Comments Add Comment

माओवादीको निश्कर्षः ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा !

एमालेको आरोप- प्रचण्डले लिखितमा प्रधानमन्त्री खोजे


३ वैशाख, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको निश्कर्ष माओवादी नेताहरुले निकालेका छन् ।

पार्टी एकता नै गर्न चाहेको हो भने ओलीले बराबरीका आधारमा अघि बढ्नैपर्ने माओवादी नेताहरुको निश्कर्ष छ ।

आइतबार गर्ने भनिएको प्रधानमन्त्री ओलीसँगको छलफल स्थगन गरेर माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा ‘आराम गर्न’ गएका थिए ।

प्रचण्ड सुकुटेतिर लाग्नुअघि आइतबार नै वाइसीएलका नेताहरु अनि एमाले नेता माधव नेपालसँग प्रचण्डको बेग्लाबेग्लै छलफल भएको थियो ।

आइतबार दिउँसो प्रचण्ड र ओलीवीच टेलिफोन सम्वाद भएको थियो, जसमा प्रचण्डले सुकुटेतिर जान लागेको बताउँदै सोमबार बिहान छलफल गरौं भनेका थिए । यही सहमति अनुसार सोमबार सुकुटेबाट फर्केर प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

यस्तो छ माओवादीको निश्कर्ष

पछिल्लो समय एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सम्मानजनक ढंगबाट पार्टी एकता गर्ने नभएर माओवादीलाई सिध्याउने र आफूसँग विलय गराउने कूटनीति अपनाएको माओवादी नेताहरुले निश्कर्ष निकालेका छन् ।

‘ओली पार्टी एकताको अर्थमा नभई पेलान गर्ने र माओवादीलाई सिध्याइदिने मनस्थितिमा देखिएका छन्’ एक माओवादी नेताले अनलाइनखबरसँग भने- ‘सरकार सञ्चालनको कार्यशैली हेर्दा उनी खतरनाक अधिनायकवादतिर उन्मूख भइरहेका छन्, त्यसैले बेलैमा सतर्क हुनुपर्छ भन्ने हाम्रो निश्कर्ष छ ।’

प्रचण्डसँग निकट केही माओवादी नेताहरुसँग अनौपचारिक कुराकानी गर्दा उनीहरुले यस्तो संशययुक्त विश्लेषण सुनाएः

-केपी ओली दुईवटा वामपन्थी धारलाई आपसमा मिलाउने र सम्मानजनक एकता गर्ने पक्षमा छैनन् । उनी माओवादीलाई फसाएर आत्मसमर्पण गराउन अनि सिध्याउन चाहन्छन् ।

-केपी ओलीले प्रचण्डलाई पनि अध्यक्ष बनाउने आश्वासन त दिएका छन् । तर, उता माधव नेपाललाई पनि महाधिवेशनपछि तपाईलाई पार्टी अध्यक्ष बनाउँछु भनेर आफ्नो नजिक ल्याएका छन् । एमाले नेता माधव नेपाल पिँध नभएका लोहोटा हुन् भन्ने पुनः एकपटक पुष्टि भएको छ ।

-केपी ओलीले सचिवहरुको सरुवा गर्दा माओवादी निकट मन्त्रीहरुसँग कुनै सरसल्लाह गरेनन् । यतिसम्म कि माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल नगरी उनी एकलौटी ढंगबाट सरकार सञ्चालन गरिरहेका छन् । एउटै पार्टीभित्र त नेताहरुसँग छलफल र सल्लाहका आधारमा सरकार चलाउनुपर्छ भने अहिले बेग्लै रहेको माओवादीलाई बाइपास गर्ने ओलीको चाहना देखिएको छ ।

– सम्मानजनक पार्टी एकता गर्ने लाइनबाट केपी ओलीमा विचलनको सुरुवात उनको बैंकक भ्रमणपछि भएको हो । त्यहाँ उनले भारतीय ‘रअ’का उच्च अधिकारीलाई भेटे र आफूले लिँदै आएको राष्ट्रवादको अडानलाई बिर्सेर मोदी सरकारसँग लाइन मिलाए । र, त्यसैको क्लाइमेक्स हो, उनको भारत भ्रमण, जहाँ केपी ओलीको राष्ट्रवादको भाँडो पूर्णरुपमा घोप्टियो ।

-पार्टी एकता हुन नदिन चुनावअघिदेखि नै विभिन्न तत्वहरु लागेका थिए । अहिले पनि माओवादीको भर छैन, धोका दिन सक्छ भन्दै ओलीलाई भड्काउने काम भइरहेको छ । विशेषगरी भारतसँग सम्बन्ध सुध्रिएपछि ओली माओवादीलाई पेल्ने मुडमा बढी देखिएका छन् । माओवादी आएन भने मधेसी दलले हामी छौं भनेर ओलीलाई आश्वासन दिइरहेका छन् ।

– गत चुनावमा एमाले र माओवादी दुबै दल साझा घोषणापत्र लिएर गएका छन् र मतदाताको म्यान्डेट भनेको पनि दुई पार्टीवीच एकता हुनैपर्छ भन्ने हो । र, एकता जरुरी छ, एकता गर्नैपर्छ, तर बराबरी हैसियतका आधारमा सम्मानजनक एकता होस् भन्ने अध्यक्ष प्रचण्डको चाहना छ । त्यसैले एकता वैशाख ९ मा नभए पनि, केही ढीलो भएता पनि अवश्यै हुन्छ, हुनुपर्छ ।

एमालेको आरोप- प्रचण्डले प्रधानमन्त्री बन्न खोजे

एमालेका नेताहरुसँग कुरा गर्दा उनीहरु प्रचण्डले प्रधानमन्त्रीको सुनिश्चितता खोजेका कारण एकता प्रक्रियामा ढिलाइ भएको दाबी गर्छन् ।

माओवादी एमाले एकता प्रक्रियामा आएको उतार-चढावबारे कुराकानी गर्दा एमाले स्राेतले यस्तो विश्लेषण सुनायो-

-पार्टी एकताका क्रममा ५०/५० को बराबरी हैसियत र जनयुद्धका विषयहरु बाहिर आएता पनि प्रचण्डले अढाइ वर्षपछि आफू प्रधानमन्त्री हुने सुनिश्चितता केपी ओलीबाट खोजेका छन् । मौखिकरुपमा त ओलीले पहिले नै वचन दिइसकेका छन्, तर प्रचण्ड लिखितमा चाहन्छन्, ओली लिखित गर्न चाहँदैनन् ।

– संयुक्त दस्तावेजमा जनयुद्ध शब्द लेख्न आपत्ति छैन, जनयुद्ध कटु सत्य थियो, त्यो दस्तावेजमा लेख्न सकिन्छ । किनभने जनयुद्ध गर्ने कुरो होइन, भएको थियो भनेर लेख्न एमालेलाई आपत्ति छैन ।

-कतिपय बेलामा प्रधानमन्त्री ओलीको कार्यशैलीले पनि माओवादीमा आशंकाहरु जन्माउने गरेको छ । माओवादी नेतालाई बोलाएर उनी घण्टौं कुराइदिन्छन् । सरकार सञ्चालनमा पनि र पार्टी सञ्चालनमा पनि ओलीको कार्यशैलीमाथि पहिल्यैदेखि प्रश्न उठ्ने गरेको छ कि उनी सबैसँग सरसल्लाह गर्दैनन् । माधव नेपाल पक्षले पनि विगतमा यही गुनासो गर्दै आएको हो ।

– तथापि दुई पार्टीवीच बेलाबेला असमझदारी र आशंकाहरु जन्मिए पनि पार्टी एकता नै भाँडिने गरी सम्बन्ध चिसिँदैन, पार्टी एकता सुनिश्चित छ ।

खुमलटारमा माधव नेपाल खग्रंङ्ग !


आइतबार बिहानै वाइसिएलका नेताहरुसँग माओवादी अध्यक्ष प्रचण्डले ‘म गम्भीर भएको छु’ भनिसकेका थिए, उनै गम्भीर प्रचण्डलाई पार्टी एकताका लागि फकाउन भन्दै माधव नेपाल खुमलटार पुगे ।

सम्भवतः माधव नेपालले यो कुराको चाल पाइसकेका छन् कि प्रचण्डको नजर केपी ओलीप्रतिमात्रै सशंकित भनेको छैन, उनी माधव नेपालको भूमिकासँग पनि तर्सिएका छन् । त्यसैले विश्वासको वातावरण ओली र प्रचण्डका वीचमा मात्र होइन, माधव नेपाल र प्रचण्डका वीचमा पनि धुमिल भएको छ ।

माओवादी स्रोतहरुका अनुसार ओलीले माधव नेपाललाई भावी अध्यक्ष बनाउने आश्वास दिएका छन् र जसलाई प्रचण्डले आफूमाथि सिंगै एमाले नेतृत्वले गर्न लागेको विश्वासघातका रुपमा लिएका छन् ।

प्रचण्डले माधव नेपाललाई भित्रैदेखि विश्वास नगरेको र मध्यस्थकर्ता भन्दा पनि केपी ओलीको दूतका रुपमा लिएपछि नेता नेपाल खंग्रङ्ग बनेर खुमलटारबाट फर्किएको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यसो त आइतबारको भेटमा वाइसीएलका नेताहरुले प्रचण्डलाई एकीकृत पार्टीबाट दुईवटा अध्यक्ष बन्न नहुने र प्रचण्ड नै कार्यकारी अधिकार सहितको अध्यक्ष बन्नुपर्ने प्रस्तावसमेत राखेका थिए ।

तर, प्रचण्डले दुई अध्यक्षमा सहमति जनाइसकियो भन्दै आफूलाई अस्थिर नेताको आरोप लाग्ने भएकाले अब दुई अध्यक्षकै प्रणालीमा जान आफू तयार भएको जवाफ दिएका थिए ।

माओवादी स्रोतले भन्यो- ‘सुकुटे पुगेर पनि अध्यक्ष प्रचण्डले भन्नुभएको छ कि पार्टी एकता नेपाली जनताको म्यान्डेट हो, हामीले एकता गर्नैपर्छ । तर, केपी ओलीजीको कार्यशैली सच्याइनुपर्छ र बराबरी एवं सम्मानजनक हैसियतमा एकता हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment