Comments Add Comment

नेपालका कम्युनिष्टको नालीबेली


आज अप्रिल २२ लेनिनको जन्मजयन्ती हो । लेनिनको जन्म दिन पारेर आजभन्दा ६८ वर्ष अगाडि नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको हो । निरङकुश राणा शासनको दबदबा भएको बखत पुष्पलालको अगुवाइमा विसं २००६ बैशाख १० गते तदनुसार १९९४ अप्रिल २२ मा भारतको कोलकातास्थित श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

पार्टी स्थापना गर्दा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी हुनुहुन्थ्यो । पार्टी स्थापनाको २ दिन पछि २४ अप्रिलमा नै नेपाली जनताका नाममा अपिल (पर्चा) प्रकाशित गरी सामन्ती शासनको अन्त्य गर्ने, जनताको पूर्ण नागरिक स्वतन्त्रताको प्रत्याभूति गर्ने र किसान तथा मजदुरको अधिकारका लागि किसान मजदुरको सरकार गठन गर्ने र सामन्तवाद साम्राज्यवादविरोधी नवप्रजातन्त्र ल्याउनका लागि कम्युनिष्ट पार्टी स्थापना भएको पर्चामा उल्लेख थियो ।

पार्टी स्थापनाको ४ महिनापछि २००६ भाद्र ३० (१५ सेप्टेम्बर १९४९) मा पार्टीको केन्द्रीय सगंठन कमिटी गठन भएको थियो । जसमा महासचिवमा पुष्पलाल, र सदस्यहरुमा मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र अयोध्याप्रसाद सिंह थिए । तर, केन्द्रीय संगठन कमिटीका अन्य ४ जना संस्थापक सदस्यहरु किन समावेश हुन सकेनन् ? अनुत्तरित नै रहेको छ ।

केन्द्रीय संगठन कमिटीको घोषणासंगै पार्टीको प्रथम घोषाणपत्र जारी भएको थियो । घोषणा पत्रमा नेपाली क्रान्तीको भावी दिशा १२ बुँदामा उल्लेख गरिएको थियो । जसमा सामन्तवाद एवं साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्ती, किसान र मजुदरको नेतृत्वमा निर्वाचित सरकार, संविधान सभाबाट संविधान निर्माण, क्रान्तीकारी भुमिसुधार, श्रमिक एवं किसानको अधिकारको सुनिश्चितता, स्वाधीन अर्थतन्त्रको निर्माण र सर्वशुलभ शिक्षा जस्ता आधारभूत विषय उल्लेख गरिएको थियो ।

वि.सं. २००८ असोज ११—१६ गते सम्म सम्पन्न प्रथम सम्मेलनमा महासचिव पुष्पलालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मुलुकमा नयाँ जनवादी क्रान्ति गरेर अर्धसामन्ती र अर्धऔपनिवेश स्थितिको अन्त्य गर्ने उल्लेख गरेर नेपाली क्रान्तिको कार्य दिशा उल्लेख गरिएको थियो ।

वि.सं. २०१० माघ १३—१७ गतेसम्म प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । तर, पहिलो महाधिवेशन अगावै नै संस्थापक महासचिव पुष्पलाललाई महासचिवबाट हटाइएका कारण महाधिवेशनमा महासचिवको हैसियतले मनमोहन अधिकारीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तर, प्रथम सम्मेलनबाट पारित कार्य दिशा अनुरुप प्रथम महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत नभएका कारण नयाँ जनवादी क्रान्तीको लक्ष्य तय हुन सकेन ।

कम्युनिष्ट पार्टीको इतिहासलाई नियाल्दा पहिलो महाधिवेशनदेखि नै नेतृत्व र कार्य दिशामा विवाद र मतभेदहरु उत्पन्न हुन थालेको पाइन्छ । पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन २०१४ जेष्ठ १४, (२८ मे, १९५७) मा काठमाण्डौमा सम्पन्न भयो ।

प्रथम महाधिवेशनबाट निर्वाचित महासचिव मनमाहेन अधिकारी स्वास्थ्य उपचारको लागि चिन जानु भएपछि दोस्रो महाविधेशनमा केशरजंग रायमाझीले कार्यवाहक महासचिवको हैसियतले “पार्टी कार्यक्रममा परिवर्तन किन” ? भन्ने प्रतिवेदन पेश गरेका थिए । रायमाझीले प्रस्तुत गरेको संवैधानिक राजतन्त्र परस्त कार्यक्रमलाई महाधिवेशनले परास्त गरी पुष्पलालले प्रस्तुत गरेको गणतन्त्र र संविधान सभाको नारालाई बहुमतले पारित गर्‍याे । तर, महासचिव भने केशरजंग रायमाझी बने । यसले गर्दा कम्युनिष्ट पार्टीको नीति र नेतृत्वमा तालमेल भएन । नेतृत्वमा रहेका रायमाझीले गणतन्त्रको नारालाई अगाडि बढाएनन् ।

वि.संं २०१५ मा तत्कालीन राजा महेन्द्रले जारी गरेको संविधान र सो अन्तरगत गरिने आम निर्वाचनको विषयमा पार्टीभित्र विवाद भयो । संविधान सभा र गणतन्त्रको नारा बोकेको पार्टीका सामु निर्वाचनको विषयले उत्पन्न गरेको विवादलाई तेश्रो महाविधेशनमा लगेर छलफल गर्ने गरी विवाद टुङ्गियो र पार्टीले चुनावमा भाग लिने निर्णय गर्‍याे । नेपाली कांग्रेसले दुई तिहाइ संख्यामा संसदमा विजयी हासिल गर्‍याे भने कम्युनिष्ट पार्टीका ४ जना उम्मेदवार मात्र विजयी बने ।

वि.सं. २०१७ मा राजा महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था र जननिर्वाचित सरकारलाई “कु” गरी निर्दलीय पञ्चायती व्यवस्था लागु गरेर दलहरुमाथि प्रतिवन्ध लगाए । दलहरु प्रतिवन्धित भएपछि पार्टीका गतिविधि भूमिगत ढंगले सञ्चालन भए ।

राजाको प्रतिगामी कदम र पार्टीको भावी दिशाका बारेमा कम्युनिष्ट पार्टीको विस्तारित बैठक भारतको दरभङ्गामा आयोजना भयो । बैठकमा केशरजंग रायमाझीले राजाका गतिविधिलाई समर्थन गरेपछि पार्टी वैचारिक अन्योलको भुँमरीमा फस्यो । त्यसपछि पार्टी केन्द्र मातहतका पाँच प्रान्तीय समितिका प्रतिनिधिहरुको वि.सं.२०१८ पौष ९—१० गते भारतमा भएको भेलाले तुल्सीलाल अमात्यलाई सचिवमा चयन गर्‍याे । वि.सं. २०१९ बैशाख ४—१५ मा पार्टीको तेश्रो राष्ट्रिय महाविधेशन आयोजना भयो । महाविधेशनले तुल्सीलाल अमात्यद्धारा प्रस्तुत “राष्ट्रिय प्रजातन्त्र”को कार्यक्रमलाई पारित गर्दै तुल्सीलाललाई महासचिवमा निर्वाचित गर्‍याे ।

बास्तवमा तेश्रो महाधिवेशनबाट पारित कार्यक्रमले पार्टी स्थापनाको घोषणापत्रको लक्ष्य र उद्देश्य नयाँ जनवादी कार्यक्रमलाई विस्थापित गर्ने काम गरेको थियो । एकातिर रायमाझीले दरबार परस्त नीति लिनु अर्को तिर तुल्सीलालले प्रस्तुत गरेको राष्ट्रिय प्रजातन्त्र कार्यक्रमले पार्टीका घोषित उद्देश्यलाई पूरा नगरेकोे ठहर गर्दै वि.सं. २०२५ जेष्ठमा पुष्पलालको अगुवाइमा तेश्रो महाधिवेशन भयो र महासचिवमा पुष्पलाललाई निर्वाचित गर्‍याे ।

तर, पुष्पलालले पुर्नगठन गरेको पार्टी र नेतृत्वप्रति असहमति व्यक्त गर्दै पुष्पलाललाई “गद्धार” घोषणा गरियो र मोहनविक्रम सिंहको नेतृत्वमा केन्द्रीय न्यूक्लियस गठन भयो । ०३१ भाद्र ३१ असोज ७ मा चौथौ महाधिवेशन सम्पन्न भयो । उता पुष्पलाल र मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टीबाट असन्तुष्ट भएका झापाका युवाहरुबाट भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भएर झापामा सशस्त्र संघर्षको शुरुवात भयो ।

यसैसन्दर्भमा झापा र मोरङमा छरिएर रहेको युवाहरुको सक्रियतामा ०३२ जेष्ठ २५ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी गठन भयो र यस कमिटीको आयोजनामा ०३५ पौष ११ गते भएको सम्मेलनले नेकपा (माले) गठन गरी महासचिवमा चन्द्रप्रकाश (सीपी) मैनालीलाई निर्वाचित गर्‍याे ।

तर, सीपी मैनालीले पार्टी महासचिवको जिम्मेवारी राम्रोसंग पुरा नगरेपछि विचमा झलनाथ खनाल पार्टीको महासचिव निर्वाचित हुनुभयो त्यसपछि ०४६ भाद्रमा चौथो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले निरङकुश पंचायती व्यवस्थाकाविरुद्ध शान्तीपूर्ण संयुक्त जन आन्दोलन संचालन गर्ने झलनाथ खनालद्धारा प्रस्तुत राजनीतिक कार्यनीतिक कार्यदिशा पारित गर्दै मदन भण्डारीलाई महासचिव पदमा निर्वाचित गर्‍याे ।

०४६ सालमा नेकपा मालेको अगुवाइमा बनेको बाममोर्चा र नेपाली काँग्रेसको संयुक्त आव्हानमा भएको जन आन्दोलनबाट पञ्चायतको अन्त्य भई बहुदलिय व्यवस्थाको पुर्नस्थापना भयो । ०४७ पुसमा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी) पार्टी वीच पार्टी एकीकरण भई नेकपा (एमाले) गठन भयो । वि.स. ०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौं महाधिवेशनमा जननेता मदन भण्डारीले अगाडि सार्नुभएको जनताको बहुदलीय जनवादको कार्यक्रम र कार्यनीतिलाई पारित गर्‍याे ।

वास्तवमा यस कार्यक्रमले कम्युनिष्ट आन्दोलन भित्र हुर्किरहेको विर्सजनवाद विखण्डनवादका विरुद्ध वैचारिक संघर्ष गर्दै माक्र्सवादलाई सिर्जनात्मक ढंगले लागू गर्न दिशा निर्देश गरेको थियो ।

बहुदलीय व्यवस्थाको पुनस्र्थापन भएपछि ०४८ मा भएको आम निर्वाचनमा नेकपा एमालेले मात्र ६८ सिट र अन्य वामदलबाट ११ सिटमा विजयी हासिल गरेको थियो ।

०५१ को आम निर्वाचनमा नेकपा एमाले संसदमा ठूलो दलको हैसियतले विजयी हासिल गर्‍याे र मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक कम्युनिष्टहरुको नेतृत्वमा सरकार गठन भयो । आफ्नो गाउँ आफै बनाऊ, सामाजिक सुरक्षा कार्यक्रम र स्थानीय तहको विकासका लागि नौ “स” को अभियान सुशासनका कार्यक्रमका कारण मनमोहन अधिकारीको सरकार सर्वाधिक लोकप्रिय बन्यो ।

तर, संसदमा बहुमत हासिल गर्न नसकेका कारण ९ महिनामा नै सरकारलाई गिराउने कार्य भयो । उता हिजो चौथौ महाधिवेशन हुदै पुर्नगठित नेकपा माओबादी केन्द्रले ०५२ देखि मुलुकमा सशस्त्र संघर्षको शुरुवात गर्‍याे । झण्डै १ दशकसम्म शसस्त्र संघर्ष सञ्चालन भयो ।

यता संसदीय राजनीतिमा सरकार गिराउने र बनाउने, सांसद खरिद बिक्री, पेन्सन, पजेरो र औषधी सुविधा प्रकरण जनप्रतिनिधिलाई भत्ता सुविधा जस्ता विकृति र विसंगतिको शुरुवात भयो । दलहरुका वीचमा बढ्दै गएको असमझदारी, विकृति र विसंगति र नेकपा माओवादीले संचालन गरेको सशस्त्र संघर्षको वीचमा राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थालाई “कु” गरी प्रत्यक्ष शासनको शुरुवात गरे । त्यसपछि निरङकुश राजतन्त्रका विरुद्ध संयुक्त जनआन्दोलनको शुरुवात भयो । आन्दोलनकै क्रममा लोकतान्त्रिक गणतन्त्रको कार्यदिशालाई वामपन्थीहरुले अगाडि बढाएपछि नेपाली कांग्रेस पनि १२ बुँदे सम्झौताका आधारमा गणतन्त्रको आन्दोलनमा आउन सहमत भयो ।

आँधीबेहेरीयुक्त जनआन्दोलन र जनविद्रोहका कारण ११ बैशाख, ०६३ मा राजतन्त्रले घुँडा टेकेपछि गणतन्त्रको स्थापना भयो र पुष्पलालले अगाडि सार्नुभएको नारा सार्थक भएको छ ।

पुष्पलालले पार्टी स्थापनाका बेला अगाडि सार्नुभएको संविधानसभाको एजेण्डा ०६५ सालमा आइपुग्दा पूरा भएको छ । झण्डै ७ बर्ष लगाएर दोश्रो संविधानसभाबाट संविधान घोषणा भयो । नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका वामपन्थी दलहरुको सहकार्यबाट जनता सार्वभौम सत्ता सम्पन्न रहने र समाजवादको आधार निर्माण गर्ने संविधान निर्माण गर्न सफलता प्राप्त भएको छ ।

पाँच महिना अगाडि सम्पन्न भएको निर्वाचनबाट संघ र प्रदेशको संसद तथा स्थानीय तहमा झण्डै दुई तिहाइको हाराहारीमा बामपन्थीहरुले विजयी हासिल गरेका छन् र वाम गठवन्धनको नेतृत्वमा केन्द्र तथा प्रदेशमा सरकार गठन भएको छ ।

यसरी ०६२÷०६३ मा भएको युगान्तकारी परिवर्तनबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना र यसको संवैधानिक सुनिश्चितताले, मुलुकमा शान्तिपूर्ण तवरले नै राजनीतिक क्रान्ति सम्पन्न भएको छ । पुष्पलालले अगाडि सार्नुभएको जनवादी राजनीतिक क्रान्तिको लक्ष्य पूरा भएको छ ।

अब नेपाली क्रान्तिलाई पूर्णता प्रदान गर्न आर्थिक र सामाजिक क्रान्ति सम्पन्न गर्दै मुलुकलाई समाजवादी बाटोमा अगाडि बढाउनुपर्ने दायित्व वामपन्थी दलहरुको काँधमा आएको छ । मुलुकमा भएको युगान्तकारी परिवर्तनका आन्दोलनहरुमा बामपन्थी दलहरुको पहलकदमी र बैचारिक नेतृत्वमा नै सफल भएका छन् ।

समाजवादको आधार निर्माणका लागि दिशाबोध भएको संविधान निर्माण जस्तो ऐतिहासिक कार्य पनि बामपन्थीहरुकै सहकार्य र नेतृत्वबाट सम्भव भएको छ । नेपालमा बामपन्थीहरुको नेतृत्वमा शान्तिपूर्ण तवरले सम्पन्न भएको राजनीतिक क्रान्तिको सफलताबाट विश्वका अन्य देशका बामपन्थी एवं समाजवादी आन्दोलनका लागि अनुकरणीय बन्न पुगेको छ ।

कम्युनिष्ट पार्टी स्थापना भएको ६८ बर्षमा आइपुग्दा नेपाली समाजमा विकास भएको चेतनाको जगले द्वन्द्वात्मक भौतिकबादी एवं माक्र्सवादी विचारले बहुसंख्यक मानिसलाई लैस गराउँदै लगेको छ । कुल जनसंख्याको झण्डै ६० प्रतिशत संख्याका बालिगहरुले कम्युनिष्ट पार्टीका नीति, विचार, कार्यक्रमबाट आकर्षित भएर निर्वाचनमा वामपन्थी उम्मेदवारहरुलाई मत प्रकट गरेका छन् ।

शुरुमा ५ जनाबाट स्थापना भएको कम्युनिष्ट पार्टीमा आज लाखौंलाख मानिसहरु आवद्ध भएका छन्, यसका साथै पार्टीभित्रको युवा, महिला, किसान, मजदुरलगायतका पेशागत संगठन, टे«ड युनियनहरुमा लाखौं लाख संख्यामा मानिसहरु संगठित भएका छन् ।

पुष्पलालको अगुवाइमा स्थापना भएको कम्युनिष्ट पार्टीमा पहिलो महाधिवेशनदेखि दक्षिणपन्थी रुझानहरु नेतृत्वमा देखा परेको थियो । दोश्रो महाधिवेशनमा राजा परस्त रायमाझीेले नेतृत्व नै हत्याउन सफल भए । त्यसपछि कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी, आत्मसमर्पणवादी चिन्तनहरु एवं प्रवृत्तिहरु बढ्दै गए । पार्टी पुनर्गठनको प्रक्रियाले यस्ता प्रवृत्तिलाई परास्त गरे पनि ०६२/०६३ को आन्दोलनमा गणतन्त्रको कार्य दिशाकाविरुद्ध दक्षिणपन्थी, यथास्थितिवादी सोच चिन्तनहरु र विचार प्रकट नभएका होइनन्, तर आन्दोलनको राप र तापले यस्ता प्रवृत्तिलाई परास्त गर्‍याे र आन्दोलन सफल भयो ।

नेपालको कम्युनिष्ट आन्दोलन अब नयाँ कार्यदिशाका साथ अगाडि बढ्दै छ । नेपाली अर्थ राजनीतिमा हावी हुँदै गएको दलाल पुँजीवादलाई नियन्त्रण र अन्त्य गरेर राष्ट्रिय पूँजीको निर्माण, उत्पादन र रोजगारी वृद्धि हुने क्षेत्रमा व्यापक लगानी, औद्योगिकीकरणको थालनीसँगै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर मुलुकलाई समाजवादी बाटोमा अगाडि बढाउनुपर्ने ऐतिहासिक दायित्व वामपन्थीहरुका सामु आएको छ ।

यस सन्दर्भमा नेकपा एमाले र माओवादी केन्द्रको औपचारिक एकताको अब छिट्टै हुने घोषणाले नेपालको वाम आन्दोलन एवं राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ प्रभाव पर्ने देखिन्छ । नेपालका अन्य कम्युनिष्ट पार्टीहरुले अब छुट्टाछुट्टै चुलोचौको बाल्नुपर्ने आवश्यक छैन ।

एकीकृत कम्युनिष्ट आन्दोलनको विकासमा जोड दिनुपर्छ । र, अब नयाँ ढंगको कार्यशैली र उन्नत स्तरको बैचािरक आलोकमा कम्युनिष्ट आन्दोलनलाई साँचो अर्थमा लोकतान्त्रीकरण गर्ने अभिभारा रहेको छ । कम्युनिष्ट पार्टीभित्र अव लोकतान्त्रिक पद्दतीको जीवन्त अभ्यास, अनुशासन र स्वतन्त्रताको दृढता र सन्तुलित अभ्यास, सहभागिता, सम्वाद र जवाफदेहितामा आधारित जनवादी केन्द्रीयताको अभ्यास हुन सकेमात्र पार्टी लोकतान्त्रीकरण को दिशामा अगाडि बढ्छ । र, यस्तो पार्टीले मात्र राज्यसत्ता, र समाजलाई पनि लोकतान्त्रीकरणको दिशामा अगाडि बढाउन सक्षम हुन्छ ।

यसैगरी कम्युनिष्ट आन्दोलनभित्र हुर्किएको विकृति, विसंगति, र दक्षिणपन्थी चिन्तन प्रवृतिका विरुद्ध दृढतापूर्वक बैचारिक संघर्ष गरेर आन्दोलनलाई माक्र्सवादीकरण र क्रान्तिकरण गर्नु र पार्टीभित्र सर्वहाराकृत वर्गदृष्टिकोण, कार्यशैली र जीवनशैलीको विकास गर्नुपर्ने उत्तिकै खाँचो छ ।

आन्दोलनभित्र नेतृत्व निर्माण विकास र हस्तान्तरणको विषय पनि उत्तिकै महत्वपूर्ण विषय बनेको छ । खासगरी नयाँ पुस्तालाई पार्टीभित्र बैचारिक उन्नतिका साथ भर्ती गर्ने, माक्र्सवादी चेतना र विचारले लैस गर्ने, नेतृत्व विकासका लागि संरचनागत व्यवस्था गर्दै नेतृत्व हस्तान्तरणलाई सहज बनाउन आवश्यक छ ।

पार्टी र सरकारवीचको सम्वन्ध व्यवस्थित गर्न जरुरी

पार्टीभित्र विद्यमान दक्षिणपन्थी सोच, चिन्तन र गुट उपगुटलाई अन्त्य गर्न राजकीय क्षेत्रको पद र अवसरलाई समन्यायिक ढंगले वितरण गर्ने विधि पद्दतिको विकास गर्नुपर्छ । कार्यसम्पादनमा आधारित नेतृत्व छनोटको विधिलाई अवलम्वन गर्न जरुरी छ । कार्य सम्पादन गर्न सक्षम र योग्यहरुका वीचबाट मात्र नेतृत्व छनोट गर्ने पद्दतिको विकास गर्नुपर्छ ।

कम्युनिष्ट पार्टीले राज्य सञ्चालनको नेतृत्व लिन थालेपछि अब पार्टी र सरकारवीचको सम्वन्ध अझ व्यवस्थित गर्न जरुरी छ । पार्टीका सबै नेतृत्व सरकार र राजकीय निकायका क्षेत्रमा जाने प्रवृत्तिले पार्टी कामहरु ओझेल पर्दैछन् ।

पार्टी कार्यालयहरु बसाइँ हिँडेका मानिसका घरझैं बन्न थालेका छन् । तसर्थ सरकारका काममा निकट र आवधिक ढंगले समीक्षा र मूल्याङकन गर्ने, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई स्थापित गर्ने र पार्टी काम अनि सरकार तथा राजकीय क्षेत्रको जिम्मेवारी भिन्न–भिन्न व्यक्तिबाट सम्पादन गर्ने विधि र पद्दतीको स्थापना गर्न जरुरी छ ।

कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरेपछि अब सरकारका काम, योजना र कार्यशैलीले जनताको जीवनपद्दतीलाई सुधार गर्न सक्नुपर्छ । यदि जनताको जीवनपद्दतीमा सुधार हुन सकेन भने कम्युनिष्ट पार्टीप्रति सदैब जनताको आकर्षण रहिरहन सक्दैन ।

कुशलता र उत्कृष्टताका साथ जनताको अवस्था सुधार गर्न पार्टी र सरकारका काम हुन सकेन्न भने थुपै्र देशमा सत्तामा पुगेका वामपन्थी पार्टीहरु जनताको जनमतवाट पछाडि धकेलिएको नेपालका वामपन्थीहरुले हेक्का राख्न जरुरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment