Comments Add Comment

सांसदको नाममा जाने रकम यसरी हुन्छ दुरुपयोग

योगशिविरमा भत्तादेखि साइकल वितरणसम्म


३ वैशाख, काठमाडौं । सांसदहरुले ३ करोडको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट १० करोड पुर्‍याउन माग गरेका छन् । तर, सांसदले लैजाने रकमको चरम दुरुपयोग हुने गरेको पाइएको छ ।

महालेखा परीक्षकको बाषिर्क प्रतिवेदन अनुसार योग शिविर चलाएको भनेर प्रशिक्षण भत्तामा समेत सांसद कोषको रकम खर्च भएको पाइएको छ । जिल्ला समन्वय समिति काठमाडौंले योगशिविर चलाएको भन्दै साढे ३० लाख खर्च गरेको छ ।

कोटेश्वरमा उपभोक्ता समितिमार्फत चलाइएको योग शिविरको प्रशिक्षक भत्तामा ७ लाख २८ हजार, खाना, त्रिपाललगायतमा ६ लाख ६१ हजार खर्च गरेको भेटिएको छ । कागेश्वर मनहरामा भाषा र योग शिविरमा २० लाख ३१ हजार र कुलेश्वरमा योगपार्क निर्माणमा ११ लाख ५० हजार खर्च गरेको भेटिएको छ ।

जबकि निर्वाचन क्षेत्र विकास कार्यसञ्चालन कार्यविधिअनुसार योग शिविरमा खर्च गर्न मिल्दैन ।

यस्तै संसदहरुले लैजाने रकम रकम वितरणमुखी काममा समेत खर्च हुने गरेको भेटिएको छ । जिसस बाराले १७० र रौतहटले ३१४ थान साइकल वितरणमा ३४ लाख २८ हजार खर्च गरेको भेटिएको छ । जब कि यो रकम वितरणमुखी कार्यक्रम, सभा सम्मेलन वा गोष्ठीहरुमा खर्च गर्न पाइँदैन ।

यस्तै पर्सामा २८ वटा योजनामा १ करोड ७ लाख ९८ हजारको स्रेस्ता बाढीले भिजेको भन्दै लेखा परीक्षण नै नगरेको पाइएको महालेखाले जनाएको छ ।

रकम खर्च गर्नकै लागि उपभोत्ता समितिले गर्नुपर्ने काममा पनि निर्वाचन क्षेत्र विकास कार्यक्रममको रकम प्रयोग गरेको भेटिएको छ । कार्यविधि अनुसार योजना छनोट नगर्नेदेखि नियमावली विपरीत उपभोक्ता समितिबाट काम गरेका जस्ता विगतका कमीकमजोरीहरु यो वर्ष पनि उस्तै रहेको महालेखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment