+
+
Shares

मोदीको चीन भ्रमणका ३ सन्देश, नेपाललाई कस्तो असर पर्ला ?

एशियाका दुई चमत्कार ! कोरियापछि चीन र भारतको मित्रता

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १६ गते ११:२९

१६ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार र शनिबार चीनको अनौपचारिक भ्रमण गरे । उनी बेइजिङ गएनन्, वुहान शहरको इस्ट लेकमा मोदीले ६ पटक चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरे । एशियाका ‘हात्ती’ र ‘ड्रागन’ का रुपमा परिचित दुई ठूला देशका सरकार प्रमुखहरुको यो अनौपचारिक भेट रोचक त थियो नै, विश्व राजनीतिमा समेत यसले नयाँ सन्देश दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी र सि जिनपिङले एउटै डुंगामा यात्रा गरे । डुंगाभित्रै कुराकानी छलफल भयो । दुबै नेताहरुले गीत सुने । चियाको चुस्की लिए । प्रकृतिको मनोरम दृश्यावलोकन गरेर आपसमा हार्दिकता प्रदर्शन गरे । दुई दिनमा ६ पटकसम्म वार्ता गरे ।

सीमा विवाद लगायतका विभिन्न समस्यासँग जुधिरहेका भारत र चीनका सरकार प्रमुखहरुले आपसी विवादका मुद्दामा खासै चर्चा गरेनन् । डोक्लामबारे मोदी र सीवीच कुराकानी नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यति हुँदाहुँदै पनि सीमा विवाद समाधान गर्ने, आतंकवादविरुद्ध कडारुपमा प्रस्तुत हुने अनि अफगानिस्तानमा संयुक्त आर्थिक परियोजनाहरु सञ्चालन गर्ने लगायतका विषयमा मोदी र सीवीच कुराकानी भएको तत् देशका सञ्चार माध्यमहरुले लेखेका छन् ।

दुई देशका सरकार प्रमुखवीचको यो भेट अनौपचारिक र आकस्मिक रुपमा तय गरिएको थियो । चीनले बेइजिङ बाहिर भारतीय प्रधानमन्त्रीलाई यसरी दुई दिनसम्म राखेर सत्कार गरेको यो ऐतिहासिक परिघटना पनि हो । र, यो भेटमा कुनै सम्झौताहरु गरिएनन्, केवल मित्रता बढाउने प्रयासहरुमात्रै भए ।

अन्तिममा आगामी वर्ष भारतमा यसैगरी सी जिनपिङसँग अनौपचारिक जमघटको व्यवस्था गर्ने वचन दिएर शनिबार मोदी स्वदेश फर्किए ।

अघिल्लो साता भारतीय विदेशमन्त्री सुष्मा स्वराज बेइजिङ गएकी थिइन् । उनी यही मे महिनामा हुन लागेको शांघाई कोअपरेशनको शिखर बैठकको तयारीका क्रममा चीन गएकी थिइन् । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सिलाई भेटेपछि मोदी र सिवीच आकस्मिक भेटवार्ता तय गरिएको थियो ।

शांघाई को-अपरेशनको बैठकमा चीन जानै लागेको मोदीले त्यसअघि नै यसरी दुईदिनसम्म चीनको भ्रमण गर्लान् भनेर कसैले सोचेका थिएनन् । त्यसैले यो भ्रमण आकस्मिक र एक किसिमले अनौठो प्रकृतिको थियो ।

एशियाका दुई चमत्कार !

हुन त सन् २०१८ सालमा एशियाको राजनीतिक आकाशमा केही अनौठा एवं अप्रत्याशित घटनाहरु भइरहेका छन् । जस्तो-आपसी दुश्मनको व्यवहार गर्दै आएका उत्तर कोरिया र दक्षिण कोरियाका नेताहरुले संसारलाई आश्चार्यमा पार्दै अंकमाल गरिसकेका छन् । अमेरिकालाई आणविक प्रहारको धम्की दिइरहेको उत्तर कोरियाले मे महिनादेखि आणविक परीक्षण नगर्ने घेाषणा गरेको छ ।

एशियाका दुई शक्तिराष्ट्र चीन र भारतले पनि पुरानो तीक्तता हटाउँदै अप्रयाशित रुपमा घनिष्ट सम्बन्ध विकास गर्ने मार्ग समातेका छन् । भारत र चीनको यो प्रयास कोरिया प्रायद्वीपको परिदृश्यपछिको अर्को परिघटना हो, जसले विश्व राजनीतिको शक्ति सन्तुलनमा नयाँ संकेत गरिदिएको छ ।

मूलतः मोदी र सि जिनपिङको भेटले दिएका संकेतहरुलाई यसरी सामान्यीकरण गर्न सकिन्छः

१. भारतको आन्तरिक राजनीतिमा तरंगः यो भेटले भारतको आन्तरिक राजनीतिक जीवनमा राष्ट्रिय बहस छेडिदिएको छ । भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा चीनसँग नजिकिने मोदीको नीतिलाई प्रशस्त आलोचना गरिएको देखिन्छ भने राम्रो कदमका रुपमा प्रशंसा गरेको पनि उत्तिकै देख्न पाइन्छ ।

यसको अर्थ, मोदीले चीनमा विताएका दुई दिनले भारतको राजनीतिमा नयाँ डिस्कोर्ष पैदा गरेको छ । हिन्द क्षेत्रमा यो भेटवार्ताको पहिलो सन्देश हो यो ।

भारतमा आगामी वर्ष आम निर्वाचन हुँदैछ । यसक्रममा मोदीको चीननीतिमाथि पक्कै पनि राष्ट्रिय बहस हुनेछ । जवाहरलाल नेहरुपछि चीन मामिलामा बहसमा आउने मोदी दोस्रो प्रधानमन्त्री बन्न पुगेका छन् ।

चीनलाई स्थायी शत्रु देख्ने र दक्षिण एशियामा चीनको प्रभावको खुलेर विरोध गर्ने सन् १९६५ कालीन मानसिकता बोकेका मानिसहरु भारतमा प्रशस्तै छन् । मोदीले चीनमा बिताएका दुई दिनले ती परम्परावादीहरुको दिमाग खल्बल्याइदिएको छ ।

२. पश्चिमा शक्तिलाई धक्काः विश्वको शक्ति सन्तुलनलाई सधैं आफ्नो अनुकूल बनाइराख्न चाहने अमेरिकी ट्रम्प प्रशासन यतिबेला एशियामा भइरहेको नयाँ परिस्थितिबाट एक्लिेन संकेत देखिएको छ ।

चीनविरुद्ध भारतलाई उक्साउने पश्चिमाहरुको नीति एशियामा ‘फेजआउट’ हुने संकेत मोदी र सि जिनपिङले दिएका छन् ।

चीन र भारतवीच सुमधुर सम्बन्ध विकास भएसँगै यसमा पूर्वीय धुरीको रसिया समेत साथैमा रहने छ । आगामी शांघाइ को-अपरेशनको बैठकमा सि जिनपिङ, मोदी र भ्दालिमिर पुटिन एकैसाथ रहने छन् । यसले एकध्रुवीय विश्व राजनीतिलाई दुई ध्रुवमा तीव्रतर रुपमा धलेल्ने छ । र, विश्वको शक्ति शन्तुलन पश्चिमाहरुबाट एशियामा सिफ्ट हुन सक्छ ।

३. एशियाको राजनीतिमा प्रभावः भारत र चीनको मित्रताले एशियाको राजनीतिमा पनि उथलपुथल ल्याउन सक्छ । जस्तो- भारत र पाकिस्तानवीच जुन सत्रुता छ, चीन-भारतको मिलनले यसमा केही प्रभाव पार्न सक्छ ।

भारतसँग नजिक बनिरहेको चीन यो भन्दा बढी पाकिस्तानसँग नजिक छ । चीनसँग नजिकिइरहँदा भारतले चीनलाई पाकिस्तानबाट टाढा राख्ने प्रयास गर्न सक्छ । तर भारतसँग नजिकिइरहँदा चीनले भारतलाई उत्तर कोरिया र दक्षिण कोरियाजस्तै पाकिस्तान र भारतवीच हात मिलाउने प्रयास अघि बढाउन सक्छ ।

दक्षिण एशियाका अन्य मुलुकहरु श्रीलंका, बंगलादेश, मालदिभ्स र नेपाल आदिमा चिनियाँ प्रभाव बढेको  गुनासो भारतीयहरुले गर्दै आइरहेका छन् । तर, अब सिंगै भारतमा चिनियाँ प्रभाव बढिसकेपछि यहाँको भूराजनीतिमा निकै रमाइलो हुने संकेत देखिएको छ ।

नेपाललाई कस्तो असर पर्ला ?

भारत र चीन दुबै नेपालका छिमेकी देशहरु हुन् । ठूला हात्तीहरु आपसमा मिल्दा पनि बगैंचाले दुःख पाउँछ र झगडा गर्दा पनि बगैंचा माडिन्छ भन्ने आहानलाई सम्झने हो भने भारत र चीनवीच वैमनस्यता बढ्दा नेपाललाई घाटा हुन्छ । र, उनीहरु मिल्दा पनि हामी पेलिने डर हुन सक्छ । तर, भारत र चीनवीचको शत्रुतामा भन्दा मित्रतामै नेपाललाई बढ्ता फाइदा हुन सक्छ ।

भारतमा बढिरहेको चीनविरोधी भावनाका कारण नेपालमा चिनियाँ प्रोजेक्टहरुमाथि व्यवधान हुने गरेको छ । उनीहरुवीच एकता भयो भने नेपालले फाइदा लिन सक्छ ।

त्यसैगरी भारत र चीनवीच सम्बन्ध राम्रो भयो भने उत्तरी नेपालको चिनियाँ नाकाहरु सहज हुन सक्छन् र यसले गर्दा नेपाललाई सजिलो हुन सक्छ ।

नेपालले चीनको ओबीओआरमा प्रतिवद्धता जनाइसकेको छ । चीनले नेपालमा रेल ल्याउने बताइरहेको छ । यो अवस्थामा भारतले गर्दै आएको विरोध मथ्थर हुन सक्छ र चीन-नेपाल-भारत त्रिशेदीय कनेक्टिभिटीको ढोका खुल्न सक्छ, चीन- भारतको मित्रताबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?