Comments Add Comment

ग्राउण्ड रिपोर्ट : आधा उठ्यो भूइँचालोपछिको सिन्धुपाल्चोक !

१४ हजार नयाँ घर बने, भूकम्पले दियो नवनिर्माणको अवसर

१२ वैशाख, सिन्धुपाल्चोक । विनाशकारी भूकम्पबाट सबैभन्दा बढी भौतिक एवं मानवीय क्षति व्यहोरेको सिन्धुपाल्चोक क्रमशः तंग्रदै छ ।

भूकम्पले ध्वस्त बनाएका घर संरचना पुनर्निर्माण भइरहेका छन् । दुई वर्षका बीच भूकम्पले ढलेको ‘आधा’ सिन्धुपाल्चोक उठिसकेको छ । भूकम्पको पीडा भुल्दै पीडितहरु पूर्ववत जीवनमा फर्किदैछन् ।

०७२ बैशाख १२ को शक्तिशाली भूकम्पमा सिन्धुपाल्चोकले सर्वाधिक रुपमा भौतिक र मानवीय क्षति भोग्यो । ३ हजार ५ सय ७१ जनाले भूकम्पमा परी ज्यान गुमाए । ८० हजार निजी घर संरचना माटोमै मिले । सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरु भग्नावशेषमा परिणत भइदिए ।

भूकम्प गएको एक वर्षपछि ०७३ बैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदरमुकाम चौताराका सर्वे तामाङको निजी आवसको शिलान्यास गरेर औपचारिकरुपमा पुननिर्माणको सुरुवात गरेका थिए ।

भूकम्प गएको तीन वर्ष हुँदा र निजी आवास पुनःनिर्माण सुरु भएको दुई वर्ष बित्दा भूकम्प अति प्रभावित सिन्धुपाल्चोकमा सरकारी अनुदान लिएर जम्मा १३ हजार ९० मात्रै घर निर्माण भएका छन् । सरकारले छानो छाएपछि तेस्रो अथवा अन्तिम किस्ता वितरण गर्ने गरेको छ ।

अन्तिम किस्ता लिने भनेको घर निर्माण सम्पन्न हो यसरी हेर्दा पुननिर्माण सुरु भएको दुई वर्षमा १३ हजार अर्थात जम्मा २१ प्रतिशतले मात्रै घर निर्माण सकेका छन् ।

भूकम्प गएको यस अवधिमा भूकम्पले क्षति पुर्‍याएको अन्य भौतिक संरचना निर्माणमा पनि खासै प्रगति हुन सकेको छैन । विद्यालय निर्माणको अवस्था पनि उस्तै छ, धेरै विद्यालयहरु अहिले पनि अस्थाई सिकाइ केन्द्रमा नै सञ्चालन भएको छ भने सरकारी कार्यालयहरुको अवस्था पनि उस्तै छ ।

भूकम्पमा ज्यान गुमाउने मृतकका आफन्तहरुलाई सरकारले प्रदान गर्ने किरिया खर्चबापतको १ लाख पनि अझै केही पीडितहरुले पाउन सकेका छैनन् ।

८३ हजार लाभग्राही

भूकम्पपछि पुननिर्माण प्राधिकरणले सिन्धुपाल्चोकमा अनुदान पाउन योग्य लाभग्राहीको रुपमा ८३ हजार ६६३ पहिचान गर्‍यो । पहिचान भएकामध्ये ८० हजार ३२० जनासँग प्राधिकरणले अनुदान सम्झौता गर्‍यो र पहिलो किस्ताबापतको ५० हजार पनि तत्कालै पीडितहरुको खातामा पठायो । पहिलो किस्ता लिएको एक वर्षसम्म त पीडितहरुले घर निर्माण सुरु नै गरेका थिएनन् ।

तर, सरकारले अनुदानको समय सीमा तोकेपछि भने विगत एक वर्षदेखि सिन्धुपाल्चोकमा पुननिर्माणले गति लिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी युगबहादुर खड्काले जानकारी दिए । अहिले घर बनाएर अनुदान लिन आउनेहरुको संख्यामा वृद्धि भएको छ खड्काले भने ।

प्रतिशतमा हेर्दा पनि पहिचान भएका लाभग्राहीमध्ये अनुदान सम्झौता गर्नेहरुको प्रतिशत ९६ रहेको छ । सिन्धुपाल्चोकमा केही गैर सरकारी संघ संस्थाहरुले पनि सरकारी नम्स मा नै रहेर निजी आवस पुन निर्माण गरिरहेका छन् । ८० हजार ३२० मध्ये संघ संस्थाहरुले ५ हजार बढीलाई पहिलो किस्तावापतको ५० हजार अनुदान वितरण गरेका थिए ।

सरकारले पहिलो, दोस्रो र अन्तिम किस्ताको अनुदान प्राप्त गर्नका लागि समय सीमा नै तोकेपछि घर निर्माणले तिव्रता पाएको छ । बैशाखका पहिलो सातासम्म दोस्रो किस्ता प्राप्त गर्नेको संख्या ६२ हजार २३० रहेको छ ।

दोस्रो किस्ता प्राप्त गर्नका लागि लाभग्राहीले घरको डीपीसीसम्म गरेपछि दोस्रो किस्ताको १ लाख ५० हजार पाउँन सक्ने जिल्ला समन्वय समितिका समन्वय अधिकारी युगबहादुर खड्काले जानकारी दिए ।

दोस्रो किस्ता लिनेको संख्या धेरै भए पनि तेस्रो अथवा अन्तिम किस्ता लिनेको संख्या भने कमी रहेको छ । हामीले दोस्रो किस्ताको समय कम भएपछि त्यसलाई प्राथमिकतामा राख्दा तेस्रो किस्ता लिनेको संख्या केही कमी छ, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने-‘अब केही दिनभित्र तेस्रो किस्ता लिनेको संख्या पनि सिन्धुपाल्चोकमा बढ्छ ।’

१४ हजार गुनासा

पहिलो चरणमा अनुदान प्रक्रियामा नपरेका लाभग्राहीहरुले गुनासोमार्फत अनुदान पाउने व्यवस्थापछि गुनासो दर्ता गर्नेको संख्या पनि जिल्लामा धेरै रहेको छ । हालसम्म सिन्धुपाल्चोकमा १४ हजार ४४७ पीडितहरुले पुननिर्माण प्राधिकरणमा गुनासो दर्ता गराएका छन् । दर्ता गराएका मध्ये ५१ सय २६ जनासँग अनुदान सम्झौता सम्पन्न भएको छ ।

रेट्रोफिटिङलाई पनि मान्यता

पुननिर्माण प्राधिकरणले पछिल्लो चरणमा अनुदान प्रक्रियालाई सहज बनाउँदै लगेपछि भुकम्प लगतै रेट्रोफिटिङ (प्रबलीकरण) गरेका घरहरुलाई पनि अनुदान प्रक्रियामा सहभागी गराएको छ । ३७६ मध्ये १७ लाभग्राहीसँग् मात्रै अनुदान सम्झौता सम्पन्न भएको छ ।

एक लाख घरधुरी पुग्ने

०६८ सालमा भएको जनगणनामा सिन्धुपाल्चोकको कुल जनसंख्या ६५ हजार चानचुन थियो । जनगणना भएको ५ वर्षपछि सिन्धुपाल्चोकको जनसंख्या बढेको देखिएको छ । ८३ हजार ६६३ लाभग्राही पहिचान भएका छन् ।

त्यस्तै गुनासोमा १४ हजार ४४७ ले आफ्नो गुनासो दर्ता गराएका छन् । यसो गर्दा ९८ हजार ११० हुन्छ । रेक्टोफिटिङसहित गर्दा ठ्याक्कै एक लाख लाभग्राहीहरु पुग्ने देखिएको छ ।

बस्ती स्थानान्तरण पनि सुरु

भुकम्पले बस्नै नसक्ने भएपछि विस्थापितहरुलाई सुरक्षित स्थानमा लैजानका लागि प्रक्रिया सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार सिन्धुपाल्चोकमा ७ सय बढी पीडितहरुलाई सुरक्षित बस्तीमा लैजानुपर्ने अवस्था छ ।

सुरक्षित बस्तीमा जानका लागि जग्गा खरिदका लागि पुननिर्माण प्राधिकरणले २ लाख अनुदान दिने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार हालसम्म ११२ जनाले २ लाख बुझेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

तेस्रो किस्ता नपाउँदा समस्या

सुनकोशी गाउँपालिका-६ थुम्पाखर साविकको थुम्पाखर गाविस-८ मा भुकम्पले भत्केका घरमध्ये ९५ प्रतिशतले घर निर्माण सम्पन्न गरेका छन् । घर निर्माण सम्पन्न गरेर स्थानीय बस्न थालेकै लामो समय भइसक्यो घर निर्माण सम्पन्न भए पनि लाभग्राहीहरुले अहिलेसम्म तेस्रो किस्ताको रकम भने पाएका छैनन् ।

साविकको थुम्पाखर- ८ टिमुरे र अन्तरपुमा अधिंकाशले घर निर्माण सम्पन्न गरेका छन् । ऋण धन गरेर घर निर्माण सकेपनि सरकारले प्रदान गर्ने अनुदान प्रक्रिया भने ढीला हुँदा पीडितहरु समस्यामा परेका छन् ।

पहिलो र दोस्रो किस्ता पाएपछि लाभग्राहीहरुले तेस्रो किस्ता नपाँएदौ छाना समेत हालिसकेका छन् । तर, घर निर्माण सम्पन्न भएको लामो अवधिसम्म पनि तेस्रो किस्ताको अनुदान भने पाएका छैनन् ।

टिमुरेमा भूकम्पले भत्काएका ६० बढी घर निर्माण सम्पन्न भइसकेका छन् भने अन्तरपुरमा ५० बढी घर निर्माण भइसकेका छन् ।

प्राविधिकहरुलाई पटक-पटक जानकारी गराउँदा पनि सुरुमा घर निर्माण भइसक्दा पनि प्राविधिक आएर नाँप जाँच नगर्दा पीडितहरु समस्यामा थिए । पछि आएर प्राविधिकले घर नाँप जाँच गरेको लामो अवधी हुँदा पनि तेस्रो किस्ता नआएको स्थानीय केशरबहादुर थापाले बताए ।

‘घर निर्माण सकेको ६ महिना बढी भयो, ऋण खोजेरै छानो पनि हालियो । तर, तेस्रो किस्ता नै आएन,’ स्थानीय शिव कार्कीले भने ।

एउटै बस्ती सुनकोशी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका भित्र रहेको छ । लिंसखुपाखर भित्रका लाभग्राहीहरुको तेस्रो किस्ताको रकम घर निमार्म्ण गर्ने सबैले पाए पनि सुनकोशी गाउँपालिकाका पीडितहरुले भने तेस्रो किस्ता पाएका छैनन् । ‘सँगै घर निर्माण गरेका ठुलोपाखरका ले तेस्रो किस्ता पनि पाए । तर हामीले भने यत्रो महिना हुदाँ समेत अनुदान पाएनौं’ स्थानीय ललितबहादुर थापाले भने ।

गुनासो सम्बोधनमा पनि लिंसंखुपाखर गाउँपालिका ठुलोपाखरका पीडितहरुको छिटो भएपनि थुम्पाखरमा भने हुन नसकेको स्थानीयको आरोप छ । पुननिर्माण प्राधिकरणबाट वडामा खटिएका प्राविधिहरुले भने सबै प्रक्रिया पूरा गरेर तेस्रो किस्ताका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयमा फाइल पठाएको सुनकोशी-६ मा खटिएका प्राविधिक वैभव श्रीवास्तवले जाननकारी दिए ।

त्यस्तै सुनकोशी-६ का तेस्रो किस्ताका लागि दुई सय बढी लाभग्राहीको फारम एक महिनाअघि नै शहरी डिभिजन कार्यालयमा पठाएको बताए । ‘हामीले सबै मापदण्ड पूरा गरेकाहरुको फाइल माथि पठाएका छौं,’ तर खै किन हो अनुदान नै आएन उनले भने ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयले भने अहिले प्राथमिकतामा तेस्रोभन्दा पनि दोस्रो किस्तालाई बढी प्राथमिकतामा राखेको छ । तेस्रो किस्ता लिने समय पछिसम्म भएकाले हामी अहिले दोस्रो किस्त्ााका लागि बढी खटेका छौं, शहरी विकास तथा भवन डिभिजन कार्यालयका कृष्ण ज्ञवालीले भने -‘अब केही दिनमा तेस्रो किस्ताको अनुदानको फाइल पनि चेक गरेर भुक्तानीका लागि जिल्ला समन्वय समितिमा पठाउँछौ ।’

विद्यालयको बिजोग

भूकम्पमा जिल्लाका ५ सय २८ विद्यालयमध्ये ५ सय १५ विद्यालय पूर्ण रुपमा क्षति भएका थिए । १३ विद्यालय आशिंक रुपमा क्षतिग्रस्त भएका थिए ।

भूकम्पलगत्तै अस्थाई सिकाइ केन्द्र (टीएलसी)मा बसेर अध्ययन गरेका विद्यार्थीहरु अहिले पनि प्रायः धेरै विद्यालयहरुमा टीएलसीमा नै छन् ।

भूकम्प गएको तेस्रो वर्षमा जम्मा १४२ विद्यालय मात्रै निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यन्वयन इकाइका इन्जिनियर शेरबहादुर पुजाराले जानकारी दिए ।

विपदपछिको अवसर

विपदको दुई वर्ष बितिरहँदा सिन्धुपाल्चोकका लागि विनाशकारी भूकम्प नै नवनिर्माणको अवसर सावित भइदिएको छ ।

भूकम्पको विनाश र क्षति त परिपूर्ति हुन सक्दैन । तर, निर्माणको नजरबाट हेर्दा सुन्दर र सुरक्षित सिन्धुपाल्चोक बनाउनका लागि भूकम्पले ठूलो अवसर लिएर आएको भान हुन्छ ।

‘मान्छे मरे, घर भत्किए क्षति त धेरै भयो’, सुनकोसी गाउँपालिका-६ स्थित थुम्पाखरमा पुग्दा स्थानीय माधव भण्डारी भन्दै थिए, -‘विनाश र क्षति मात्र गरेन, भुइँचालाले पुननिर्माणको अवसर पनि लिएर आएछ ।’

ढुंगामाटाका तीनतले कच्ची घर । भूकम्पमा जे जति परे उनीहरुले बनाएका घर संरचना नै ‘काल’ सावित भइदिए त्यसवेला । तर भुकम्पले गतिलो पाठ सिकाएपछि यतिवेला गाउँबस्तिको मुहार फेरिएको छ ।

टहराका गाउँबस्तीमा नयाँ डिजाइनका घर संरचना बनेका छन् । रङरोगनले टलक्कै टल्किएका छन् । भूकम्पको तीन वर्षबीच उठेका वस्तीहरु देख्दा सुन्दर मात्र छैनन्, सुरक्षित पनि छन् ।

‘पीडा त छँदैछ, मनमा घाउ छ तर यतिबेला गाउँको मुहार फेरीएको छ’, भूकम्पमा परिवारका चार सदस्य गुमाएका चौतारा साँगाचोकगढी-२ बतासेका उद्धव ढुंगाना भन्छन्,’विपदबाट जोगिन घर नै सुरक्षित हुनुपर्नेरहेछ, भुकम्पले सवैलाई सुरक्षित घर बनाउने अवसर ल्याइदियो ।’

तीन लाख बढी खर्चिएर बनाएको नयाँ घरमा सर्न नपाउँदै बलेफी -४ फुल्पिङडाँडाका पूर्णबहादुर बिकको घर भूकम्पको पहिलो झट्कामै ढल्यो ।

भूकम्पपछि टहरामा दुखजिलो जीवन धान्दै आएका उनले दुई कोठे भुकम्प प्रतिरोधी सुन्दर घर बनाए । घरको गारोको काम सकेर छानो मिलाउँदै गरेका उनका लागि भुकम्प नै सुरक्षित र नयाँ घर बनाउने अवसर बनेर आयो ।

‘ढुंगामाटाका कच्ची घरले नै धेरै मानिसलाई खायो, गाउँमा सबै ढुंगामाटाका कच्ची घर नै थिए’, निर्माणाधीन घर घेउमै भेटिएका पूर्णबहादुरले भने, -‘भुइँचालो आएर नै यस्तो राम्रो र बलियो घर बनाउन पाइयो ।’ भूकम्पले आफ्ना लागि सुन्दर अनि मजवुत घर बनाउने अवसर ल्याइदिएको भाव झल्काए उनले । ‘भुइँचालो नआएको भए यस्ता घर कसरी बनाउनु ?’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment