Comments Add Comment

केही नेता मिलेर हुन्न, ग्रासरुटको भावना बुझेर एकता गर्नुपर्छ


१४ वैशाख, काठमाडौं । माओवादी युद्धकालदेखि नै पार्टीभित्रको दुईलाइन संघर्षमा टोपबहादुर रायमाझीले डा.बाबुराम भट्टराईलाई साथ दिए । त्यसो त नेकपा मसालबाट विद्रोह गरेर प्रचण्डसँग सहकार्य गर्दा पनि रायमाझी बाबुरामसँगै थिए ।

शान्ति प्रक्रियामा आएपछि पनि उनले सधैं बाबुरामलाई नै साथ दिए । तर, संविधानसभाबाट संविधान जारी भएपछि बाबुरामले गरेको बिद्रोहको सबैभन्दा आलोचना रायमाझीले नै गरे । विचार समूहकै कारण प्रचण्ड संसदीय दलको नेता हुँदा बाबुरामको बहिर्गमनपछि रायमाझी उपनेता बने ।

पछिल्लो समय रायमाझीको चर्चा छैन । माओवादीभित्रै कतिपयले उनलाई पार्टी एकीकरण नहुँदै केपी ओलीतिर लागिसकेको टिप्पणी पनि गरिरहेका छन् । प्रचण्डको व्यवस्थापनको सुनिश्चितता खोज्ने नाममा पार्टी एकीकरण अवरुद्ध गर्न नहुने बिचार राख्ने रायमाझीले निकै तौलिएर बोले । माओवादी संसदीय दलको कार्यालयमा भेटिएका उनले भने, ‘पार्टी एकीकरण हुनुपर्छ भनेर लागेको मजस्तो मान्छेले भित्री कुरा बाहिर बोलेर वातावरण बिगार्नु हुँदैन ।’

रायमाझीलाई लोडसेडिङ अन्त्य गरेको जस जनार्दन शर्माले मात्र पाएकोमा पनि भित्रभित्रै असन्तुष्टि रहेछ । आफूले राम्रो कामको मार्केटिङ गर्न नजानेको उनको दाबी छ ।

प्रस्तुत छ, समसामयिक विषयमा माओवादी नेता रायमाझीसँग गरिएको कुराकानी ।

ब्यानर काण्डपछि शीर्ष नेताले लिएको पोजिसन हेर्दा एमाले–माओवादी एकीकरण बिग्रिन लागेको हो ?

एकता बिग्रिएको छैन । गृहकार्य नपुगेर तोकिएको मितिमा निष्कर्षमा नपुगेको हो । प्रधानमन्त्रीको भारत भ्रमण, तीनै तहका सरकारको बजेट निर्माण र साधन स्रोत बाँडफाँटमा सबै केन्द्रित हुँदा पार्टी एकतामा पर्याप्त गृहकार्य नपुगेकै हो ।

जहाँसम्म ब्यानर काण्डको कुरा छ, त्यो अलि हतारमा गरिएको कार्यक्रम हो । लेनिन जयन्तीको अवसर पारेर किन हामीले एकीकरण घोषणा गर्न सकेनौं भनेर दुवै पार्टीले प्रष्ट पार्ने उद्देश्य थियो । तर, लेनिन दिवसमा लेनिनकै फोटो छुटेपछि त्यसमा प्रतिक्रिया आयो । व्यवस्थापनमा केही कमजोरी भएकै हो । तर, त्यो प्राविधिक कमजोरी हो, अरु कारणले होइन ।

तपाईंहरुको आपत्ति लेनिनको फोटो छुटेकोमा हो कि, मनमोहन र मदन भण्डारीको फोटो राखिएकोमा हो ?

मदन भण्डारी र मनमोहन अधिकारीको फोटो राखेर आपत्ति हुनुपर्ने कुरा होइन । तर, लेनिनको फोटो छुटाउनु र त्यो अवसरमा त्यस्तो प्रकारको ब्यानर राख्नु उचित थियो कि थिएन भन्ने प्रश्न उठेको हो ।

तर, त्यहाँ त ब्यानर हटाए ओली उठेर हिँड्ने, नहटाए प्रचण्डले नमान्नेसम्मको अवस्था त आएछ नि ?

अलिकति त्यस्तो त भएकै हो । तर, पनि हामीले एमालेको नियतका रुपमा लिनु हुँदैन । केपी शर्मा ओली र प्रचण्डले नै केही कमजोरी भयो भन्नुभएपछि अब यसमा आशंका गर्नु जरुरी छैन । भित्र के भयो भन्ने अलग कुरा हो ।

पार्टी एकता कहिले गर्ने भन्ने चाहिँ अनिश्चित नै भयो होइन ?

यसअघि मिति तोक्दा समस्या आयो । ज्योतिषीलाई हेराएर मिति तोक्ने कुरा पनि होइन पार्टी एकता । यसलाई हामीले मिति तोक्ने भन्दा पनि छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउनेतिर जानुपर्छ । मलाई लाग्छ, अब धेरै समय नलाग्ला ।

पार्टी एकता प्रक्रिया जति तलसम्म छलफलमा लानुपर्ने हो, त्यो भएको छैन । दुवै पार्टीले केही नेतामा सीमित गर्दा पनि समस्या आएको हो भन्यो भने के हुन्छ ?

अस्ति सभागृहको कार्यक्रममा जे देखापर्‍याे, त्यसले केही नेताले मात्रै एकतालाई निष्कर्षमा पुर्‍याएर हुन्न । अलि संस्थागत रुपमा ग्रासरुटको मनोभावना बुझेर पार्टी एकीकरणमा ध्यान दिनुपर्छ भन्ने चाहिँ अनुभूत गराएको छ ।

जस्तो कि, केन्द्रीय कमिटी बैठकसम्म पनि दुवै पार्टीमा छलफल भइरहेको छैन । नेताहरुको नियतमै शंका गर्नु राम्रो हुँदैन । तर, यस्ता कमजोरी सच्याउनुपर्छ । हामीले एउटा निश्चित लेभल भनौं वा अगुवा कार्यकर्ता तहसम्म छलफल चलाउन जरुरी छ । यो एकताको आवश्यकता कसैले पनि अस्वीकार गरेको होइन तर, राजनीतिक, वैचारिक र संगठनात्मक एकताको सन्दर्भमा तल्लो तहसम्म छलफल चलाउँदा अधिकतम सर्वसम्मत रुपमा लैजाँदा राम्रो हुन्छ भन्ने शिक्षा चाहिँ हामीलाई मिलेको छ ।

हिजो चुनावी सिट तालमेलमा जति सजिलो भयो, पार्टी एकीकरणमा शब्द र संख्या तालमेल गर्न चाहिँ निकै संकट देखियो होइन ?

तालमेल र सिट बाँडफाँटभन्दा शब्द र संख्याले अप्ठ्यारो पारेको भन्ने त छ तर मलाई त्यस्तो पनि लाग्दैन ।

मैले त शान्ति प्रक्रियामा आएलगत्तै नेपालका सम्पूर्ण वामपन्थी शक्तिलाई एउटै कम्युनिस्ट केन्द्रमा एकीकृत गर्नुपर्छ भनेर बहस चलाएको हो । लुम्बिनीमा हामीले एमालेको त्यहाँको नेतृत्वसँग चुनावी तालमेलको कुरा पनि गरेको हो । तर त्यसले मूर्त रुप लिन सकेको थिएन । धेरै वर्षपछि मैले सोचेको ठाउँमा चिज आइपुग्यो ।

तर, पार्टी एकतामा अहिले पनि समस्याहरु छन् । एउटै पार्टीभित्र पनि समस्या हुन्छन् भने दुई वटा ठूला कम्युनिस्ट पार्टी एक ठाउँमा आउँदा समस्याहरु आउनु स्वाभाविक हुन्छ ।

बुझ्नु पर्ने कुरा के छ भने एकता बाध्यता होइन, इतिहासको आवश्यकता हो । आफूलाई केन्द्रमा राखेर हेर्दा एकता अप्ठ्यारो देखिन्छ । आफू कहाँ पुगिन्छ, आफूलाई फाइदा हुन्छ कि हुन्न भनेर व्यक्तिको लागि एकतालाई अड्काउनु हुन्न भन्ने मेरो आग्रह छ । जहाँसम्म संख्याको कुरा छ, त्यो कुरा ठूलो समस्याका रुपमा रहँदैन ।

तर, तपाईंको पार्टी अध्यक्ष प्रचण्डले त ५० प्रतिशतभन्दा तल एकता नहुने भनिसक्नु भयो नि ?

यति प्रतिशत, उति प्रतिशत भन्ने कुरामा म सहमत छैन । सम्माजनक एकता हुनुपर्‍याे । दुवै पार्टीलाई सम्मान हुने खालको, कमसेकम वीन वीन सिचुएसनमा एकता हुनुपर्छ । वार्ताको टेबुलमा बसेर छलफल गरेपछि यो मिल्छ ।

तर पनि २९९ केन्द्रीय सदस्यमा एमालेले कति पाउने, अनि माओवादीले कति पाउने ?

प्राविधिक कुरातिर नजाऊँ । यो वार्तामा आउने कुरा हो । संख्याले एकीकरणमा बाधा पार्दैन, यसमा प्रष्ट हुनुस् ।

सिद्धान्तमा हामीबीच धेरै कुरा मिलिसकेको छ । जनयुद्ध र सूर्य चिह्न पनि कुनै समस्याको विषय होइन । जनयुद्ध माओवादीले गरेको भन्ने एमालेले मानेकै छ । चुनाव चिह्नमा पनि समस्या हुँदैन । सूर्य नै चुनाव चिह्न पनि हुन्छ, त्यसमा गोलाकारभित्रको हँसिया हथौडा रहन पनि सक्छ । यो ठूलो समस्या होइन ।

समानतामा आधारित भनेको ५०/५० होइन र ?

ठ्याक्कै ५०/५० नहुन सक्छ । थोरै तलमाथि पर्न सक्छ । २०/३० जना यताउता हुन्छ । अर्को कुरा केन्द्रमा एउटा मोडालिटीमा हुन्छ तर, जिल्ला र प्रदेशमा त्यस्तो हुँदैन । जिल्लाहरुमा जसको जहाँ प्रभाव छ, त्यहाँ उसले नेतृत्व गर्ने कुरा हुन्छ । केन्द्रमा भएको मोडल तल्लो तहमा लागु हुँदैन भन्ने सहमति हो ।

बेलाबेला प्रचण्डको व्यवस्थापनका कुरा पनि आउँछन् । एकता महाधिवेशनबाट प्रचण्ड अध्यक्ष हुने र प्रधानमन्त्रीमा आलोपालो सुनिश्चित नभएर एकता नभएको हो ?

वार्ताको टेबुलमा विभिन्न कुरा आएका छन्, तर यसलाई एकताको लागि समस्याको विषय बनाउनुपर्छ भन्ने मलाई लाग्दैन । प्रचण्डलाई २ वर्षपछि अध्यक्ष बनाउने कुरा पनि वार्ताको टेबुलमा आएको होला । यो कुरा अहिले सार्वजनिक बहसमा ल्याउन जरुरी छैन । कुरा के–के भए भन्दापनि निष्कर्ष के आयो भन्नेमा जानुपर्छ । प्रधानमन्त्री आलोपालो भन्ने पनि यो बाहिर ल्याउने कुरा होइन । उहाँहरुबीच भद्र सहमति जे हुन्छ, त्यो हामीलाई मान्य हुन्छ ।

तर, प्रचण्डले आफ्नो व्यवस्थापनको सुनिश्चितता चाहिँ खोजेकै हो ?

प्रचण्डको पनि व्यवस्थापन होस् तर, सबै नेताको व्यवस्थापन हुनुपर्छ । उहाँको मात्र व्यवस्थापनले हुँदैन । सबै नेता–कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ ।

उहाँलाई के लागेको छ, मलाई थाहा छैन । व्यवस्थापन हुनुपर्छ भने सबैको हुनुपर्छ । कम्युनिस्ट पार्टीका नेताहरु सबैको व्यवस्थापन आवश्यकताअनुसार हुनुपर्छ ।

तपाई चाहिँ एकता नहुँदै केपी ओलीतिर लाग्नुभएको रे होइन ?

म एमाले–माओवादी एकताको पक्षधर हुँ । म एक्लै कता लाग्ने भन्ने पनि होइन । यो त चलिरहन्छ । म अहिले एकताको पक्षमा लागेको छु, कसैको नजिक वा टाढा होइन ।

हिजो माओवादीमा प्रचण्डको विपक्षमा बाबुरामले गुट चलाउँदा उहाँँसँगै हुनुहुन्थ्यो । त्यही बलमा दलको उपनेता बन्नुभयो । बाबुराम नभएपछि प्रचण्डमै बिलिन हुनुभएको हो ?

म कसैमा बिलिन भएको छैन । तर, म अब पार्टीभित्र विचार समूह खडा गर्ने पक्षमा पनि छैन । आफ्नो स्वाभिमानलाई नगुमाउने र सहकार्य गरेर जाने मेरो लाइन हो । जे निर्णय हुन्छ त्यो लागु गर्ने, आफ्नो विचार प्रष्ट राख्ने त्यही नै हो ।

त्यसैले यसपटक मन्त्री पनि हुन पाउनु भएन होइन ?

म धेरैपटक मन्त्री भएँ । अब नयाँ साथीहरुलाई पनि चान्स दिनुपर्छ भनेर यसपटक नगएको हो । अरु साथीलाई बनाउन लागियो भन्नुस् ।

मन्त्री भएर पनि राम्रो गर्न नसकेकाले हो कि ?

त्यस्तो होइन । मैले जुनजुन मन्त्रालय चलाएँ, त्यहाँ सम्झनलायक काम गरेको छु । पछिल्लो पटक म केपी ओली सरकारमा ऊर्जामन्त्री थिएँ । त्यो बेला हामीले लोडसेडिङ अन्त्य गर्ने नीतिगत काम गर्‍याैं, जसका कारण लोडसेडिङ हट्यो ।

लोडसेडिङ त जनार्दन शर्माले अन्त्य गरेको होइन र ?

लोडसेडिङ रातारात अन्त्य हुने कुरा होइन । पानी पनि ९९ डिग्रीसम्म उम्लिँदैन, १०० मा पुगेपछि एकैचोटी भुलुक्क उम्लिन्छ । मैले नै एक वर्षभित्र आधारभूत रुपमा र २ वर्षमा शतप्रतिशत लोडसेडिङ अन्त्य गर्ने र त्यसपछि विजुली किन्ने होइन, बेच्ने स्थितिमा पुग्ने योजना बनाएको थिएँ । मैले त्यसमै समय खर्च गरेँ । त्यसको रिजल्ट कहिले आयो भन्ने अलग कुरा हो । मेरो पालामा भएको ऊर्जा विकास दशक र ऊर्जा संकट निवारणकालको ९९ बुँदा मास्टरप्लान कार्यान्वयनका सिलसिलामा भएको लोसेडिङ मुक्त हो । यो कुरा वर्षमानले भन्नुभयो, जनार्दनले भन्नुभयो, कुलमानले भन्नुभयो । मलाई चाहिँ प्रचार प्रसारमा आउन मन लाग्दैन, मैले मार्केटिङ नगरेकै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment