Comments Add Comment

सभामुख महरा र बेलायतका राजदूतबीच भेटवार्ता

१४ वैशाख, काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार सभामुखको कार्यालय सिंहदरबारमा सभामुख महरासँग राजदूत मोरिसले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सभामुख महराले भेटमा बेलायतसँग नेपालको सम्बन्ध धेरै पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य भइरहनुपर्ने बताए ।

संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘संविधान निर्माणपछि हामीले तीन चरणका निर्वाचन सम्पन्न गरी तीनै तहमा सरकार निर्माण गरिसकेका छौं’, सभामुख महराले भने, ‘अब हाम्रो मुख्य प्राथमिकता भनेको संविधानको मर्मअनुरुप ऐन कानून निर्माण गर्नु हो, अहिले हामी कानून निर्माणतर्फ बढी केन्दि्रत छौं ।’

संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री संघ गठन गर्नेतर्फ आफूले सोचिरहेको भन्दै सभामुख महराले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मौका मिल्ने बताए ।

भेटमा सभामुख महराले बेलायतको संसदीय टोलीले नेपाल भ्रमण गर्ने खबर सुनेको भन्दै उक्त टोलीलाई स्वागत गर्न र नेपालका सांसदहरुलाई बेलायत पठाएर त्यहाँको अनुभव सिक्न आफू पनि इच्छुक रहेको बताए ।

बेलायत सरकारले नेपालमा शिक्षा, सुरक्षालगायतका क्षेत्रमा राम्रो सहयोग गरिरहेको भन्दै सभामुख महराले शान्ति प्रक्रियादेखि भूकम्पको बेला गरेको सहयोग र पहलप्रति पनि धन्यवाद व्यक्त गरे ।

उनले गोरखा सैनिकहरुको समस्या समाधान गर्न दुवै देशले छलफल गरी उनीहरुको हितमा काम गर्नुपर्ने भन्दै समझदारी हुनेमा विश्वास व्यक्त गरे ।

सभामुखसँगको भेटमा बेलायती राजदूत रिचर्ड मोरिसले प्रतिनिधि सभाको सभामुख भएकोमा बधाई ज्ञापन गरे ।

बेलायत र नेपालको सम्बन्ध निकै पुरानो र गहिरो रहेको भन्दै रादूत मोरिसले आगामी दिनहरुमा यो सम्बन्धलाई अझै दिगो र सुमधुर बनाउनुपर्नेमा जोड दिए ।

छिट्टै नै बेलायतको संसदीय मैत्री संघको टोली नेपाल आउने भन्दै राजदूत मोरिसले दुई देशबीचको संसदीय अनुभव आदानप्रदान गर्न भ्रमणले थप फलदायी हुनेमा विश्वास व्यक्त गरे ।

भेटवार्तामा संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment