Comments Add Comment

बलात्कार घटनामा मिलापत्र गर्न जनप्रतिनिधिको ‘दबाव’

आरोपीलाई राजनीतिक संरक्षण दिइएको पीडितको गुनासो

प्रतीकात्मक तस्वीर

६ वैशाख, मोरङ । मोरङको सुन्दरहरैंचा  नगरपालिका वडा नं. ७ को ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ ।

यही वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बिस्कुट दिने वहानामा घरमा बाेलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दावी छ । ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् । त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् । बालिकालाई तत्काल बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो ।

घटनालगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिए पनि प्रहरीले आरोपीलाई अझै पक्राउ गरेको छैन । घटनालाई राजनीतिक रंग दिइएको र आरोपीलाई राजनीतिक संरक्षण दिएर भगाइएको आरोप पीडित पक्षको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका पीडित बालिकाका बुवाले भने, ‘मेरो घरमा महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु गएको बेला सुन्दरहरैंचाका वडाअध्यक्षले यो कुरा मिल्नमिल्न लागिसकेकोले धेरै नउठाइदिनुहोला भनेछन् । अपराधीलाई राजनीतिक संरक्षण दिएर भगाइसकिएको छ ।’

घटना भएलगतै स्थानीय अगुवाहरुलाई घटनाको बारेमा आमाले जानकारी गराए पनि वडा अध्यक्ष चैतन्य सिटौला बाहिर भएको बताएपछि भोलिपल्ट घटनाको विषयमा छलफल गर्ने भनिएको थियो । तर भोलिपल्ट पीडक मगर फरार भएको पीडित बालिकाकी आमाले बताइन् । पीडितकी आमाले घटनाबारे सुन्दरहरैचा नगरपालिकाकी उपमेयरलाई समेत जानकारी गराइएकी थिइन्।

पैसामा मिलापत्र गराउने प्रयास

समाजका भद्रभलादमी भनिने स्थानीय केही व्यक्तिहरुले समेत मिलापत्र गर्न दबाव दिएको आरोप बालिकाका बुवाले लगाए ।

उनले भने, ‘एकचोटी गल्ती भयो माफ पाऊँ भनेको छ । अबदेखि यस्तो गल्ती गर्दिनँ भनेकाले मिलौं भनेर स्थानीय केही व्यक्तिहरुले भनेका छन् । तर म छाड्दिनँ, कानुनीरुपमा अघि बढिसकेको छु ।’

बालिकाको आमाको भनाइअनुसार पीडक मगरको छोरा चन्द्रबहादुरले पैसा दिन्छु, मिल्नु पर्छ भनेर दबाव दिँदै आएका छन् । ‘बुवा ल्याउँछु, प्रहरी केस नगरेरै गाउँमा मिलाऔं भन्दैछ,’ बालिकाकी आमाले अनलाइनखबरसँग भनिन्, ‘वडा सदस्य भुवनसिंह मगरले पनि गाउँमै मान्छे भेला पारेर गाउँमै मिलाउनुपर्छ भन्छन् ।’

घटनापछि छोरी स्कुल जानसमेत नमानेको र श्रीमान विदेशमा रहेकाले धेरै समस्या भइरहेको बालिकाकी आमाले बताइन् ।

मिलापत्र गराउन सकिँदैनः प्रहरी

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजि कटुवालले २४ घण्टाभित्र अपराधीलाई पक्रने भने पनि अझै नपक्रेको गुनासो अभिभावकको छ ।

तर प्रहरी निरीक्षक कटुवालले मगरको खोजी भइरहेको बताए । उनले घटनामा मिलापत्र गराउन नसकिने स्पष्ट पारे । पीडकको पहिचान भइसकेकाले कानुनी कारवाही हुने उनले बताएका छन् ।

गाउँलेले ढिला खबर गरेकाले आरोपी भाग्न सफल भएको प्रहरीको भनाइ छ । तर घटना भएको यतिका दिनसम्म पनि गुपचुप राख्नुले प्रहरीको भूमिकामा समेत पीडित पक्षले प्रश्न उठाएको छ ।

प्रहरीले घटनाबारे जानकारी गराएनः मेयर ढकाल

सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले भने आफूलाई यो घटनाको विषयमा जानकारी नै नभएको दाबी गरे । आफ्नै नगरपालिकामा यति ठूलो घटना हुँदा पनि प्रहरीले समेत जानकारी नगराएको मेयर ढकालको भनाइ छ । उनले पीडित पक्षलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment