Comments Add Comment

अब टेन्टमुनी मनाउनु पर्दैन बुद्ध जयन्ती

तीन हजार जना क्षमताको सभाहल एक महिनामै तयार

२ वैशाख । हरेक वर्ष बुद्ध जयन्ती मनाउँदा लुम्बिनी विकास कोषलाई कि त प्रचण्ड गर्मी कि हावा हुरी वा वर्षाको पिरलो हुन्थ्यो । खुला आकाशमुन टेन्ट टांगेर कार्यक्रम गर्दा ठूलै सास्ती खेप्नुपर्थ्यो ।

कतिपय अवस्थामा त हावा हुरी र वर्षाका कारण समारोह नै बिथोलिएको थियो । दुई वर्षअघि हावाहुरी र भारी वर्षाले समारोह बिथोलिएको थियो ।

तर, यस वर्षदेखि यस्तो पिरलो हुनेछैन । र बुद्ध जयन्ती समारोह व्यवस्थित हुने छ । लुम्बिनी विकास कोषमार्फत नेपाली सेनाले निर्माणको जिम्मा पाएको एक महिनामै सभा हल तयार गरेको छ ।

तीन करोड ९७ लाख लागतमा बनिरहेको सभाहलको ९० प्रतिशत काम पूरा भइसकेको र वैशाख १० गतेभित्रै पुरा हुने कोषका कायम मुकायम सदस्य सचिव ईन्जिनियर सरोज भट्टराईले जानकारी दिए ।

नेपाली सेनाले चैत ५ गतेदेखि सभा हल निर्माणको काम शुरु गरेको थियो । ‘यसपटक पनि प्रधानमन्त्री केपी शर्मा ओली नै प्रमुख अतिथिको रुपमा आउनु हुने भएकाले उहाँले २ वर्षअघि दिनु भएको निर्देशन अनुसार अस्थायी प्रकृतिको भएपनि व्यवस्थित सभा हलमै बुद्ध जयन्ती मनाउँदैछौं’ भट्टराईले भने, ‘अब विगतका वर्षमा जस्तो हावा हुरी र वर्षाले समारोह बिथोलिने अवस्थाबाट मुक्त भयौं, पाहुना र सहभागीलाई पनि सहज हुनेछ ।’

३२ सय मिटर क्षेत्रफलमा बन्दै गरेको सभाहलको भित्ता सिमेन्ट बोर्डको र छाना फल सिलिङसहित जस्ता पाताको छ । भुईदेखि १० मिटर उचाईको हलको भित्री संरचना फलामका पाइपहरु प्रयोग भएका छन् ।

५० जना अट्ने स्टेज र तीन हजार कुर्सी अट्ने फ्लोरसहित हल छ । स्टेज र विशिष्ट अतिथि रहने क्षेत्रमा कूलर जडान गरिने र सहभागी/दर्शक दिर्घामा आवश्यकता अनुसार पंखा जडान गरिने छ ।

लुम्बिनी विकास कोषले ध्यान केन्द्र -मेडिटेसन सेन्टर)सहित पाँच हजार जना क्षमताकोस्थायी सभाहल निर्माणका लागि ठेकेदार छनोट गरी टेण्डर स्वीकृत गरिसकेको छ । २४ महिनामा निर्माण पूरा गर्ने सम्झौता भएको स्थायी सभाहलको लागत २८ करोड छ ।

स्थायी सभाहलको शिलान्यास बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको कोषले जनाएको छ । स्थायी सभाहल नबन्दा सम्मका लागि अस्थायी सभाहल उपयोगमा आउनेछ ।

यही वैशाख १५र १६ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन र १७ गते बुद्ध जयन्ती मूल समारोह हुँदैछ । कार्यक्रममा विश्वका २३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने लुम्बिनी विकाष कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment