Comments Add Comment

छायाँकन भइसकेका र सुरसारै नभएको चलचित्रको रिलिज डेट एकैदिन

फिल्म सकिनु कहिले-कहिले, रिलिज डेट अहिल्यै !

पछिल्लो समय नेपाली चलचित्रमा एउटा ट्रेन्ड बढेको छ- चलचित्र घोषणासँगै रिलिज डेट बुक गरिहाल्ने । ‘नानी पाउनु कहिले कहिले कन्दनी बाट्नु अहिले’ भन्ने नेपाली उखानलाई यसले चरितार्थ गर्छ ।

चलचित्र निर्माण कहिले सकिन्छ भन्ने कुरामा निर्माता नै पक्का हुँदैनन् । तर, डेट बुक गर्नै उनीहरुलाई हतारो हुन्छ । यो बर्ष पनि यस्तै केही चलचित्र देखिएका छन् जसले, छायांकन नै सुरु नहुँदै प्रदर्शन मिति तय गरेका छन् ।

भदौको ८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘नाई नभन्नु ल ५’को छायांकन सकिएको छ । विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति छायांकनमा जानु अगाडि घोषणा गरिएको हो । तर, यही मितिमा आउने भन्दै चर्चा गरिएको चलचित्र ‘क्याप्टेन’को छायांकन अझै सुरु भएको छैन । एकै दिनमा रिलिज हुने भनिएका दुई चलचित्रमा एउटाको छायांकन सकिसक्नु तर अर्कोको सुरु नै नहुनु रोचक कुरा छ ।

अर्को, सेड्यूल पनि यस्तै छ । असोजको ५ गते चलचित्र प्रदर्शन गर्ने घोषणा निर्देशक तथा निर्माता सविर श्रेष्ठले चलचित्र ‘बाँध मायाले’को पोष्ट प्रोडक्सनको समयमा गरे । यो चलचित्रको छायांकनको काम सकेर अहिले डबिङ सुरु भैसकेको छ । तर, केही दिन अगाडि मात्र निर्माता केशव भट्टराइले चलचित्र ‘यात्रा’ घोषणा गरे ।

यो चलचित्रको छायांकन वैशाखको २५ गतेबाट मात्र सुरु हुनेछ । तर, यसको प्रदर्शन मिति पनि असोज ५ गतेलाई नै तोकिएको छ । यसरी हेर्दा, एउटै मितिमा रिलिज हुने दुई चलचित्रमध्ये एकको डबिङ नै सकिएको छ भने अर्को चलचित्र सुरु नै भएको छैन ।

यस्तै, उदाहरण अर्को पनि छ । दशैंको फूलपातिलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘जय भोले’को छायांकन सकिएर अहिले सम्पादनको काम भैरहेको छ । अशोक शर्माले निर्देशन गरेको यो चलचित्रको टिजर समेत रिलिज भैसकेको छ । तर, यही मितिमा नै रिलिज हुने भनिएको चलचित्र ‘छक्का पन्जा ३’ का लागि २ दिन अगाडि मात्र नायिका फाइनल गरिएको थियो । चलचित्रको छायांकन वैशाखको १७ गतेबाट मात्र सुरु हुनेछ ।

यसरी डेट कब्जा गर्ने होडबाजीमा लाग्नुभन्दा पहिले फिल्म राम्रो बनाउनतिर निर्माता-निर्देशकहरुले ध्यान दिए कति जाती हुन्थ्यो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment