Comments Add Comment

महाकाली सन्धि हुँदा म जवान थिएँः केपी ओली

असमान सन्धिबाट भारतलाई के फाइदा ?

२३ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत महाकाली सन्धी हुँदा आफू जवान रहेको बताउँदै अहिले २२ वर्षसम्म यसको कार्यान्वयन किन भएन भन्ने प्रश्न उठाएका छन् ।

साथै प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धिमा भारतीय राजदूत र नेपालका प्रधानमन्त्रीले हस्ताक्षर गरेको भन्दै उक्त सन्धी असमान रहेको बताएका छन् । आफू त्यस्ता असमान सन्धिहरुको पुनरावलोकनको पक्षमा रहेको ओलीले बताएका छन् ।

भारतीय पत्रकार सुहासिनी हैदरले दि हिन्दुका लागि लिएको प्रधानमन्त्री केपी ओलीको अन्तरवार्ताका केही अंशहरु यहाँ दिइएको छः

हाम्रो छिमेक नीतिको सुरुवाती विन्दु मित्रता हो । मलाई तपाईँले नेपालले भारतबाट चाहेका तीन कुरा के हुन् भनेर सोध्नुहुन्छ भने पहिलो हो मित्रता । दोस्रो मित्रता । अनि तेस्रो मित्रता । हामीले राजनीतिक सङ्घर्ष सक्यौँ, अब नयाँ चरण सुरु भएको छ, विकास र समृद्धिका लागि सङ्घर्षको चरण ।

नेपाली जनताको वर्तमान आवश्यकता तथा आपसी चासोका आधारमा तथा आपसी सम्मानका लागि सच्याइनुपर्ने तथा अद्यावधिक गरिनुपर्ने सन्धिहरू धेरै छन् ।

म पहिलेदेखि नै १९५० को सन्धिबारे बोलिरहेकै छु । मेरो भनाइ के हो भने, विषयवस्तुलाई अहिले नहेर्ने हो भने पनि, त्यसमा भारतका राजदूत र नेपालका प्रधानमन्त्रीले हस्ताक्षर गरेका छन् । यसमा हाम्रो हैसियतबीचको फरक स्पष्ट देखिन्छ । यस्तो असमान सन्धिबाट भारतलाई के लाभ हुन्छ ? खालि नेपाली जनताको मन दुख्छ । यस्ता सबै सन्धि अद्यावधिक हुनुपर्छ, पुनरावलोकन हुनुपर्छ ।

पञ्चेश्वर र महाकाली परियोजनाका लागि सन् १९९६ मा सम्झौता गरिएको थियो । त्यसपछि २२ वर्ष बिते । त्यसैले हामीले सोध्नैपर्छः यसबीचमा हामीले के गर्‍यौँ त ? समयले हामीलाई कहिल्यै पर्खदैन … । पञ्चेश्वर सम्झौता गर्दा म एक जवान मानिस थिएँ, आज म यो उमेर भइरहेको छ । तर, पनि परियोजना सम्पन्न भएकै छैन ।

मैले ‘समदूरी’ भन्ने शब्द कहिल्यै प्रयोग गरेको छैन । मैले बरु सामीप्यबारे बोलेको छु । एक सार्वभौम राष्ट्रका रूपमा हाम्रो विदेश नीति सदैव स्वतन्त्र छ । हामीले सार्वभौम समानता तथा चासोका कुरा गरेका छौँ । हाम्रा ठूला छिमेकीबीच प्रतिस्पर्धा हुन सक्ला, तर हाम्रो दुईमध्ये कसैसँग पनि प्रतिस्पर्धा छैन । हामी चाहान्छौँ, हाम्रा छिमेकीहरू विकसित र समृद्ध बनून्, आपसमा शान्तिपूर्ण सम्बन्ध कायम गरून् ताकि हामी आनन्दले सुत्न पाऔँ ।

हाम्रा दुई छिमेकी छन् र हामी दुबैबाट सहयोग लिन चाहान्छौँ । हामीसँग दुई छिमेकी हुनुको अर्थ हामी एक देशबाट बन्दी बनेका छैनौँ … ।
हामी नेपाललाई जमिनले घेरिएको होइन, जमीनबाट जोडिएको देश बनाउँछौँ । हामी दुबै छिमेकी मार्फत् समुद्रमा जोडिन चाहान्छौँ । हिन्द महासागर पनि हाम्रै हो, प्रशान्त महासागर पनि हाम्रै हो । यो कुरा हाम्रो क्षमतामा भर पर्छ । तर महासागरमा त कुनै देशको अस्तित्व हुँदैन । त्यसैले म ढुक्क छु कि एक दिन नेपाली झण्डासहितका व्यापारिक जहाज समुद्रमा देख्ने मेरो सपना पूरा हुनेछ ।

हाम्रो संविधान पूर्ण भएको छ । सम्पूर्ण देशले स्वीकारेको छ । गत चुनावमा ७० देखि ८० प्रतिशत मत खसेको छ । त्यसैले संविधानको स्वीकार्यतामा कुनै विवाद छैन, कुनै प्रश्न छैन । हुन सक्छ, कसैलाई आफ्ना एजेन्डा जीवित राख्नुपरेको हो । तर, वास्तविकता के हो हामीलाई थाहा छ ।

राष्ट्रका लागि, विकासका लागि, जनताको चाहना अनुसार जहिले पनि संविधान संशोधन हुन सक्छ । तर, न हामीले न मधेसी पार्टीले अहिल्यै संविधान संशोधन हुनुपर्‍यो भनेका छौँ । त्यसैले यो मुद्दालाई नबल्झाउनु नै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment