Comments Add Comment

चौथो हप्तामा पनि ‘सत्रु गते’ हाउसफुल, फाइदा निर्मातालाई भन्दा हललाई


चलचित्र ‘सत्रु गते’ चौथो हप्तामा चलिरहेको छ । चलचित्रको कमाई हेर्ने हो भने लोभलाग्दो छ । चलचित्रले अझै केही दिन यही रफ्तारमा व्यापार गरेको खण्डमा गत वर्ष रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’को करिब १२ करोडको ग्रस कलेक्शनलाई उछिन्ने पक्का छ ।

हिजो शनिबार काठमाडौंका सबै मल्टिप्लेक्स हाउसफूल भए । यसले नयाँ रिलिज चलचित्र ‘लिलिबिली’ र ‘नेप्टे’को व्यापारलाई असर गर्‍यो । चलचित्रका निर्माता किरण केसीले पहिलो हप्ता चलचित्र काठमाडौंबाहिर ९० र काठमाडौभित्र ४७ वटा हलमा चलेको बताए । चौथो हप्तामा पनि हलको संख्या खासै नघटेको भन्दै उनले व्यापारको अनुमान आफैं गर्न आग्रह गरे ।

चलचित्रले अहिलेसम्म करिब १० करोड ग्रस कलेक्सन गरेको बुझिएको छ । चौथो हप्ताबाट चलचित्रको व्यापार १० करोडबाट उकालो लागेको छ । यसरी हेर्दा चलचित्रले ‘छक्का पन्जा २’ को रेकर्डलाई चाडै नै उछिन्ने छ ।

तर, चलचित्रले बम्पर कमाई गरिरहँदा निर्माताभन्दा बढी खुशी हलवालाहरु देखिएका छन् । कारण, चलचित्रको व्यापारको शेयर अब निर्मातालाई भन्दा बढी हल सञ्चालकलाई जान्छ । नेपालमा मल्टिप्लेक्सको व्यापार प्रणाली उदेकलाग्दो छ ।

पहिलो साता चलचित्रका निर्माता र हललाई ५०-५० प्रतिशत शेयर जान्छ । दोश्रो हप्तामा निर्माताको भागमा ४३ प्रतिशत मात्र शेयर आउँछ । तेश्रो हप्तामा चलचित्र चल्दा निर्माताको भागमा ३७ प्रतिशत र चौथो हप्ताबाट ३० प्रतिशत मात्र शेयर आउँछ ।

यसरी, हेर्दा चौथो हप्ताबाट चलचित्रको व्यापारमा हल सञ्चालकले ७० प्रतिशत कमाउँछन् भने निर्माताको भागमा ३० प्रतिशत मात्र जान्छ । यो उदेकलाग्दो नियमले निर्माताले ग्रस कलेक्सन यति र उती गर्‍यो भनेर रमाउनु निरर्थक हुन जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment