Comments Add Comment

ओली र प्रचण्डले अझै जुराएनन् एकता घोषणाको मिति

८ वैशाख, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकता घोषणाको मिति जुराउन असफल भएका छन् ।

ओली र प्रचण्डबीच तीन दिनदेखि लगातार ‘वान टु वान’ वार्ता भएको छ । शनिबार वार्ता भएको थियो । तर, ठोस सहमति हुन नसकेको स्रोतले बताएको छ ।

भोलि कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता संयोजन समितिले संयुक्त कार्यक्रम राखेको छ । कार्यक्रममा ओली र प्रचण्ड दुबैले सम्बोधन गर्नेछन् ।

तर, छिट्टै पार्टी एकता गर्ने बाहेकका कुनै ठोस सहमति नआउने एक नेताले बताए । ‘भोलि पार्टी एकताको मिति नआउने भयो’ माओवादी एक नेताले भने, ‘उहाँहरुबीच छलफल हुन बाँकी रहृयो ।’

नेताहरुले विश्व मजदुर दिवसको अवसर पारेर वैशाख १८ अर्थात मे १ मा एकता घोषणा गर्न उपयुक्त हुने बताएका छन् । तर, ओली र प्रचण्डबीच सहमति नभएसम्म एकता कहिले गर्ने भन्न सकिने अवस्था छैन ।

यसअघि दुई दलले सुरूमा ९ वैशाखमै पार्टी एकता गर्ने योजना बनाएका थिए । तर, ओली र प्रचण्डबीच सहमति हुन नसकेपछि एकता प्रक्रिया लम्बिएको छ ।

शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् ।

माओवादीले समान हैसियतमा मात्र एकता हुन सक्ने बताएको छ भने एमालेले ५०-५० असम्भव बताएको छ ।

पछिल्लो समय प्रचण्डले एकतापछिको पहिलो महाधिवेशनबारे पनि प्रष्ट हुन चाहेका छन् । उनले एमाले अध्यक्ष ओलीसँग बैचारिक राजनीतिक विषयमा कसरी निर्णय गर्ने ? नेतृत्व चयनको मोडालिटी लगायतका विषयमा छलफल गरेका छन् ।

तर, एमाले नेताहरुले भने महाधिवेशनबाट नेतृत्व दिने लिखित सहमति गर्न नसकिने बताउन थालेका छन् । यसले प्रचण्डले यही अडान राखेको बुझिन्छ ।

यद्यपि माओवादी नेताहरु नेतृत्व दाबीबारे अहिले यसबारे खुलेर कुरा गर्न तयार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment