Comments Add Comment

अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्स पछि पर्‍यो, जेट एयरलाइन्स अग्रस्थानमा

२५ चैत, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स सन् २०१६ मा त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रुलाई सेवा दिने हिसाबमा सबैभन्दा अग्रस्थानमा रहेको थियो ।

तर, सन् २०१७ मा उसले यो स्थान कायम राख्न सकने । विभिन्न समयमा भएका उडान कटौतीका कारण नेपाल एयरलाइन्स दोस्रो स्थानमा झर्‍यो ।

यसको फाइदा भने भारतीय विमान कम्पनी जेट एयरलाइन्सलाई पुगेको छ । नेपाल एयरलाइन्सले उडान गरिरहेका दिल्ली, मुम्बई, बैंगलोर र दोहामा काठमाडौंदेखि जेट एयरलाइन्सले पनि उडान भर्दै आएको छ ।

सन् २०१७ मा नेपाल एयरलाइन्सलाई उछिन्दै जेट एयरवेज पहिलो स्थानमा उक्लेको छ । जुन सन् २०१६ मा सबैभन्दा बढी यात्रु बोक्ने हिसाबले चौथो र उडान भर्नेमा तेस्रो स्थानमा रहेको थियो ।

विमान थोरै भएका कारण नेपाल एयरलाइन्स पछि परेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठ बताउँछन् । सन् २०१७ मा विमान अभावका कारण नेपाल एयरलाइन्सले कैयौं गन्तव्यको उडान कटौती गरेको थियो ।

जहाज भाडामा ल्याउन नपाएको र एयरबस दिल्ली विमानस्थलमा बिग्रेर बसेपछि यसले उडान कटौती गर्नु परेको थियो ।

गत डिसेम्बरदेखि जनवरी सम्म एयरबस ३२० एकेएक्स इन्जिन बिग्रेर दिल्ली विमानस्थलमा थन्कियो । जसका कारण पनि नेपाल एयरलाइन्सका धेरै उडान कटौती भए ।

चालुृ अवस्थामा रहेको एक मात्र बोइङ ९ एनएसिबी ५७५ मर्मत गर्न सिङ्गापुर लैजानुपरेपछि निगमले गत साउनमा ४५ देखि ६० दिनको लागि भुटान एयरलाइन्सको विमान भाडामा लिन लागेको थियो ।

तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली हवाई नीतिअनुसार उक्त जहाज प्रयोग गर्न नमिल्ने भनेपछि भाडामा जहाज ल्याउने नेपाल वायुसेवा निगमको योजना तुहियो ।

जसका कारण निगमले सातामा १७ वटा उडान कटौती गरेको थियो ।

प्रवक्ता श्रेष्ठ भन्छन् ‘बोइङ सिचेकमा जाँदा उडान कटौती गर्नुपर्ने स्थिति आयो, इन्जिन बिग्रेर एयरबस दिल्ली विमानस्थल रहँदा पनि केही उडान कटौती भए, जसका कारण हामी दोस्रो स्थानमा झरेको हो ।’

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सन् २०१५ मा नेपाल एयरलाइन्स नेपालमा सबैभन्दा बढी उडान भर्ने र यात्रु बोक्ने विमान कम्पनीको सुचीमा क्रमशः तेस्रो र पाँचौं स्थानमा थियो । सन् २०१५ को फेब्रुअरी र अप्रिलमा दुईवटा ए ३२० एयरबस थप गरेपछि निगम सन् २०१६ मा सबैलाई पछि पार्दै अग्रस्थानमा पुगेको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार सन् २०१७ मा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानतर्फ ३ लाख ८८ हजार ३ सय २९ जना यात्रुलाई सेवा दिएको छ । तर, जेट एयरलाइन्सले भने ४ लाख ६९ हजार ३ सय १ यात्रुलाई सेवा दिएको छ ।

त्यस्तै जेट एयरलाइन्सले यो वर्ष ३ हजार ६ सय ४४ पटक उडान भरेको छ । नेपाल एयरलाइन्सले भने ३ हजार ८२ पटक उडान गरेको छ ।

नेपाल एयरलाइन्सको गत वर्षको तुलनामा उडान संख्या कटौती भएको छ भने जेट एयरलाइन्सको गत वर्षको तुलनामा १ हजार १ सय १९ पटक थप भएको छ । कतार एयरलाइन्स र एअर अरेबियाको यो पटक उडान सख्ंया बढेको छ । तर, फ्लाई दुबइको भने गत वर्षको तुलनामा १ सय ६२ वटा उडान कटौती भएका छन् ।

नेपाल बायु सेवा निगमले मार्केट हिस्सा बढाउनका लागि थप दुईवटा वाइडबडी जहाज खरिद गर्न लागेको छ । जुन महिनाको तेस्रो सातासम्ममा वाइडबडी जहाज काठमाडौ आइपुग्ने निगम प्रवक्ता श्रेष्ठ बताउँछन् । साथै थप दुईवटा न्यारोबडी जहाज खरिद गर्ने प्रक्रिया पनि निगमले अघि बढाउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment