Comments Add Comment

उद्योग क्षेत्रमा दोब्बरले बढ्यो लगानी !


१३ वैशाख, काठमाडौं । उद्योग क्षेत्रमा यो वर्ष स्वदेश तथा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ । गत आर्थिक वर्ष २०७३/०७४ को ९ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७४/०७५ को सोही अवधिमा दोब्बरले लगानी बढेको देखिएको छ ।

उद्योग विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा कुल २ खर्ब ५६ अर्ब ४५ करोड बराबरको उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको तुलनामा संख्यात्मक रुपमा उद्योग दर्ताको संख्या घटेको देखिए पनि लगानीका हिसाबले भने उद्योग क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

उद्योग विभागका प्रवक्ता दुर्गालाल भुषालका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ३ सय ३५ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ४३ वटा साना, ६१ वटा मझौला र २ सुय २१ वटा साना उद्योग दर्ता भएका छन् ।

‘ गत वर्षको तुलनामा दोब्बरले लगानी बढेको पाएका छौं,’ भुषालले भने, ‘यो आर्थिक वर्षमा पर्यटन सेवा र उत्पादनमुलक उद्योगमा लगानी बढेको पाएका छौं । ’

उनका अनुसार गत आर्थिक वर्षमा ३ सय ५३ वटा उद्योग दर्ता भएका थिए । जसको कुल पुँजी भने १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा लगानी दोब्बरले बढेको देखिन्छ ।

रोजगारीका हिसाबले हेर्ने हो भने पनि गत वर्षको तुलनामा यो वर्ष दर्ता भएका उद्योगले बढि रोजगारी दिन सक्ने देखिन्छ । गत वर्ष विभागमा दर्ता भएका ३ सय ५३ उद्योगले १६ हजार ७ सय २२ जनालाई रोजगारी दिन सक्ने क्षमता राख्दथे । यसपाली दर्ता भएका ३ सय ३५ उद्योगले भने २० हजार १ सय ५४ जनालाई रोजगारी दिन सक्ने देखिन्छ ।

गत वर्षको तुलनामा यसपालि वैदेशिक लगानी पनि बढेको छ । गत वर्षको चैत मसान्तसम्ममा १२ अर्ब ३१ करोड बराबरको विदेशी लगानी स्वीकृति भएकोमा यो वर्षको सोही अवधिमा ३८ अर्ब ७२ करोडको लगानी स्वीकृत भएको छ ।

वैदेशिक लगानी महाशाखाका प्रमुख बस्नेतका अनुसार अहिले विदेशी लगानीकर्ताको उत्पादनमुलक , सेवा र खानीमा आकर्षण बढेको छ । यो वर्ष उद्योग विभागमा २ सय २६ वटा विदेशी लगानीका उद्योगका लागि लगानी स्वीकृति भएको छ । गत वर्ष २ सय ४२ वटा यस्ता उद्योगको लगानी स्वीकृति भएको थियो ।

संख्यात्मक हिसाबले हेर्दा गत वर्षको तुलनामा यो वर्ष विदेशी लगानीका थोरै उद्योगले मात्रै लगानी स्वीकृति गरेको देखिन्छ । तर रोजगारी र लगानीका हिसाबले हेर्ने हो भने यो वर्ष विदेशी लगानीकर्ताको पनि आकर्षण बढेको देखिन्छ ।

विभागका अनुसार यो वर्ष विदेशी लगानी स्वीकृत गरेका २ सय २६ उद्योगले ८ हजार ५ सय ४१ जनालाई रोजगारी दिनसक्ने क्षमता राख्छन् । गत वर्षको चैत मसान्तसम्ममा २ सय ४२ उद्योग दर्ता भएका थिए जसले ७ हजार १ सय जनालाई रोजगारी दिनसक्ने क्षमता राख्दथे ।

बस्नेतका अनुसार विदेशी लगानी स्वीकृत गरेका चिनीयाँ उद्योगहरुको खानीमा बढि चासो देखिन्छ । चीनको बढीजसो खानीजन्य र पर्यटन उद्योगमा लगानी केन्द्रित भएको देखिन्छ भने र भारतको सेवा र उत्पादनमूलक क्षेत्रमा लगानी बढ्दै गएको बस्नेत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment