Comments Add Comment

प्रम ओलीलाई प्रदेश सांसदको ब्यंग्य : राजेश हमाल र भुवन केसीभन्दा हिट हुनुस्

'रातो सूर्य' कै सुटिङका लागि राराबाट सम्बोधन भएको हो ?'

फाइल तस्वीर

६ वैशाख, पोखरा । ‘मैले अत्यन्तै आदर गर्ने केपी ओलीज्यू राजनीतिमा जस्तै अभिनय जगतमा समेत शीर्षमा पुग्न सकुन्, राजेश हमाल र भुवन केसीभन्दा ठूलो सफल हिरो हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, बिहीबार प्रदेशसभा ४ को बैठकमा सांसद कुमार खड्काले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा आधारित फिल्म रातो सूर्यको प्रसंग निकाल्दै उनले भने ‘उहाँको प्रशंसक भएको हुँदा उहाँको अभिनय यात्रा सफल र ‘रातो सूर्य’ फिल्म सुपर डुपर हिट होस् भनेर माता विन्ध्यावासिनीसँग ४ किलो लड्डु चढाउने भाकलसमेत गरेको छु ।’

प्रदेशसभा बैठकमा सांसद खड्काले बिहीबार विशेष समयमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको व्यंग्यले चर्चा पायो । सांसद खड्काले रारा तालबाट गरेको सम्बोधन र रारामा रातो सूर्य चलचित्रको छायांकनका लागि कार्यक्रम गरिएको खबर बाहिर आइरहेको भन्दै ओलीप्रति व्यंग्य गरे ।

‘प्रधानमन्त्रीज्यूले नयाँ वर्षमा राराबाट गर्नुभएको सम्बोधन राष्ट्रहित, राष्ट्रिय कर्तव्य, पूरा गर्न नभइ रातो सूर्य चलचित्रको लागि आवश्यक दृश्य संकलनको लागि गरिएको सुटिङ थियो भनेर समाचार सप्रेषण गरिएको छ,’ खड्काले भने ।

उच्च सुरक्षा घेरामा रहेका प्रधानमन्त्रीले राराको डिलबाट सम्बोधन गरिरहँदा अत्यन्तै अस्वभाविक रुपमा रारा र प्रधानमन्त्रीको कुर्सीबीचबाट मानिसहरु हिँडिरहेको दृश्य फिल्मी भएको खड्काले आरोप लगाए ।

खड्काले ‘रातो सूर्य’ कै सुटिङका लागि राराबाट सम्बोधन भएको हो वा होइन भन्ने विषयको जानकारी गराउन मागसमेत गरेका छन् । ‘यसको सत्य तथ्य पत्ता लगाई राष्ट्रिय ढुकुटी दुरुपयोग भएको, नभएकोबारे राष्ट्रलाई जानकारी गराउन सभामुखमार्फत् आग्रह गर्दछु,’ खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment