Comments Add Comment

यी हुन् बर्षका उत्कृष्ट ५ नायक, पहिलो स्थानमा अनमोल

कुनै पनि फिल्मले दर्शकलाई हलसम्म तान्ने सबैभन्दा पहिलो आकर्षण हो, स्टारकास्ट । त्यसमा पनि नायक ।

नायकको फ्यान फलोइङका आधारमा फिल्मको प्रारम्भिक ब्यापार धेरै हदसम्म तय हुन्छ । त्यसैले चलचित्रमा सबैभन्दा बेसी पारिश्रमिक नायकले नै लिन्छन् । नेपाली चलचित्रमा पनि यस्ता केही स्टार नायकहरु छन्, जसले दर्शकको एउटा समुहलाई हलसम्म तान्ने क्षमता राख्छन् ।

अनलाइनखबरले विगत केही वर्षदेखि निरन्तर रुपमा ‘बर्षका उत्कृष्ट ५ नायक’ को छनोट गर्दै आएको छ । बर्षभरि, कुनै पनि नायकका चलचित्रको व्यापार, बजार चर्चा, ब्रान्ड भ्यालू, स्टारडम, फ्यान क्रेज र मिडियामा उसले पाएको कभरेज आधारमा हाम्रो टिमले उत्कृष्ट ५ नायक छनोट गरेको हो । यसपालीको उत्कृष्ट ५ नायकमा को-को परे त ?

१. अनमोल केसी

यो बर्षको ‘ओके टप ५ नायक’को सूचीको पहिलो नम्बरमा नायक अनमोल केसीले स्थान कब्जा गरेका छन् । गत बर्ष दोश्रो स्थानमा रहेका अनमोल यो बर्ष एक स्थान उक्लदै पहिलो नम्बरमा आइपुगेका हुन् । यो बर्ष अनमोल अभिनित चलचित्र ‘कृ’ मात्र रिलिज भयो । चलचित्रले नेपालबाट करिब ७ करोडको ग्रस कलेक्सन गर्‍यो । यस्तै, चलचित्रले ओभरसिज राइट्सबाट ८० लाख र ब्रान्डबाट ५० लाख कमाई गरेको  थियो । यो सबै अनमोलकै नामले सम्भव भएको हो ।

चलचित्रको बजेट निकै महंगो भएका कारण नेपालबाटै लगानी उठाउन चलचित्रले नसके पनि अनमोलको स्टारडम भने हलमा गज्जबले देखियो । यस्तै, यो बर्षभरि अनमोल केसीको डिमान्ड चलचित्र क्षेत्रमा सर्वाधिक भयो । उनलाई ५० लाखसम्म दिएर चलचित्र खेलाउन निर्माताहरुले हानथाप गरे । अनमोल केसीका इन्टरभ्यू र चलचित्रका प्रचार साम्रागीले युटुबमा लामो समय नम्बर १ ट्रेन्डिङमा कब्जा जमाए । मिडियामा अनमोलको चर्चा सर्वाधिक धेरै भयो । अनमोल केसी मिडिया र दर्शकमाझ कम आए पनि उनको खोजी अत्याधिक भयो ।

चलचित्र ‘कृ’मा उनले अभिनय, नृत्य र आफ्नो लुक्सलाई समेत बदले । विभिन्न कम्पनीले उनलाई ब्रान्ड एम्बासडर बनाउन कसरत गरे । तर, उनले एउटा बाइकको विज्ञापनमा मात्र १० लाख लिएर काम गरे । यसकारण, यी विविध कारणले अनमोल केसी यो बर्षको ‘ओके टप ५ नायक’को पहिलो स्थानमा कब्जा जमाउन सफल भएका छन् ।

२. प्रदिप खड्का

चलचित्र क्षेत्रमा नायक प्रदिप खड्काले यो बर्षभर नै चर्चा पाए । उनले २२ लाख पारिश्रमिक लिएर चलचित्र ‘लिलिबिली’मा काम गरे, जुन नेपाली फिल्ममा एउटा रेकर्ड हो । उनलाई महंगो पारिश्रमिक दिएर निर्माताहरु चलचित्र खेलाउन लालयित देखिए । यस्तै, यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘प्रेमगीत २’ले बक्स अफिसमा सुखद व्यापार गर्‍यो । साथै, उनी अभिनित अर्को चलचित्र ‘लिलिबिली’ भर्खरै रिलिज भएको छ ।

यो बर्ष प्रदिपको इन्टरभ्यू, समाचार मिडियामा धेरै देखिए । प्रदिपको क्रेज नेपालभर नै देखियो । उनी यो बर्ष आफ्ना केही विवादित बयानका कारण पनि चर्चामा रहे । उनलाई पनि ब्रान्डले विश्वास गरे ।

३. दिपकराज गिरी

यो बर्ष यदि, कोही कलाकारलाई सबैभन्दा सुखद रह्यो भने उनी हुन् दिपकराज गिरी । गिरी यो बर्ष सर्वाधिक धेरै कमाई गर्ने २ चलचित्रका मुख्य कलाकार हुन् । उनले निर्माण, लेखन तथा अभिनय गरेको चलचित्र ‘छक्का पन्जा २’ले बक्स अफिसमा १२ करोडको कमाई गर्‍यो । यस्तै, उनको सर्वाधिक धेरै प्रशंसा भएको चलचित्र ‘सत्रु गते’ बक्स अफिसमा चौथो हप्तामा आक्रामक रुपमा चलिरहेको छ ।

दीपकराज यो बर्ष बक्स अफिसमा मात्र नभएर उनले लेख्ने गरेका फेसबुक स्टाटसका कारण पनि चर्चामा रहे । उनका स्टाटस कति विवादित बने त कति प्रशंसनिय बने । मिडियामा दिपकका बिषयमा थुप्रै समाचार बने । उनको अभिनयका बारेमा प्रश्न उठाउनेहरुलाई ‘सत्रु गते’ ले मुख बन्द गरिदियो । ब्रान्ड बजारमा उनको भ्यालू कम भएन । यस्तै, विविध कारणले गर्दा यो बर्षको ‘ओके टप ५ नायक’को सूचीको तेश्रो स्थानमा दिपकराजले स्थान जमाएका छन् ।

४. दयाहाङ राई

गत वर्ष पहिलो स्थानमा रहेका नायक दयाहाङ राई यो बर्ष चौथो स्थानमा ओर्लेका छन् । दयाहाङको स्टारडम यो बर्ष ओरालो लाग्यो । गुणात्मक भन्दा संख्यात्मक चलचित्रमा धेरै काम गर्दा दयाहाङ बक्स अफिसमा चिप्लिए ।

उनले यो बर्ष आधा दर्जनभन्दा बढी चलचित्रमा काम गरे । जसमध्ये अधिकांश चलचित्र औषत मात्र चले । ‘घामपानी, मिस्टर झोले, कान्छी’ औसत रुपमा चलेका चलचित्र हुन् । दयाहाङको चलचित्र हलमा महिनैपिच्छे आउँदा उनलाई दर्शकले वास्ता गर्न छाडेका छन् । तर, पनि यो बर्ष दयालाई लिएर चलचित्र बनाउन निर्माताको हानथाप उस्तै रह्यो ।

कम बोल्ने दया धेरै चलचित्र रिलिज हुँदा मिडियामा छाए । दयाहाङले अब गुणात्मक चलचित्रमा ध्यान दिन जरुरी छ ।

५. पल शाह

गत बर्ष उत्कृष्ट ५ को सूचीमा नअटाएका नायक पल शाह यो बर्ष यो सूचीमा स्थान जमाउन सफल भएका छन् । पल शाहको चर्चा यो बर्षभरि नै भयो । उनले अभिनय गरेका ३ चलचित्र यो बर्ष रिलिज भए ।

‘म यस्तो गीत गाउँछु र सत्रु गते’ बक्स अफिसमा हिट भए । पल शाह आफैले बोकेको चलचित्र ‘जोनी जेन्टलम्यान’ भने फ्लप भयो । उनी यो बर्ष नायिका आँचल शर्मासँगको जोडीका कारण खोजिमा रहे । उनका इन्टरभ्यू युटुबमा धेरै हेरिए । उनलाई चलचित्र क्षेत्रको नयाँ स्टार भन्ने जमात पनि देखियो ।

पल शाहलाई  लिएर चलचित्र बनाउन ठूला ब्यानरका निर्माता तम्सिए । उनलाई पनि महंगो पारिश्रमिक दिन निर्माताहरु लागिपरे । यसैले, पल पनि यो बर्ष डिमाण्डेड बनेका छन् । पलको अभिनयमा भने कुनै तरक्की देखिएको छैन । चकलेटी अनुहारकै बलमा कहिलेसम्म उनी टिक्ने हुन् भन्ने प्रश्न उठ्न थालेको छ ।

यो बर्षको अन्त्यमा उनले दिएको एक अभिव्यक्ति बिबादित बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment