Comments Add Comment

काठमाडौं महानगरमा सचिवले थाले काम, कर्मचारीले भने-अन्यायमा पर्‍यौं


३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदवहाली गरेका छन् । नेपाल सरकार मन्त्री परिषद्को चैत्र २० गते निर्णयअनुसार उनले सोमबार महानगरमा पदवहाली गरे ।

उनको पद वहालीसँगै महानगरले विशिष्ट श्रेणीको प्रमुख प्रशासकीय अधिकृत प्राप्त गरेको छ । यस अघि सरकारले सहसचिव स्तरका कर्मचारीलाई यो पदमा पठाउने गरेको थियो ।

पदवहाली गर्नु अघि महानगरको सभा कक्षमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै सचिव कोइरालाले कार्यालय समयमा इमान्दारिताका साथ काम गर्न, नागरिकलाई दुःख नदिन र महानगर म आफैं बनाउँछु भनेर प्रतिवद्धता जनाउन कर्मचारीहरुलाई आग्रह गरे ।

‘सहरमा बिग्रेका कुरा धेरै छन् । सुशासन र वित्तीय अनुशासनका सवालमा कुरा चलेका छन् । यसलाई सुधार गर्ने जिम्मेबारी सबैको हो । विविधतापूर्ण महानगरमा एकीकृत र योजनावद्ध सेवा दिन र जनप्रतिनिधि बनाएका नीति कार्यान्वयन सदैव तत्पर रहनुपर्छ,’ सचिव कोइरालाले भने ।

उनले तत्कालका लागि वातावरणीय सुधार गर्ने, सडकका खाल्टा खुल्टी पुर्ने, करको दायरा फराकिलो बनाउने, सडक किनारामा रहेको अव्यवस्थित बस्ती व्यवस्थित गर्ने, पैदल मार्गमा व्यापार शुन्य बनाउने र विगतमा सम्पन्न हुन नसकेका योजनाको समीक्षा गरेर सुधारका काम तत्काल गर्न आफूले प्रयास गर्ने बताए ।

महानगरका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले कर्मचारी समायोजनका क्रममा साविक स्थानीय निकायमा काम गर्ने कर्मचारीहरुको मनोवल घट्ने गरी काम भइरहेको भन्दै आफूहरु अन्यायमा परेको बताए ।

‘काम गर्ने अनुभव, सीप र जाँगर छ, तर वातावरण बिग्रिँदै गएको छ । यसलाई सुधार गर्न हाम्रा कुरा सिधै नेपाल सरकारमा पुर्‍याइदिनुपर्‍यो,’ कार्कीले सचिवलाई भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment