?

नाकाबन्दी र ओलीको पहिलो भारत भ्रमणको बेला काठमाडौंस्थित भारतीय राजदूत रहेका रञ्जित रायसँग भेट्न बिहीबार साँझ गुलमोहर पार्कस्थित उनको निवास पुग्दा नेपालका मधेशी अभियन्ता डा.विजयकान्त कर्ण वाइन पिउँदै थिए । उनीहरुबीच ओलीको भारत भ्रमणकै सन्दर्भमा छलफल भइरहेको थियो । रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले आफ्नो मौलिक शैलीमा पूर्वराजदूत रायलाई प्रश्न सोध्न नपाउँदै उनले प्रश्न तेस्र्याए- ओलीजी दिल्लीसे लौट्ने  वाद तुरन्त चाइना जा रहे क्या ? उनको प्रश्नबाट सहजै के अन्दाज लगाउन सकियो भने दिल्लीमा ओली यहाँ आउने भन्दा बेइजिङ जाने समाचारको ठूलो अर्थ छ ।

यदि दिल्लीबाट फर्किएलगत्तै ओली बोआओ फोरममा भाग लिन बेइजिङ जाने खबर आधिकारिक रुपमा पुष्टि भएमा भारतीय मिडियाको हेडलाइन बन्ने उनले बताए । जुन फोरममा गएर नेपालले केही पाउँदैन र प्रधानमन्त्री जानुपर्ने कुनै आवश्यकता छैन, त्यहाँ ओलीजी गए भने दिल्लीले यसलाई सहज रुपमा पचाउन सक्दैन भन्ने प्रष्ट सन्देश हो यो ।

भारतले जसरी हतारमा ओलीको भ्रमण तय गर्याे, त्यसरी नै तत्कालै हुने भनिएको चीन भ्रमणप्रति पनि कूटनीतिक असन्तुष्टि जनाइसकेको छ । ओलीको भ्रमणको मिति दिल्लीबाट सार्वजनिक हुनु नै एकप्रकारको दबाव थियो । किनकि त्यसअघि अेाली चीन जाने तयारी भइरहेको खबर सार्वजनिक भएको थियो । नेपाल मामिलाका जानकार भारतीय नेता तथा कूटनीतिज्ञहरुको चासो ओली तत्काल बेइजिङ जान्छन् कि जाँदैनन् भन्नेमा देखिन्छ ।

चीनबाट रेल आओस कि तेल आओस ?

रञ्जित रायसँग भेट्नुअघि हामी सत्तारुढ भारतीय जनता पार्टीका उपाध्यक्ष तथा लोकसभाका सांसद भगतसिंह कोशीयारीको लोधी स्टेटस्थित निवासमा पुग्यौं । संसद् बैठक चलिरहेकाले उनी ढिलोमात्र घर फर्किए । नेपाल भारत प्रबुद्ध समूहका सदस्यसमेत रहेका कोशियारीले होसियारीपूर्वक कुरा गर्दै भने- ओलीजी नेपालका विशेष पाहुना हुन्, यो विगतको परम्पराको निरन्तरतामात्र होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल मामिलामा सल्लाह-सुझाव दिने हैसियत राख्ने पाका नेता कोशियारीले रेलमार्ग र जलमार्गबाट नेपाल भारत जोड्ने ओलीको प्रस्तावमा भारतले सघाउने बताए ।

उनले जल, स्थल, हवाई र रेलवे सबैतिरबाट ‘कनेक्टिभिटी’ हुनुपर्ने भारतको चाहना सुनाए । कोशियारीले भने, ‘मैले अस्ति नेपाल गएको बेला ओलीजीसँग पनि कुरा गरेँ, रक्सौलदेखि वीरगञ्ज हुँदै काठमाडौंसम्म रेल कुदाउनुपर्छ । रेलमार्ग र जलमार्गको ओलीजीको कुरामा भारत सहयोगी बन्छ । मलाई लाग्छ यसपटक दुवै देशका प्रधानमन्त्रीको तहमा यसबारेमा कुरा अघि बढ्छ ।

नेपाल चीनसँग पनि रेलमार्गबाट जोडिँदा भारतलाई कुनै आपत्ति नरहेको भारतीय सत्तारुढ नेताले बताए । उनले भने, ‘नेपालले चीनबाट रेल ल्याओस् कि तेल ल्याओस् भारतलाई कुनै आपत्ति छैन । हामी नेपालसँग सबै कनेक्टिभिटी चाहन्छौं, त्यो जलमार्ग पनि हो । जलमार्गका लागि कोशी उच्च बाँध तर जलमार्गको सन्दर्भमा पूर्वराजदूत रायको भने केही फरक तर्क छ ।उनले अनलाइनखबरसँग आफ्नै निवासमा कुरा गर्दै भने, ‘रेलमार्गबाट जोडिनै पर्छ । यसबारेमा धेरै अघि बढिसकेको छ । तर जलमार्गको कुरा चाहिँ कोशी उच्च बाँध बन्यो भने मात्र सम्भव छ । नत्र ओलीजीले भनेको जस्तो सजिलो छैन ।

तर्क जे जे गरिए पनि नेपाल मामिलाका जानकार भारतीय नेता तथा कूटनीतिज्ञहरुले केपी ओलीको यसपटकको भ्रमणलाई चासोका साथ हेरेका छन् । उनीहरुले भारत भ्रमणका सन्दर्भमा ओलीले नेपालको संसदमा बोलेका कुरालाई समेत ‘नोटिस’मा लिएका रहेछन् । जुन सम्बोधनमा ओलीले रेलमार्ग र जलमार्गको कुरा गरेका थिए ।

दिल्लीमा प्रश्न- ओली महेन्द्रभन्दा शक्तिशाली ?

नेपालमा वामपन्थीको करीव दुई तिहाई बहुमतको सरकार बनेको र केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्रीका रुपमा भारत भ्रमणमा आएको चर्चा यहाँ छ । रञ्जित रायले कुरै कुरामा हामीसँग भने- ओलीजी त तत्कालीन राजा महेन्द्रभन्दा पनि शक्तिशाली भए होइन ? पार्टीभित्र र देशभित्रै उनलाई कसैको चुनौती देखिएन अहिले । कोशियारीले पनि ओली नेपालको राजनीतिक इतिहासमै शक्तिशाली र २० वर्षपछि बहुमतको सरकारको प्रधानमन्त्रीका रुपमा दिल्ली आउँदै गर्दा भारतले गर्ने सम्मानमा कुनै कमजोरी नहुने बताए ।

उनले नेपालमा स्थिर सरकार र स्थायित्व भारतले चाहेकाले यस भ्रमणमा नेपालको आन्तरिक राजनीतिक विषय छलफलको एजेण्डा नबन्ने प्रष्ट पारे । विगतका प्रधानमन्त्रीको भ्रमणमा नेपालको आन्तरिक राजनीतिक मामिला छलफलको एजेण्डा बन्ने गरेकोमा अब त्यो चरण सकिएको ठम्याई कतिपय भारतीय नेता र कूटनीतिज्ञहरुको छ । संविधान संशोधन र मधेश मामिलामा ‘माइक्रो म्यानेजमेन्ट’को तहमा ओर्लिएको भारत अब त्यो भाउँतोबाट पनि बाहिरिन खोजेको बुझ्न सकिन्छ । सत्तारुढ नेता कोशियारीले भने, ‘ओलीजी जनताको ठूलो समर्थनसहित प्रधानमन्त्री निर्वाचित भएका छन् । संविधान संशोधन, मधेश मामिलाजस्ता विषयमा नरेन्द्र मोदीले बोल्ने होइन, ओलीजीले नै बोल्ने र उहाँले नै समाधान गर्ने कुरा हुन् । अब नेपालले विकास र प्रगतितर्फ आफूलाई लैजानुपर्छ ।

वर्किङ कल्चर छैन नेपालमा

यसो भनिरहँदा कोशियारी र रञ्जित राय दुवैले विगतमा भएका नेपाल र भारतबीचका सम्झौता कार्यन्वयनमा नेपाल पक्षलाई दोषी देखाउन भने छाडेनन् । नेपालमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले अब स्थिर सरकारले नेपाल र भारतबीच भएका पञ्चेश्वरदेखि अरुणसम्मका आयोजनालाई निर्वाध अघि बढ्न दिनुपर्ने बताए ।

उनीहरुले भने, ‘नेपालमा काम गर्ने ठाउँमा अवरोध छ । पहिले वर्किङ कल्चर बनाउनुपर्छ । नेपालमा त्यो वातावरण भएको भए पञ्चेश्वर ५० वर्षअघि नै बन्ने थियो । बल्ल सबै पक्ष सहमत भएर २ वर्षदेखि यो अघि बढेको छ । अब नेपाल स्थायित्वको बाटोमा गएको छ, यो भ्रमणले नयाँ ढंगबाट हामीलाई अघि बढ्न निर्देशित गर्नेछ । सम्वभतः प्रधानमन्त्री केपी शर्मा अेालीको भ्रमणका क्रममा यिनै विषयको समीक्षा हुनेछ । यसपटक नेपालको आन्तरिक राजनीतिक मामिलालाई दुई पक्षीय वार्ताको एजेण्डा नबनाउने सन्दर्भमा नेपाल सचेत छ । भारत पनि अनावश्यक रुपमा मुछिन चाहिरहेको छैन । ओलीको यो भ्रमण निरन्तरतामात्र हुन्छ कि क्रमभंग ? त्यसका लागि भने अब केही समय कुनुपर्ने हुन्छ ।

मोदीले छिमेकी चिढ्याएः कांग्रेस

नेपालमा जस्तै भारतमा पनि कांग्रेस प्रमुख प्रतिपक्षमा छ तर निकै कमजोर अवस्थामा । जसरी भारतमा मोदी शक्तिशाली प्रधानमन्त्री बन्दा कांग्रेस कमजोर प्रतिपक्ष छ, नेपालमा ओली शक्तिशाली प्रधानमन्त्री बन्दा कांग्रेस कमजोर प्रतिपक्षको रुपमा छ ।

हामी अकबर रोडस्थित कांग्रेस केन्द्रीय कार्यालय पुग्दा शीर्ष नेताहरु थिएनन् । कांग्रेस प्रवक्ता रोहन गुप्ताले नेपालका प्रधामनन्त्री भारत भ्रमणमा आउन लागेको जानकारी पाए पनि विस्तृत जानकारी नरहेको बताए । उनले भने, नेपालका प्रधानमन्त्री आउँदै हुनुहुन्छ, यो नियमित प्रक्रियाअन्तर्गत नै हुन लागेको हो । तर नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि हाम्रा छिमेकीहरुसँगको सम्बन्ध बिगारेका छन् । नेपालले पनि यो अवस्था झेलेको हो । हामी सत्तामा नभएकाले हाम्रो नीति लागू गर्न पाउँदैनौं । तर छिमेकीसँग राम्रो सम्बन्ध हुनुपर्छ भन्ने धारणा सोनिया गान्धी र राहुल गान्धीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment