Comments Add Comment

बार्सिलोनामा गुञ्जियो नेपाल आइडल

१८ अप्रील, बार्सिलोना । पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाले आफ्नै स्वरको गजल ‘तिमी साथ भएपछि…’ गाउँदै  दर्शकलाई भाबुक बनाए।

सुरेश वाग्लेद्वारा रचना गरिएको गजलमार्फत उनले मंगलबार स्पेनको बार्सिलोनामा आयोजना गरिएको नयाँ वर्ष  बिशेष सांगीतिक कार्यक्रममा आफ्नै स्वर सुनाएका हुन् ।

त्यसो त नेपाल आइडल यात्राको क्रममा उनको प्रस्तुतिलाई अत्याधिक रुचाइएको ‘उ जितेर गइ या हारेर गइ…’ बोलको गजल सुनाएर यात्रालाई फेरि ताजा बनाए।

राज सिग्देलको आवाजमा रहेको उक्त गजल गाउँदा उनले सर्जकलाई पनि सम्झिए। बार्सिलोनामा दर्शकहरुलाई सम्बोधन गर्दै पहिलो नेपाल आइडल लामा भन्दै थिए,’ तपाईहरुको मायाले यो स्थानसम्म आएको हुँ, आउँदा दिनमा आफ्नै स्वरमा नयाँनयाँ गीत उपहार लिएर आउने छु।’

पहिलो चरणमा सबैलाई भाबुक बनाएका गायक लामाले दोस्रो चरणमा भने दर्शकहरु उफारे। नेपाली चलचित्र कालीको ‘बट स्लोली स्लोली’, प्रमोद खरेलको ‘ओई झुमा झुम्कावाली’ जस्ता चर्चित गीतहरुले बार्सिलोना तताए।

माइतिघरको ‘जिन्दगीलाई जित हैन…गीतबाट अडिसनमा मन जित्दै नेपाल आईडल यात्रा सुरु गरेका निशान्त भट्टराईले सोहि गीत सुनाए। फर्स्ट रनरअप भट्टराईले “छोरि भन्दा आमा तरुनी…’, ‘तुलसी आगानमा रोपौन…’, ‘उकाली ओराली गर्दै…’पिलायो साथीले…’ लगायतका चर्चित गीतहरु सुनाउँदै दर्शकहरुको मन जिते।

त्यसो त सेकेन्ड रनरअप प्रताप दासले सुरुअातमा स्वर सम्राट नारायण गोपालको ‘मलाई माफ गरिदेउ…’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए। ‘प्रेम गित-२’ को आफ्नै आवाजमा रहेको गीत, ‘मोटर साइकलमा…’ बाट उनले दर्शकहरुको मन जिते। सबै भन्दा पहिले स्टेज चढेका गायक दासले बुद्दि परियारको शब्द तथा संगीतमा रहेको हेर्दा राम्रो माछापुछ्रे …’  बोलको गीतले दर्शकलाई नचाए।

नेपाली जनसम्पर्क समिति स्पेनले नयाँ बर्षको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रस्तोता सुशील नेपाल उनीहरुसँगै टिममा थिए।

नेपाल आइडलसँगै स्थानीय कलाकारहरु तथा नेपाली पाठशाला बार्सिलोनाका बालबालिकाहरुले समेत प्रस्तुति राखे । जनसम्पर्क समिति स्पेनका अध्यक्ष ईन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा युरोप काँग्रेस अध्यक्ष दिल गुरुङ सहभागी थिए।

‘हाम्रो इभेन्ट नर्वे”को स्पोन्सरमा नेपाल आईडल टोली युरोप आएको हो। ‘युरोप टुरका’ क्रममा कलाकारहरुले जर्मनी,बेल्जियम नेदरल्यान्ड्स,डेनमार्क,नर्बे,पोल्याण्ड र स्पेनमा प्रस्तुति राखिसकेका छन्।

तस्बिर:-साईग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment