Comments Add Comment

‘छक्का पञ्जा-३’ हात पारेकी दीपिका उत्साहित, ६ लाख नमागेको बयान


पहिलो चलचित्र ‘ऐश्वर्य’ले नै नायिका दीपिका प्रसाइलाई चर्चित बनाइदियो । यो चलचित्रमा उनले गरेको अभिनय र उनको बोल्ड लुक्सले दर्शकको मन जित्यो ।

तर, ऐश्वर्यामा अभिनय गरेपछि दीपिका गुमनाम रहिन् । करिब ७ महिनासम्म उनी मिडिया र दर्शकबाट टाढा बसिन् । यो विचमा विभिन्न खालका गसिप पनि उनका बारेमा आए ।

पारिश्रमिक र प्रेमको चर्चा

एउटा चलचित्र मात्रै खेलेकी दीपिकाले ६ लाखसम्म पारिश्रमिक माग्न थालेकाले अर्को चलचित्र नपाएकोउ चर्चा भयो । मिडियामा आएको यो गसिपले दीपिकालाई पनि तरंगित गरायो । तर, दीपिका आफूले कहिल्यै पनि पारिश्रमिकको डिमान्ड नगरेको बताउँछिन् । उनले अनलाइनखबरसँग भनिन्-‘हुन त म गसिपमा खासै ध्यान दिन्नँ । तर, अहिले पनि यो समाचार पढ्दा हाँसो लाग्छ । मैले कहिले पनि पारिश्रमिकको डिमाण्ड गरेकी छैनँ ।’

अर्कोतिर, दीपिका र निर्देशक दिवाकर भट्टराइको प्रेम चर्चा पनि मिडियाका लागि खुराक बन्यो । उनीहरु प्रेममा रहेको खबर सार्वजनिक भैरहँदा दिवाकरले मुखे खोले, दीपिका मौन बसिन् । उनले भनिन्-‘म यो बिषयमा बोल्न नै चाहन्न । नभएको कुरामा बोलेर के फाइदा छ र ? यो गलत कुरा हो ।’

‘छक्का पन्जा ३’मा अफर

व्यापारिक सफलताको किर्तिमान राखेको ‘छक्का पन्जा’को सिरिजमा काम गर्न हरेक नायक-नायिका इच्छुक हुन्छन् । दुई सिरिज नै ब्लकबस्टर भैसकेकाले पनि तेश्रो सिरिजमा को नायिका हुने भन्ने चर्चा चलेको थियो ।

दीपिकालाई करिब २ साता अगाडि निर्देशक दीपाश्री निरौलाले फोन गरेर भेट्न आग्रह गरेकी थिइन् । भेटमा दीपिकालाई दीपाले चलचित्रका लागि प्रस्ताव गरिन् । तर, सो भेटमा दीपिकाले म सोचेर भन्छु मात्र भनिन् । दीपिकाले भनिन्-‘प्रस्ताव आउँदा त निकै खुशी लाग्यो । तर, काम गर्ने फाइनल नभएकाले मैले बाहिर उत्साह देखाइरहेकी थिइनँ ।’

दीपिकालाई दीपा र निर्माता तथा कलाकार दीपकराज गिरीले वान लाइन स्टोरी सुनाए । आफ्नो भूमिका चित्त वुझेकाले स्वीकार गरेको उनले बताइन् । उनले अगाडि थपिन्-‘मैले छक्का पन्जा को ब्रान्ड भन्दा पनि आफ्नो भूमिका चित्त वुझेपछि हुन्छ भनेकी हुँ ।’

हुनत, दीपिकालाई यो टिमसँग काम गर्न रहर रहेछ । चलचित्र ‘छक्का पन्जा’ हेर्दा नै उनलाई यो चलचित्रकी नायिका हुन मन लागेको रहेछ । तेश्रो सिरिजमा आएर अवसर जुर्दा उनी दंग छिन् ।

भूमिका के हो ?
यो चलचित्रमा दीपिकाले आफ्नो पर्दा बाहिरको शैली अनुसारकै भूमिका भएको बताइन् । उनले भनिन्-‘हुनत, यो चलचित्रमा पनि म गाउँकी यूवती नै हुँ । तर, मेरो बोल्ड छवि यो चलचित्रमा पनि देखिनेछ ।’

उनले अहिले नै चलचित्रको बारेमा अन्य कुरा बताउन नसक्ने स्पष्ट पारिन् । तर, चलचित्र हेरेपछि आफ्नो भूमिकाबाट दर्शक खुशी हुने उनको भनाई छ । चलचित्रमा थुप्रै चर्चित हाँस्य कलाकार भएकाले आफू ओझेलमा पर्छु भन्ने उनलाई फिटिक्कै लागेको छैन । उनले भनिन्-‘आफ्नो बेष्ट दिने हो । म त्यसमा ढुक्क छु ।’

किन भयो ग्याप ?
चलचित्र ‘ऐश्वर्य’मा काम गरेपछि दीपिका केही समय हराइन् । विभिन्न गसिपका कारण चर्चामा रहे पनि उनले चलचित्र साइन गरेको खबर आएन । दीपिका हराउनुको कारण खोल्दै भन्छिन्-‘मेरो स्नात्तकोत्तर पहिलो बर्षको पढाई चलिरहेको थियो ।

यसैले मैले यसको परिक्षा नसकेसम्म काम गर्दिनँ भन्ने निर्णय लिएकी थिएँ । अहिले मेरो परिक्षा चलिरहेको छ । वैशाख १४ गते परिक्षा सकिन्छ । वैशाख १७ गतेबाट ‘छक्का पञ्जा ३’ को छायांकन सुरु हुन्छ ।’ यो ब्रेक आफूले पढाइका लागि नै लिएको दीपिकाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment