Comments Add Comment

सिन्डिकेटको गाँठो खोल्न सिंहदरबारमा गोप्य वार्ता !

यातायात मन्त्री लचिलो, गृहमन्त्री कडा


७ वैशाख, काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको भनाइलाई पत्याउने हो भने अहिले सरकारसँग यातायात व्यवसायीको दोहोरो सम्वाद टुटेको छ । तर, पछिल्ला तीनदिनयता भित्रभित्रै केही यातायात व्यवसायीहरु सिंहदरबार छिरेर खुसुखुसु मन्त्री र सचिवसँग भेट गरिरहेको खुलासा भएको छ ।

गृहसचिव प्रेमकुमार राईलाई बुधबार भेटेका एमालेनिकट यातायात व्यवसायीले बिहीबार एमाले नेतासमेत रहेका यातायात मन्त्री रघुबीर महासेठलाई भेटेका छन् । तर, सरकारीस्तरमा भइरहेको यस्तो भेटवार्तामा महासंघको नेतृत्वमा रहेका कांग्रेसनिकटका व्यवसायी भने सहभागी छैनन् ।

महासंघको साधारणसभामा वाम पक्षबाट अध्यक्षमा उठेर चुनाव हारेका डोलनाथ खनाल, राष्ट्रिय यातायात व्यवसायी सर्बोच्च  महासंघका उपाध्यक्ष लेखनाथ सुवेदी लगायतका व्यवसायीले मन्त्री महासेठ र सचिव राईसँग भेट गरेका हुन् ।

उनीहरुले सरकारसँग अहिलेको अवस्थालाई ‘सेफ ल्याण्डिङ’ खोज्न आग्रह गरेको दाबी गरेका छन् । यातायात व्यवसायीको अध्यक्षमा उठेर पराजित भएका खनालले सरकारसँग वार्ताबाटै अहिलेको समस्या सुल्झाउनुपर्ने अनलाइनखबरसँग बताए । त्यसैले आफ्नो पहलमा नै सरकारी स्तरमा छलफल चलाएको उनले बताए ।

‘व्यवसाय नै ध्वस्त पार्ने गरी सरकारले कदम चालेको छ, यो सच्याइनुपर्छ,’ खनालले भने, ‘सुरुमा व्यवसायीले सरकारसँग सम्वाद गर्नैपर्छ, सरकारले सम्वादबाटै समाधान दियो भने आन्दोलनसम्म पुग्नुपर्दैन ।’

वामनिकट व्यवसायीले आन्दोलन सुरु हुने दिन आउनुअघि नै बन्द गरिएको समितिहरुको नवीकरण खोल्न सरकारसँग आग्रह गरेको जानकारी दिए । उनीहरुले सरकार लचक भएर कम्पनीमा जाने समय सीमा लम्ब्याउनुपर्ने पक्षमा मन्त्री र सचिवसँग लबिङ गरेका छन् ।

यातायात मन्त्री रघुबीर महासेठ मध्यमार्गी बाटो खोज्नुपर्ने पक्षमा लचक देखिएको वाम यातायात व्यवसायीको दाबी

सिन्डिकेटको समर्थनमा हुन लागेको आन्दोलनमा समर्थन नगर्ने स्थिति तयार गर्न वाम विचार बोक्ने महासंघका पदाधिकारी तथा यातायात व्यवसायीले सरकारबाट केही लिखित आश्वासन पाउनुपर्ने माग गरेका छन् । त्यसकै लागि उनीहरु विभिन्न मन्त्री तथा सचिवसँगको भेटघाटमा व्यस्त भएका हुन् ।

सरकारले असारपछि कुनै समितिको पनि नवीकरण नगर्ने निर्णय गरेकोमा कम्तिमा अर्को एक वर्ष कम्पनीमा जान समय दिनुपर्ने गरी सरकारलाई मध्यमार्गी बाटो खोज्न आग्रह गरेको एक वामनिकट यातायात व्यवसायीले बताए ।

व्यवसायीको मागमा गृहमन्त्री रामबहादुर थापा बादल सकारात्मक छैनन् । यातायात मन्त्री रघुबीर महासेठ भने मध्यमार्गी बाटो खोज्नुपर्ने पक्षमा लचक देखिएको वाम यातायात व्यवसायीको दाबी छ ।

‘गृह मन्त्रालयले हामीलाई उत्साहजनक प्रतिक्रिया दिएको छैन । यातायात मन्त्रीज्यू भने केही सकारात्मक हुनुहुन्छ, उहाँले अहिले आन्दोलन रोकेर मध्यमार्गबाट जान सकिने संकेत दिनुभएको छ’ एमालेनिकट एक यातायात व्यवसायीले अनलाइनखबरसँग भने ।

यातायात मन्त्रालयका एक अधिकारी भने अहिले मन्त्री महासेठले व्यवसायीसँग भेटेर कुनै आश्वासन नदिएको दाबी गरे । मन्त्री महासेठले दह्रोसँग खुट्टा नटेके सिन्डिकेटले फेरि टाउको उठाउने अवस्था आउनेमा यातायात विभागका अधिकारीहरु चिन्तित छन् ।

उनीहरुलाई यातायात मन्त्री महासेठको सक्रियताले सिन्डिकेटलाई पोस्ने खिचडी पाक्ने हो कि भन्ने डर छ । मन्त्री महासेठ व्यवसायीको मागमा नरम देखिए पनि मन्त्रालयका अधिकारीहरुले भने अब सरकार सिन्डिकेट तोड्ने निर्णयबाट कुनै पनि हालतमा फिर्ता नहुने अडान व्यक्त गरेका छन् ।

आन्दोलनमा वामपन्थी र कांग्रेसका दुई धार

सिन्डिकेटको समर्थनमा यातायात व्यवसायीले घोषणा गरेको आन्दोलनमा दुईवटा धार देखिएका छन् ।

सिन्डिकेटको समर्थनमा घोषित आन्दोलनलाई अहिले वामनिकटका यातायात व्यवसायीले खुलेर समर्थन गर्न सकेका छैनन् । तर, बिरोध गर्दा व्यवसायीबीच अलोकपि्रय भइने डरले उनीहरु आन्दोलनलाई नैतिक समर्थन रहेको बताइरहेका छन् ।

यसैवीच, गृहमन्त्रालयका एक उच्च अधिकारीको दाबीलाई विश्वास गर्ने हो भने योपटकको आन्दोलनमा कांग्रेससम्वद्ध व्यवसायीको मात्रै सहभागिता हुनेछ ।

महासंघका कांग्रेससम्बद्ध पदाधिकारी तथा व्यवसायीले भने एमाले र माओवादीनिकटहरुकै कारण आन्दोलनमा फुट आउने वातावरण आएको टिप्पणी गरेका छन् । कांग्रेससम्बद्ध व्यवसायीले सरकारसँग वार्ता गर्नुको तुक नहुने भन्दै आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउनुपर्ने बताउँदै आएका छन् ।

आन्दोलनको अग्रभागमा कांग्रेसनिकट व्यवसायी मात्रै देखिएका छन् । आन्दोलनका संयोजक रहेका महासंघका अध्यक्ष तथा बनेपाका पूर्वउपमेयर योगेन्द्र कर्माचार्य स्थानीय तहको चुनावमा कांग्रेस कांग्रेसबाट बनेपा नगरपालिकाको मेयरका आकांक्षी थिए ।

त्यस्तै आन्दोलन समितिका सहसंयोजक अर्जुन रानाभाट पनि रुपन्देहीबाट कांग्रेस राजनीतिमा सक्रिय छन् । त्यस्तै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ अध्यक्ष खगेश्वर बोहोरा कांग्रेसकै महासमिति सदस्य हुन् । उनी कञ्चपुरबाट प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा आकांक्षी थिए ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्याल धादिङमा प्रतिनिधिसभा निर्वाचनबाट एमालेका भूमि त्रिपाठीसँग पराजित कांग्रेस नेता हुन् ।

यो आन्दोलनमा अहिले देखिएका वामनिकट एकमात्रै व्यवसायी हुन् महासंघका महासचिव सरोज सिटौला । उसले प्रचारप्रसार समितिको जिम्मा पाएका छन् ।

माओवादीनिकट सिटौला खरो बोल्ने स्वभावका कारण यातायात व्यवसायीबीच लोकप्रिय छन् । तर, पछिल्लो समयमा उनको पनि स्वर पनि मलीन हुन थालेको छ । उनले आन्दोलनको प्रचारका लागि सक्रिय भूमिका पनि निभाएका छैनन् ।

वामपन्थीले आन्दोलन तुहाउने कांग्रेसलाई डर

मन्त्री र सचिवहरुसँगको साँठगाँठमा लागेर सरकारलाई सहयोग हुने गरी वामनिकट व्यवसायीले कुनै पनि कदम चाल्न सक्ने भन्दै कांग्रेस समर्थक व्यवसायीहरु सशंकित बनेको नेपाल ट्रक व्यवसायी महासंघका एक पदाधिकारीले बताए ।

एमाले तथा माओवादीनिकटका यातायात व्यवसायीले चलाइरहेको भित्री वार्ता यातायात व्यवसायीको घोषित आन्दोलन तुहाउन केन्दि्रत रहेको आशंका कांग्रेसनिकट व्यवसायीको छ ।

‘एमाले र माओवादीसम्वद्ध साथीहरुले आन्दोलनलाई खुलेर समर्थन नगरेको सत्य हो, तर, वार्ता गर्ने र विवाद मिलाउने नाममा सरकारसँग नै मिलेर आन्दोलनलाई असफल बनाउने खेलमा उहाँहरु लाग्नुभयो भने त्यसको मूल्य उहाँहरुले नै चुकाउनुपर्छ,’ उनले भने ।

तर, कांग्रेस निकट व्यवसायीले लगाएको आरोप वामपन्थी यातायात व्यवसायीले अस्वीकार गरेका छन् ।

एमालेनिकट व्यवसायी खनालले सरकारले चालेको कदम फिर्ता नभए आफूहरु पनि आन्दोलनमा जाने बताए । तर, अहिलेको समस्या वार्ताबाटै सल्टिन सक्ने भएकाले आफूहरुले सहमतिका लागि मिहेनत गरिरहेको खनालको दाबी छ ।

उता वामपन्थी यातायात व्यवसायीले आन्दोलनका बेलामा समेत गाडी चलाउन सक्ने जनाउ दिइसकेकाले आन्दोलत तुहिन सक्ने अपेक्षा सरकारलाई छ । साथै यातायात मजदुरहरुले पनि आन्दोलनमा सहभागी नहुने जनाएपछि सरकारी अधिकारीहरुले राहतको महसुस गरिरहेका छन् ।

वाम यातायात व्यवसायीलाई सरकारको गोप्य मन्त्रणा ?

आन्दोलनमा वामपन्थी यातायात व्यवसायीको भूमिकाबारे अहिले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघभित्र बहस चर्किएको छ । एक व्यवसायीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफ्नो पार्टीको निकट रहेका व्यवसायीहरुसँग सरकारलाई असहयोग गर्ने गरी आन्दोलन नगर्न गोप्य मन्त्रणा गरिसकेका छन् । र, यसलाई कार्यान्वयन गर्न भक्तपुरका एकजना एमाले सांसद सक्रियरुपमा खटेका छन् ।

वामनिकट व्यवसायीलाई आन्दोलनबाट अलग गराउन प्रधानमन्त्रीले एमालेका दोस्रो तहका नेताहरुलाई जिम्मा दिएको स्रोतको भनाइ छ । र, अहिले तिनै नेताहरुले व्यवसायीलाई मन्त्री र सचिवसँग सम्वाद गराएका हुन् । यसमा एमालेका एक सांसदसमेत सहभागी छन् ।

प्रधानमन्त्री ओलीले अहिले सरकारलाई अहसयोग गर्ने व्यवसायीको राजनीतिक यात्रा सहज नहुने चेतावनी दिएपछि महासंघका वाम नेताहरु झस्किएको बताइन्छ ।

यातायात व्यवसायसँगै पार्टीको राजनीतिमा समेत लागेका व्यवसायीहरुलाई प्रधानमन्त्रीको चेतावनीले आन्दोलनमा नजान नैतिक दबाव परेको छ । तर, कांग्रेससम्वद्ध व्यवसायीलाई आन्दोलनमा जानबाट वाम यातायात व्यवसायीले रोक्न सक्लान् ? यसका लागि भने केही दिन कुर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment