१६ वैशाख, काठमाडौं । अहिले सिंगो देश विद्यार्थी भर्ना अभियानमा छ । प्रधानमन्त्री, मन्त्रीलगायत ‘ठूला’ व्यक्तिहरु गाउँ-गाउँमा गएर बालबालिकाको अभिभावकत्व लिने होडमा छन् । स्कुल बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन चालिएको यो कदम सकारात्मक छ ।
तर, हाम्रो देशमा यस्ता बालबालिका पनि छन्, जसलाई न ठूलाले स्कुल लैजान चाहे, न स्कुलले लिन माने । अवस्था यस्तोसम्म आयो कि उनीहरुलाई पढाउने हो भने आफैं स्कुल खोल्नुपर्छ, अरु स्कुलले भर्ना लिँदैनन् । न, भर्ना गराउन कुनै मन्त्रीहरु नै अघि सर्छन् ।
यो कथा हो, जन्मजात एचआईभी संक्रमित भएपछि एकपछि अर्को तिरस्कार सामना गर्नु परेका बालबालिकाको । उनीहरु सुदूर गाउँमा भयानक अवहेलना झेलिरहेका थिए । राजधानी ल्याइएपछि पनि तिरस्कारको श्रृंखला सकिएन । तर, ‘दुई योद्धा’ले समाज र परिस्थितिसँग मुकाबिला गर्दै बालबालिकालाई नयाँ जीवन दिएरै छोडे ।
एउटा समाचारले डोहोरिएका पात्र
कीर्तिपुर ल्याब्रोटरी स्कूलमा पढाउँदै गरेका शिक्षक राजकुमार पुन र काठमाडौंमै कस्मेटिक पसल खोलेर बसेकी उमा गुरुङको पारिवारिक चिनजान पुरानै हो ।
उनीहरु सामाजिक सरसहयोगमा पहिलेदेखि नै थिए । झण्डै ८ वर्षअघिको कुरा हो, पत्रिकामा ‘एचआईभी संक्रमित बालबालिकाको बिचल्ली’ भन्ने समाचार पढेपछि उमासँग राजकुमारको सरसल्लाह भयो । उनीहरु समाचारमा उल्लेख भएको ठाउँ दाङ जिल्ला गए । त्यहाँ उनीहरुले बिस्कुट, चाउचाउ, जीवनजल जस्ता सामग्री. बाँडे ।
बालबालिकालाई राहत सामग्री दिइरहँदा त्यहाँ जे भयो, त्यसले उनीहरुलाई त्यति सहयोगमै सीमित हुन दिएन ।
‘बाबुहरु काठमाडौंबाट आउनुभएको रहेछ । यो मेरो भदैलाई पनि उतै लगिदिनुपर्यो । यहाँ राखिरहँदा मेरो बच्चालाई पनि एचआईभीको डर भयो,’ तीन वर्षे बालिकाकी फुपूको यो भनाइले राजकुमार र उमालाई नराम्रोसँग झस्कायो ।
त्यहाँ बालबालिकाहरु विद्यालय, घर, आफन्त, साथीभाइ सबैबाट अपहेलनाको शिकार भएका थिए । उनीहरुको अवोध दिमागमा ‘तिमीहरु छिट्टै मर्दैछौं’ भन्ने भरिएको थियो र उनीहरु त्यही ‘मर्ने दिन’ पर्खिरहेका थिए । ‘तिमीहरुको बुवाआमा पनि मरे, अब तिमीहरु पनि मर्छौ,’ छरछिमेकका व्यक्तिहरुबाट बारम्बार सुनिने यही भनाइले उनीहरुको भित्रको बाँच्ने आशा हराइसकेको थियो ।
राजकुमार भन्छन्, ‘त्यहाँ जे देखियो त्यो हृदयविदारक थियो । यिनीहरुको लागि हामीले केही गर्नुपर्छ भन्ने लाग्यो ।’
सुरुमा उनीहरुले सबै साथीहरु मिलेर अभिभावक नभएका एक-एक जना बच्चा ल्याउने कुरा गरे । तर, प्रशासनिक हिसाबले पनि त्यो सम्भव थिएन । प्रमुख जिल्ला अधिकारी र विभिन्न संघ संस्थासँगको सरसल्लाहमा उनीहरुले संस्था खोलेरै बालबच्चा राख्ने सोच बनाए । तर, संस्थाका लागि पैसा कहाँबाट आउँछ ? जवाफ उनीहरुसँग थिएन ।
पैसा आउँदासम्म चल्ने र बन्द भएपछि बालबच्चा सडकमा पुग्ने अवस्था पनि उनीहरुले सोचे ।
भारी मन बनाएर उनीहरु काठमाडौं फर्किए । जिल्ला प्रशासन कार्यालयमा ‘बेबी लाइफ होम’ नामको संस्था दर्ता गरे । त्यसका लागि राजकुमारले ल्याब्रोटरी स्कूलबाट आउने तलब र उमाले कस्मेटिक पसलबाट हुने आम्दानी खर्च गर्ने बताए । आवश्यक परे कीर्तिपुरमै रहेको आफ्नो घर बेच्न पनि राजकुमार तयार थिए ।
‘बेबी लाइफ होम’देखि विद्यालयसम्मसंस्था खोलेपछि उनीहरु फेरि दाङ गए र एचआईभी संक्रमित चार बालबालिकालाई काठमाडौं ल्याए । काठमाडौं आएपछि अभिभावकविहीन बालबालिकाले अभिभावक पाए ।
तर, सभ्य भनिने राजधानीका बासिन्दाबाट पनि उनीहरुलाई गरिने विभेदमा कमी भएन । बालबालिका राख्न राजकुमार र उमाले भाडामा बस्ने घर खोजे तर, कसैले दिन मानेनन् । उमाले बसुन्धराको आफ्नै घरमा बालबालिकालाई राखिन् । त्यसपछि सधैंका लागि राजकुमारको घर कीर्तिपुर भत्केपाटीमा उनीहरुलाई सारियो ।
बालबालिका पढाउन उनीहरुले काठमाडौंका बोर्डिङ, सरकारी विद्यालय सबैतिर चहारे । ‘हरेक स्कुलले केही न केही बहाना बनाएर भर्ना लिन मानेनन् । ‘हामीले जिल्ला शिक्षा कार्यालयमा पनि जानकारी गरायौं, तर, केही भएन,’ राजकुमार भन्छन्, ‘बालबालिकाको पढ्न पाउने अधिकार खेर जान दिनु हुँदैन भन्ने लागेर आफैंले विद्यालय खोल्ने सोच्यौं ।’
शिक्षा कार्यालयबाट अनुमति लिएर उनीहरु अघि बढे ।
त्यसपछि जन्मियो, सफलता एचआईभी शिक्षा सदन । गाउँमा हुँदा र काठमाडौं आएपछि पनि सबैले हेला गरिरहँदा पहिचानसहितकै विद्यालय खोल्ने सोच आएको राजकुमार बताउँछन् । ‘भएको कुरा लुकाएर पढ्दा उनीहरुको मानसिक अवस्था झनै बिग्रन सक्छ । भएको कुरा स्वीकार गरेर सामान्य रुपमा पढ्दा नै सजिलो हुन्छ भन्ने लाग्यो,’ उनले भने ।
यो स्कुलले सुरुमा बालविकास, त्यसपछि कक्षा ५ सम्म र पछि कक्षा ८ सम्म पढाउने अनुमति पायो । तर, कक्षा ८ पास भएका तीन विद्यार्थीलाई नौ कक्षामा भर्ना गर्न जाँदा पुरानै समस्या भोग्नुपर्यो । पढाउने विद्यालय नपाएपछि आफैंले कक्षा ९ सुरु गरे ।
अहिले तीन जना विद्यार्थी कक्षा १० मा छन् । माध्यमिक तहको अनुमतिका लागि अहिले काम भइरहेको छ । ‘स्थानीय तहमै अधिकार आएपछि अलि सहज भएको छ । हेरौं अब माध्यमिक तहको पनि अनुमति पायौं भने अरु विद्यालयमा चहार्नु पर्दैन,’ राजकुमार भन्छन् ।
चार विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले २३ जना छन् । सातजना शिक्षकले काम गरिरहेका छन् ।
सोचेपछि सकिँदो रहेछ
२४ वर्षे युवाको मनमा आएको सहयोगी भावना ‘समाजसेवी’ भनेर फेसबुकमा फोटो हाल्ने जमातको जस्तो थिएन ।
केही गर्नुपर्छ भन्ने उनीहरुको सोचलाई अघि बढाउन निकै अप्ठ्याराहरु पनि नआएका होइनन् । विद्यालयमा भर्ना नलिने, भाडाको घर नपाउने, टोले गुण्डाले थर्काउने त छँदै थियो, कतिपय अवस्थामा आर्थिक समस्या पनि पर्यो । यसैले त राजकुमारले कीर्तिपुरको आफ्नो घर बेचे, उमाले कस्मेटिक पसल बेचिन् ।
‘जिम्मेवारी लिएपछि त्यसलाई निभाउनैपर्छ भन्ने थियो । पैसा छैन भनेर हामी पछि हट्ने भन्ने हुँदैन,’ राजकुमार भन्छन्, ‘त्यसैले आफ्नो भएको-सकेको सबै गर्दै यहाँसम्म आयौँ ।’
उमाका ससुरा ब्रिटिस लाहुरे । श्रीमान् विजनेस गर्छन् । दुई छोरा छन् । एउटा छोराले जागिर सुरु गरेका छन् । त्यसैले उनलाई बालबालिकालाई समय दिन सजिलो भएको छ ।
राजकुमार आमा बुवासँगै छन् । दुई दिदीको बिहे भइसक्यो । उनले बिहे गरेका छैनन् । ‘अहिले मेरो पूरा समय यिनै बालबालिकाका लागि छ । यिनीहरु मलाई ‘ड्याडी’ भनेर बोलाउँछन् । यिनै मेरा सन्तान भएका छन् । बिहे गरें भनें यिनीहरुको लागि समय कम होला, माया दिन नसकुँला कि जस्तो लाग्छ,’ उनी भन्छन् ।
अहिले उनी कुखुरा पालन र तरकारी खेती पनि गर्छन्, जसबाट हुने आम्दानी बालबालिकाकै लागि खर्च गरिरहेका छन् । भूकम्पमा बेला बसिरहेको घर चर्किएपछि उनीहरु टहरा बनाएर बसे । ‘त्यहाँ सर्पको डर भएपछि लामो समय बस्न सकिएन । बाँसको टहरा थियो । त्यसपछि भाडामा जग्गा लिएर नयाँ ठाउँमा सर्यौं,’ उनले भने ।
नयाँ घरमा भाडामा सर्नेबेला पनि उनीहरुलाई सहज भएन । टोलमा अनेक कुरा भए । घर दिने र नदिने विषयमा धेरै कुरा सुन्नुपर्यो । ‘त्यस्तो बच्चाहरु हाम्रो घरमा आएर मरे भने’ भनेर भाडामा दिन पनि आनाकानी भएको उनले सुनाए ।
जहाँ गएपनि उस्तै समस्या आएपछि उमा र राजकुमारले ऋण खोजेरै संस्थाकै नाममा घर बनाए । अहिले उनीहरु कीर्तिपुर भत्केपाटीमै आफ्नै घरमा छन् । त्यसको ऋण पनि तिरिसकेको राजकुमार बताउँछन् । केही व्यक्तिगत रुपमा दिने सरसहयोग पनि उनीहरुले बेला मौकामा पाइरहेका छन् । तीन जना शिक्षक र एक कर्मचारीको लागि अमेरिकामा बस्ने नेपालीले सहयोग गरिरहेका छन् ।
तिरस्कार र अपहेलना सबैभन्दा ठूलो कष्ट हो । अझ त्यस्तो कष्ट बालबालिकाका लागि कस्तो होला ? तर, यहाँ पढ्ने बालबालिकाहरुका आँखामा सपना उस्तै छ । उस्तै छ रहर । भविष्यप्रतिको आशा पनि उस्तै छ । यस्तोमा कसैले भनिदिन्छ-तिमीहरु ‘अरु जस्तो होइनौं’ । र, उस्तै गरिदिन्छन् व्यवहार पनि ।
लक्ष्यमा पुग्दा अवस्था फरक होला । सुरुआत सबैले उस्तै पाउनुपर्ने हो । गणतन्त्र नेपालमा हुने भनिएको समानता पनि त्यही हो । तर, दाङ, बैतडी, कैलाली, सल्यान, दैलेख, सुर्खेत, रोल्पा र कञ्चनपुरका २३ बालबालिकाले त्यस्तो समानता कहिल्यै अनुभव गर्न पाएनन् । एचआईभी संक्रमित भएकै कारण उनीहरुलाई कुनै विद्यालयले भर्ना लिएनन् ।
गाउँको विद्यालयमा उनीहरुलाई साथीहरुले नै ढुंगा हानेर खेदे । शहरका विद्यालयमा पनि संक्रमित बच्चा पढाउँदा अन्य विद्यार्थीले विद्यालय छाडेर व्यापार सुक्ने डरले उनीहरुको भर्ना लिएनन् ।
मुहारमा खुशी
अवहेलना भोगेका यी बालबालिकाहरुको वर्तमान अहिले उज्यालो भएको छ । उनीहरुको मुहारमा झल्किएको खुशीले देख्नेहरुको मुुहार पनि उज्यालिन्छ । भेटिने मान्छेलाई उनीहरु सम्मानपूर्वक स्वागत गर्छन् । मुसुक्क हाँसेर मानवीयताको सन्देश दिन्छन् ।
विद्यालयमै रहेका शिक्षक दत्तुराम राईले भने, ‘यिनीहरुमा विस्तारै हौसला बढ्दैछ । अहिले राम्ररी पढिरहेका छन् ।’
यहाँ अध्ययनरत तीन जनाले एसईई परीक्षा दिँदैछन् । त्यसपछि उनीहरुलाई नै यहाँको प्रशासनिक जिम्मेवारी दिने सोच रहेको राजकुमार बताउँछन् ।
कक्षा १० मा पढ्ने सुमन (नाम परिवर्तन) ले सुनाए, ‘मेकानिकल इन्जिनियरिङ बन्ने लक्ष्य छ ।’
प्रतिक्रिया 4