१४ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशलाई कृषि तथा पर्यटनका माध्यमबाट समृद्ध बनाउने बताएका छन् ।
कर्णाली प्रदेशमा आउने पर्यटकहरुलाई कृषि उत्पादनको चिनो लिएर फर्किने वातावरण बनाउनुपर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेशमा आएका पर्यटकले समेत चिनोको रुपमा कृषि उत्पादन लिने वातावरण बनाउन जरुरी छ, सेल्फी खिचेर पर्यटक फर्किएमा हाम्रो समृद्धि सम्भव छैन ।’
कृषि र पर्यटनलाई सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम र बजेटमा समेत उच्च प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको कृषि उत्पादनलाई अर्गानिक कृषि उत्पादनका रुपमा ‘ब्राण्डिङ्ग’ गरिने बताए ।
कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाए ।
शुक्रबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा मात्रै अर्बौ मूल्यको कृषि उत्पादन आयात भैरहेकोले बजारको चिन्ता नगर्न आग्रह गरेका हुन् ।
कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो सम्भावना बोकेको प्रदेश भएको बताउँदै मुख्यमन्त्री शाहीले फलफूल, पशुपालन, तरकारी र अन्नबालीको व्यवसायिक खेतीमा लाग्न जोड दिए । ‘दुनियाले मरुभूमि र समुद्रमा समेत कृषिको विकास गरेका छन्,’ मुख्यमन्त्री शाहीले भने-‘हाम्रो प्रदेशमा त झन उपयुक्त हावापानी, माटो र चरणक्षेत्र छन, हामीले किन बाहिरवाट आयात गरेर खानेे ?’
अहिलेसम्म टुक्रे उत्पादन प्रणालीमा किसानहरुले भर गरेको बताउँदै व्यवसायिक उत्पादन प्रणालीको विकास नगरी कृषकहरु समृद्ध हुन नसक्ने उनको भनाइ छ ।
पुरस्कार वितरण कार्यक्रममा तरकारीखेती, च्याउखेती, स्याउखेती, बाख्रापालन व्यवसायमा उत्कृष्ठ ६ जना किसानहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4