Comments Add Comment

प्रदिपले एटिच्यूड देखाए, जसिताले टाउकोमा टेकिन्: मिलन चाम्स

जसितासँग पनि मिलनको पानी बाराबार


बिहिबार आयोजित एनएफडीसी अवार्ड समारोहमा निर्देशक मिलन चाम्स र नायक प्रदिप खड्काबीच पानी बाराबारको अवस्था रहेको रहस्य खुल्यो । पत्रकारहरुहरुको जोडबलमा उनीहरुले सँगै फोटो खिचाए पनि कुरा गर्नु त परै जावस, एक-अर्काको अनुहार समेत हेरेनन् ।

चलचित्र ‘लिलिबिली’ मा सहकार्य गरेका उनीहरुको के कारणले सम्वन्ध बिग्रियो भन्ने चाहिँ खुलेको छैन । यस विषयमा हामीले दुवैसँग कुरा गर्ने प्रयास गर्‍यौ । तर, प्रदिपको फोनमा सम्पर्क हुन सकेन । मिलनले भने प्रदिपले एटिच्यूड देखाउन थालेकाले सम्वन्ध कटअफ गरिदिएको बताए ।

‘कलाकारलाई स्टार बनाउने भनेको निर्माता-निर्देशकले हो । तर, जब स्टार भएपछि कलाकारले निर्देशकलाई नै एटिच्यूड देखाउन खोज्यो भने म उनीहरुलाई बाल दिन्नँ । प्रदिपले पनि मेरो अगाडि एटिच्यूड देखाएकाले मैले बाइकट गरिदिएको हुँ,’ मिलनले भने ।

मिलनले फिल्म प्रमोसनको बेला प्रदिपले आफ्नो फोन नउठाएको, यताको कुरा उता लगाइदिएर टिमभित्रै झगडा गराउन खोजेको तथा लिलिबिली आफ्नो स्टारडमको कारण चलेको भनेर हौवा फिँजाएको जस्ता आरोप पनि लगाए ।

‘म आफ्नो स्टारको लागि ज्या दिन तयार हुन्छु, तर जब कुनै मान्छे मलाई मन पर्न छोड्छ, उसलाई पुरै इग्नोर गरिदिन्छु,’ मिलनले अगाडि भने । प्रदिपले जोरी खोज्दै गए उनका आन्तरिक कुरा बाहिर छरपष्ट पारिदिने पनि उनले चेतावनी दिए ।

यद्यपि, आफूले अहिले पनि प्रदिपको भलो नै होस भन्ने चाहेको उनको भनाई थियो । प्रदिप सुध्रिएमा उनीसँग भविष्यमा फेरि सहकार्य हुन सक्ने सम्भावना अन्त्य नभएको पनि मिलनले बताए ।

जसितासँग झन् रुष्ट

प्रदिपसँगै लिलिबिलीकी नायिका जसिता गुरुङसँग पनि मिलनको पानी बाराबारको स्थिति रहेछ । उनले जसिताको त अब नामै सुन्न नचाहने प्रतिक्रिया दिए ।

‘एउटी स्टेजमा नाच्ने केटीलाई ल्याएर मैले हिरोइन बनाएँ, रातारात स्टार बनाएँ, छोरी जस्तो व्यवहार गरेँ,’ मिलनले भने, ‘तर अहिले उनले मेरै टाउकोमा टेक्न खोजिन् । अब म उनलाई पनि बालै दिन्न ।’

मिलनले एउटै फिल्मबाट भुईंमा न भाँडामा भएकी जसिताको करिअर अगाडि नबढ्ने पनि घोषणा गरे । ‘यो हिरोइनको अब कामै छैन, अब नेपाली चलचित्रमा उनलाई कसैले लिँदैनन्,’ मिलनले कडा शब्दमा भने ।

आफैंले जन्माएकी नायिकाले आफ्नो फोन समेत उठाउन छाडेकाले आफूले पनि सम्बन्ध तोडेको मिलनको भनाई छ । प्रदिपकै लहैलहैमा लागेर जसिताले आफूलाई नजरअन्दाज गर्न थालेको अड्कल उनले गरेका छन् । प्रदिप र जसिताको अफेयर चर्चाबारे भने उनी बोल्न चाहेनन् । जसिता यतिबेला लन्डनमा छिन् ।

‘लिलिबिली’ निर्देशक र प्रदिपविच बोलचालै बन्द(फोटो कथा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment